कोभिडले सार्क क्षेत्रमा रोजगारीमा परेको प्रभाववारे काठमाडौंमा छलफल

Image
काठमाडौं– अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा दक्षिण एशियाका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूले कोभिड–१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा आ–आफ्ना देशमा पारेको प्रभावका सम्बन्धमा गम्भीर छलफल गरेका छन् । बिल्डिङ रेजिलियन्स फर फ्यूूचर अफ वर्क एण्ड पोष्ट कोभिड–१९ विषयमा आयोजित कार्यक्रममा दक्षिण एशियाका नेपाल लगायत बंगलादेश, भारत र पाकिस्तानका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रमलाई संवोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नया चुनौतीहरू देखापरेको बताए। सभापति संघाईले यी चुनौतीहरूको सामना गर्न थप प्रयासहरू आवश्यक भएकोमा जोड दिए । यसका लागि उपयुक्त रणनीति र नीति आवश्यक रहेकोमा संघाईको जोड थियो । दक्षिण एसियामा अर्थतन्त्रको ठूलो हिस्सा अहिलेपनि अनौपचारिक रहेको भन्दै साना मझौला उद्यमहरूको दिगोपन र अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुधारिएको कामको अवस्था सुनिश्चित गर्न महत्वपूर्ण भएको संघाईले बताए। भौगोलिक रूपमा हामी दक्षिण एसियाली देशहरू एकअर्कासंग नजिक छौं, अनुभव आदानप्रदानका लागि विभिन्न माध्यम र संयन्त्रहरू छन्, दक्षिण एसियाली रोजगारदाता मञ्च (साफी) तीमध्ये एक हो, साफी अध्यक्ष समेत रहेका संघाईले भने–साफीलाई हाम्रो पारस्परिक हित र सहयोगको लागि अझ प्रभावकारी रुपमा परिचालन गर्नेतर्फ हाम्रो साझा प्रयास आवश्यक छ ।
Tags: