सुनसरी–जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ ।

कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो । चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस पर्न थालेको छ । सुनसरीको हरिनगरा गाउँपालिका–४ का दयानन्द पाल, सदानन्द पाल र खिलानन्द पाल भेडा चराउन सयौँ भेडा लिएर महिनौँ घर छाडेर हिँड्ने गरेकाछन् । उनीहरुको दिनचर्या भेडा चराउनमै बित्ने गरेको छ । घरका परिवारसँगको सम्पर्क कमै हुने गर्छ । भेडा चराउनैका लागि घाँस भएको क्षेत्र खोज्दै दैनिक १० देखि २० किलोमिटरको यात्रा भेडा लिएर पैदल तय गर्नुपर्ने बाध्यता छ ।

“भेडालाई बाँधेर राख्न गाह्रो छ । खुलामा चराउनु पर्छ । खुलामा चराउँदा खेतमा पसेर अरूको बाली खाइदेला भन्ने पीर हुन्छ”, दयानन्द पालले भन्नुभयो, “राति बास बस्दा पनि जङ्गली जनावरले भेडा खाइदेला भन्ने चिन्ता छ । आलोपालो गरेर २४सैँ घण्टा भेडाको सुती–नसुती निगरानी गर्नुपर्ने अवस्था छ ।”

भेडापालन गर्न दुःख बढी हुने गरेको अर्का भेडापालक सदानन्द पालले बताए। पुख्र्यौली पेशा भएर मात्र भेडापालन अँगालेको उल्लेख गर्दै उनले चर्ने ठाउँ कम हुँदै गएकाले पाल्न कठिन बन्दै गएको बताए ।

वर्षमा दुईपटक भेडाबाट ऊन निकाल्ने गरिएको छ । आधुनिकतासँगै भेडाको ऊनको बिक्री पनि कम हुँदै गएको छ । भेडाको ऊनको चाङले घर नै भरिए पनि बिक्री गर्न समस्या छ । भेडा चराउन हरिनगराबाट थालिएको यात्रा विराटनगर, लौकही, इनरूवा, भण्टाबारी, जनकपुरसम्म पुग्ने उनले बताए। भेडा चराउनैका लागि विराटनगर आएका दयानन्द, सदानन्द र खिलानन्द नहर छेउमा पाल टाँगेर बसेकाछन्। एक सय २० भेडा लिएर हिँडेका उनीहरूको बढीजसो समय चरन क्षेत्र खोज्नमै वित्ने गरेको छ । सरकारले भेडाबाख्रा पालन गर्न सेवा सुविधा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय