‘ठूली दिदी’ को छोरी पढाउने अभियान

Image
काठमाडौ– २०५८ सालमा एसएलसी पास गरेकी धनुषा नगराइन नगरपालिका वडा नं १ की किरण साहलाई एसएलसी पछि नर्स पढ्ने धोको थियो तर परिवारले पढाइ होइन बिहे गरिदियो । अहिलेसम्म छोरीलाई विद्यालय पठाउनुपर्छ भनेर अभियान छेड्नुपरेको मधेशमा आफूले २० वर्ष अगाडि त्यतिसम्म पढ्ने अवसर पाउनुलाई किरणले ठूलो मौका संझन्छिन् तर नपढेकै भए के हुन्थ्यो, एसएलसीसम्म पढ्दा उनमा पढाईको भोक र छोरी पढाउने चेत सहितको विद्रोह जन्माइदियो । विहे पछि धनुषाकै लोहनाबाट नगराइन पुगेकी उनलाई घरमा थप अध्ययन गर्छु भन्ने कल्पना मात्रै थियो, उनले त्यो आँट पनि गरिनन् । उनले आफू थप पढ्ने रहर पुरा गर्न नपाए पनि गाउँमा छोरीहरूलाई पढाईको भोक जोगाउने हुटहुटी जाग्यो । उनले गाउँमा प्रौढ शिक्षा, किशोरी शिक्षा जस्ता अनौपचारिक शिक्षाका कक्षाहरूमा सहजकर्ता भएर पढाइन् । बिहे पछिका २० वर्ष उनी सामाजिक रुपान्तरणका लागि विभिन्न माध्यमबाट लागिरहिन् । त्यो धेरै स्वतन्त्र रुपमा र कतै जागिरेकोरुपमा पनि थियो । ‘मलाई सामाजिक विकृति निरुत्साहित गर्ने कुरा र छोरीलाई पढाउनुपर्छ भन्ने अभियान चलाउन कुनै जागिरै खानुपर्छ भन्ने लागेन, जागिर गरेर समुदायमा जाँदा केही संस्थागत देखिने हुनाले विश्वास धेरैको पाइन्थ्यो’ उनले भनिन्, ‘मलाई तलब कति भन्ने कुरा महत्वपूर्ण लागेन, एउटा संस्थाले ९ महिना काम लगाएर बिना तलब फर्कायो, पाइन भन्ने पीडाभन्दा त्यहाँ बसेर मैले केही गरें भन्ने कुराले मनमा आनन्द आयो ।’ उनको सक्रियतालाई परिवारले पनि स्वीकार्दै गयो । अहिले उनलाई आफू एकदमै स्वतन्त्र लाग्छ । आफ्नो क्रियाशिलतामा उनले धेरै छोरीहरूलाई विद्यालय पठाएकी छिन् । उनले भनिन्, ‘बिहे भएर गाउँ आउँदा एसएलसी गरेको कोही थिएन् तर अहिले सबैमा छोरीलाई सकेसम्म धेरै पढाउनुपर्छ भन्ने मान्यता छ ।’ अहिले उनलाई गाउँमा सबैले चिन्छन् । समस्या पर्दा उनको राय माग्छन् । उनले दिएको सुझावलाई ग्रहण पनि गर्छन् । धेरैका समस्या समाधान गर्दै हिँड्दा उनले समय वितेको पत्तै पाउन्निन् । ‘अभियान हो, सबै छोरी म जस्तै बनुन्, म भन्दा अगाडि बढुन् भन्ने चाहना छ’ उनले भनिन्, ‘मुख्य कुरा त पढाइको महत्व बुझाउने हो, जसले समाजको अहिलेको अवस्थाबाठ माथि उठाउन सहयोग गर्छ ।’ अहिले आफ्नो नर्स सपना पुरा गर्न छोरीलाई नर्स पढाइरहेकी छिन् । आफूलाई पढुँ जस्तो लाग्दैन ? अन्तिममा उनले मुख खोलिन्, ‘म पनि यसपाली ११ कक्षामा भर्ना भएको छु ।’ यी सामाजिक अभियान्ता ‘ठूली दिदी’ पनि हुन्। आसमान नेपालले उनको क्षेत्रमा कार्यान्वयनमा ल्याएको ‘निक शिक्षा दिअ’ परियोजनाको स्वमसेवी पद हो, ‘ठूली दिदी’ । ‘ठूली दिदी’ जत्तिकै जिम्मेवार भएर काम गर्ने उनलाई यो पद साह्रै सुहाएको छ, यसबाट उनी औधी खुसी पनि छिन्। ‘ठूली दिदी’ को भूमिकामा किरणले अहिले दैनिक २० जना विद्यार्थी जम्मा गरेर पढाउँदै आएकी छिन् । त्यसका अतिरिक्त पनि अन्य विद्यार्थीलाई फोनबाट र घरमै गएर पनि संझाउने, बुझाउने, पढ्न लगाउने गर्दै आएकी छिन् । विद्यालय चल्न थालेपछि हरेक दिन उनी विद्यालयमा पुग्छिन्। विद्यालयको हाजिरी रजिस्टरमा को विद्यार्थी विद्यालयमा आएन भन्ने कुरा पक्का गर्छिन। विद्यालय नआएका विद्यार्थीको घरमै गएर विद्यालय नजानुको कारण पत्ता लगाउँछिन् । उनी भन्छिन्, ‘यसो गर्दा विद्यार्थी विद्यालयमा नियमित छन्, अर्को तिर सधै पढ भनेर संझाउँदा पढाइमा पनि ध्यान दिएकाछन् ।’ विद्यालय भन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पुराएर भर्ना गराउनु उनको अर्को अभियान हो। विद्यालय पुराएर मात्रै उनको मन शान्त छैन । उनीहरूले पाउने शिक्षाको गुणस्तरमा पनि उनको चिन्ता छ । ‘विद्यालय नजानु चेतना मात्र नभएर आर्थिक अवस्था लगायतका बाध्यता पनि छन्, उनीहरूलाई ड्रेस, कापी कलम, ट्युसन लगायतका व्यवस्था गर्न सके पनि पढाइका गुणस्तर र विद्यालयमा नियमितता ल्याउन सकिन्छ’ उनले भनिन् । उनी घरघरमा पुगेर बालश्रम रोक्ने कुरामा पनि सचेतना जगाउँदै आएकी छिन्। इट्टा भट्टामा काम गर्ने बालबालिकालाई विद्यालयमा भर्ना गराएको उनीसँग अनुभव छ । उनले बालश्रमका कानुनी कुरा पनि स्मरण गराउँछिन् । अभिभावकलाई विद्यालयमा पठाउनको लागि दवाव दिन्छिन् । कतिपय अभिभावक नै नभएको बच्चा पनि छन्, जो आफन्तको सहारामा दुख पाएर बसिरहेका छन् । लगभग अभिभावक विहिन अवस्थाका बच्चालाई कसैको आश्रयमा राख्न पाए, उनीहरू भविश्य बन्थ्यो भन्ने लाग्छ । प्रसंग निकाल्दै उनले भनिन्, ‘एउटा बच्चा छ, बाबुआमा कोही नभएको, काका नाता पर्नेकोमा बसेको छ, साह्रै दुःख पाएको छ, सर त्यसलाई काठमाडौं तिर कुनै संस्थामा कुरा गरेर पढ्ने वातावरण मिलाउन सकिँदैन ?’
Tags: