दुई महिना देखि अवरुद्ध विद्युत शुक्रबारबाट संचालनमा आउने

Image
मुगु – अवरुद्ध गमगाड वितरण केन्द्रको विद्युत् सञ्चालनमा आउने भएको छ । बाढी र पहिरोका कारण क्षति पुगेसँगै अवरुद्ध भएको विद्युत् झन्डै दुई महिना लगाएर क्यानल तथा नहरको मर्मत कार्य सम्पन्न गरी शुक्रबारबाट सञ्चालनमा आउने भएको हो । कात्तिक १६ गते मुगु गमगाड वितरण केन्द्रमा अनुगमनका क्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवरुद्ध विद्युत् एक महिनाभित्र मर्मत कार्य सम्पन्न गरेर सुचारु गर्न मुगु गमगाड वितरण केन्द्र कार्यालयलाई निर्देशन दिएका थिए । असोज तेस्रो हप्ता परेको अविरल वर्षाका कारणले आएको बाढी पहिरोले छायाँनाथ रारा नगरपालिका वडा नं– ६ मा रहेको गमगाड जलविद्युतको क्यानल तथा नहरमा क्षति पुर्‍याएको थियो । नेपाल विद्युत् प्राधिकरण गामगाड वितरण केन्द्रका कार्यालय प्रमुख दिनेश पौडेलले कार्य स्थलमा आउजाउ गर्ने बाटो पनि वर्षाले क्षति गरेकाले सदरमुकाम गमगढीबाट सरिया र सिमेन्ट निर्माणस्थलसम्म ढुवानी गर्न असहज भएकाले निर्माण तथा मर्मत कार्यमा केही ढिलाइ भएको बताए । उनले भने, ‘क्यानल तथा नहर गरी दुई सय ५७ मिटर पूर्णरुपमा निर्माण तथा मर्मत गर्ने कार्य सम्पन्न भएको छ ।’ परीक्षण कार्यका लागि एक हप्तासम्म क्यानल तथा नहरमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् सञ्चालनमा ल्याउने केन्द्रको तयारी छ । उक्त अवधिभित्र क्यानल तथा नहरमा कुनै पनि समस्या नआएको खण्डमा त्यस लगत्तै २४ घण्टा विद्युत् सञ्चालनमा आउने कार्यालय प्रमुख पौडेलले बताए। लामो समयसम्म अवरुद्ध विद्युत् सञ्चालनमा आउने भएसँगै स्थानीय खुसी भएका छन् । छायाँनाथ रारा नगरपालिका वडा नं। ७ का अमरबहादुर रोकायाकाले छिट्टै बत्ती बल्ने विश्वास नलागेको भन्दै आफूजस्तो बेलुकापख उज्यालो गर्ने विकल्पको माध्यम भनेको दियालो भएकाले म दमरोगीको बिरामीलाई धेरै सास्ती भएको स्मरण गरे। ‘अव बत्ती बल्ने भनेको सुनेपछि म जस्ता दमरोगीका बिरामीलाई ठूलो राहत मिल्ने भएको छ’ उनले भने।  
Tags: