काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगनकुमार थापा उम्मेदवार बन्ने भएका छन् । बिहान बसेको पदाधिकारी बैठकले संस्थापनइतर पक्षबाट गगन थापालाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

डा। शेखर कोइराला पनि संसदीय दलको नेतामा इच्छित भएपछि बिहानसम्म संस्थापनइतर पक्षमा अलमल देखिएको थियो । तर पदाधिकारीहरुबीचको छलफलमा सहमति बनेसँगै अब डा। कोइराला नै गगनको प्रस्तावक बन्ने भएका हुन् ।

मध्यान्हपछि बसेको संस्थापन इतर पक्षका नेताहरुको सामूहिक छलफलमा गगन उम्मेदवार बन्ने, डा. शेखर प्रस्तावक बन्ने र उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा समर्थक बन्ने भएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।

सो भेलामा डा। कोइरालाले आफू संसदीय दलको नेतामा लड्ने भनेर कहीँ कतै नभनेको तर छलफल भने भएको बताएका थिए । उनले सहमतिमा गइएन भने आफूहरुको लक्ष्य प्राप्ति नहुने बताउँदै गगनलाई संसदीय दलको नेतामा उम्मेदवारीलाई प्रस्ताव गरे ।

उक्त कार्यक्रममा गगन थापाले सबै संस्थापन इतर पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएदेखि नै अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगनलाई नै संसदीय दलको नेता तथा प्रधानमन्त्री बनाउनु पर्छ भन्दै लाग्दै आएका छन् । उनले यो क्षणमा आइपुग्दा सुखानुभूति गरेको प्रतिक्रिया दिएका छन् ।

योसँगै गगनको भिडन्त सभापतिसमेत रहेका शेरबहादुर देउवासँग हुनेछ । देउवासँग बहुमत देखिए पनि गगन थापालाई सर्वसम्मत उम्मेदवार बनाएर उभ्याएसँगै फरक नतिजा आउन सक्ने आँकलनसमेत भइरहेको छ ।

कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकामा ३२ गरी ८९ सांसद छन् । उनीहरू नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन् । उम्मेदवारी दिउँसो दर्ता हुनेछ भने भोलि बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय