गठबन्धनले भने, ‘हामी एकतावद्ध छौं’

Image
काठमाडौँ — नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर दुई पार्टीबीच फाटो गराउने दुराशयले भ्रमपूर्ण प्रचार गरेको भन्दै त्यस्तो प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 'नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर दुई पार्टीबीच फाटो गराउने दुराशयले भ्रमपूर्ण प्रचार भएको छ । यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो, विज्ञप्तिमा भनिएको छ, 'नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिवद्ध छन् । र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ । यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौं ।' केही राजनीतिक दलका जिम्मेवार नेता र उम्मेदवारले समेत दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा सेयर गरेको भन्दै त्यसलाई कांग्रेस र माओवादीले निर्वाचन अपराधको संज्ञा दिएका छन् । दुवै पार्टीले यस्तो निर्वाचन अपराधलाई गम्भीर रुपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छन् ।  
Tags: