अब काँग्रेस कम्युनिष्ट भनेर जुध्ने होइन गणतन्त्र र संविधान जोगाएर विकास गर्ने हो : महर्जन

Image
कृष्णलाल महर्जन वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार ललितपुर क्षेत्र नं २ अहिले चुनावी माहौल कस्तो छ ? मतदानको दिन नजिकिँदै गर्दा हामी मतदातामाझ जाने, भेटघाट गर्ने र मत माग्ने काम गरिरहेका छौं । हाम्रो निर्वाचन क्षेत्र शहरी क्षेत्र र काँठ तथा ग्रामीण भेक रहेकाले घरदैलो कार्यक्रम र भेटघाटलाई समय दिएका छौं । तपाइ पटक पटक यसै क्षेत्रबाट सांसद हुनुभयो, फेरि जनताले जिताउनेमा कति विश्वास छ ? म विश्वस्त छु । ललितपुर क्षेत्र नं २ का मतदाताहरुले नेपाली राजनीतिक आन्दोलनलाई राम्रोसँग बुझ्नुभएको छ । यो शासन व्यवस्था ल्याउनका लागि हाम्रो क्षेत्रका मतदाताले निर्णायक समयमा निर्णायक ढंगले लड्नुभएको छ । ०४६ सालमा बहुदलीय व्यवस्था ल्याउन होस् वा ०६२÷०६३ को जनआन्दोलनको निर्णायक घडीमा पाटनवासी अझ हाम्रो क्षेत्रका मतदाताको भूमिका निर्णायक छ । अहिले पनि समावेशीता, समानुपातिक प्रतिनिधित्व सहितको यो गणतान्त्रिक व्यवस्था जोगाउन हामीले गरेको योगदानलाई उहाँहरुले बुझ्नुभएको छ । अहिलेको यो निर्वाचन यो संविधान जोगाउने कि उल्ट्याउने भन्ने विचारको पक्ष विपक्षको जनमतसंग्रह जस्तै हो त्यसैले हामीले संविधान जोगाउन, गणतन्त्र जोगाउन गरेको योगदानलाई मतदाताले सम्झनुहुनेछ । हाम्रो क्षेत्रका मतदाताले व्यवस्था र संविधान ल्याउन जस्तै संघर्ष गरेर जोगाउन पनि योगदान गर्नुहुनेछ । अहिले जनताको चाहना त विकासमा छ नि विकास भएन भन्ने गुनासाहरु छन्, तपाइले के त्यस्ता काम गर्नुभयो र तपाईलाई नै मत दिने ? हाम्रो विकास प्रणालीले नै हामीलाई पछाडी पारेको विषयमा हिजो पनि मैले संघर्ष गरेँ भोली पनि गर्नेछु । मैले विगतमा अगाडि सारेका प्रस्ताव गरेका कार्यक्रमहरुलाई त्यतिबेलाको नेतृत्वले गरेको उपेक्षा मैले जनतामाझ राखिसकेको छु । तत्कालीन पार्टी र सरकारको नेतृत्व गर्नुभएका व्यक्तिले संविधान गणतन्त्र र करोडौं जनताको आवाज त सुन्नुभएन आफूलाई जे लाग्यो त्यही मनलाग्दी गर्नुभयो भने मेरो आवाज त सुन्ने कुरै थिएन तर संसदीय क्षेत्र विकास कार्यक्रममार्फत मात्रै पनि जे जस्ता कार्यक्रम भए त्यसले पनि मेरो भिजनलाई प्रष्ट पार्छ । ग्वार्कोदेखि ढुंगिन पनौती सडकलाई मैले आफ्नो निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडकको रुपमा अगाडि सारेको हुँ । कार्यान्वयन गर्ने संयन्त्रहरुको लापर्वाही र ढिलासुस्तीले पूरा हुन नसकेपनि त्यो आयोजनामा मेरो पहल प्रयास र प्राथमिकता थियो । यस्तै लुभू सिद्धिपुर लगायत खानेपानीका समस्या भएका ठाउँमा पानीको समस्या समाधानका लागि बजेट व्यवस्था गरेको थिएँ । पाटनवासीका लागि खानेपानीको माग गरेका कारण तत्कालीन पञ्चायती शासकले ६ महिना जेल राखेको मान्छे भएकाले पनि जनताको खाननेपानी समस्या समाधानको लागि सकेसम्म गरेको छु । भित्री पाटनभित्रका गुठीहरुका भवन निर्माण, कला संस्कृतिको संरक्षण प्रवद्र्धनमा सहयोग गरेको छु । अझै पनि मेरो आह्वान के छ भने यो निर्वाचन मूल रुपमा प्रतिनिधिसभा भएकोले देशको शासन व्यवस्था, संविधान, कानुन निर्माण र देशको प्रणाली सञ्चालनका एजेण्डाहरुमा मेरो पार्टी र हाम्रो गठबन्धनलाई हेरेर जनताले मतदान गर्नुहुनेछ । तपाई कम्युनिष्ट पार्टीको मान्छे, अहिले काँग्रेससँग गठबन्धन गर्नुभएको छ यसलाई जनताले कसरी हेर्ने ? हो हामी कम्युनिष्ट र काँग्रेस पार्टीका केही अलग अलग एजेण्डा र कार्यक्रहरु छन् । अलग विचार र सिद्धान्त बोकेका छौं तर हामी दुबै पार्टी ००७ सालको राजनीतिक परिवर्तन होस् ०४६ मा बहुदलीय व्यवस्था ल्याउने संघर्षमा होस् वा ०६२÷०६३ को गणतन्त्र प्राप्तीको आन्दोलनमा होस् मिलेर संघर्ष गरेका हौं । हामीले एकले अर्कोको झण्डा बोकेका छौं । एकले अर्कोलाई मन र विश्वास सुम्पेका छौं । त्यो बेला हामीले लडेर ल्याएको व्यवस्था मासेर दक्षिणपन्थी गणतन्त्र विरोधी र संविधानविरोधीहरु एक ठाउँमा उभिएर यो राजनीतिक परिवर्तन र संविधान मास्न लागेकाले हामी फेरि एक पटक गठबन्धन गरेर उभिएका हौं । यो निर्वाचनले परिवर्तन विरोधीहरुलाई परास्त गर्नेछ । अब काँग्रेस कम्युनिष्ट भनेर जुध्ने होइन, गणतन्त्र संविधान र राजनीतिक परिवर्तन जोगाएर जनताको चाहना अनुसार विकासमा ध्यान दिने हो । तपाईलाई मन्त्री बनाउने भनेर शीर्ष नेताहरुले भन्नुभएको कुरा चर्चामा आईरहेको छ नि सत्य के हो ? मन्त्री नै बनाउनका लागि त सांसद नभए पनि बनाउन संविधान कानुनले रोक्दैन । तर यहाँका मतदाताले मलाई मत दिने यो संविधान र राजनीतिक परिवर्तनको रक्षा गर्नका लागि हो । फेरि एउटा नेताको सनकमा संसद विघटन भयो भने वा संविधान मासियो भने शीर निहुराएर हिँड्ने अवस्था नआओस् भन्नलाई हो । शीर ठाडो पारेर पहिला देश, शासन व्यवस्था र संविधान अनि मात्रै पार्टी र नेता भन्ने हिम्मत भएको प्रतिनिधि यहाँका मतदाताले छान्नेछन् भन्ने मेरो विश्वास हो । देश, शासन व्यवस्था र संविधान नै जोगिएन भने न पार्टी रहन्छ न चुनावको अर्थ । त्यसकारण मतदाताले मलाई जिताउनुभएपछि शीर्ष नेताहरुले भन्नुभएजस्तो जिम्मेवारी दिनुभयो भने राजनीतिको यो लामो अनुभवको सिकाइलाई जनताको हीतमा कार्यान्वयन गर्ने अवस्था आउन सक्छ । अहिले हाम्रो गठबन्धनको तर्फबाट उम्मेदवार भएकाहरु १ र ३ का साथीहरु मन्त्री भईसक्नुभएको छ अब २ बाट कृष्णलालजीले जितेपछि मन्त्री बनाइन्छ भनेर शीर्ष नेताहरुले भन्नुभएको हो । यस क्षेत्रका मतदाताका लागि तपाइका एजेण्डा के हुन् ? हाम्रो यो क्षेत्र विश्व सम्पदामा सूचीकृत पाटन दरवार क्षेत्रदेखि शंखमुल लगायतका क्षेत्र छन् । हाम्रो यस क्षेत्रको कला र संस्कृतिले विश्वलाई चिनाएको छ त्यसलाई अब हामी पहिचानको रुपमा मात्र नभएर हाम्रो समृद्धिको स्रोतको रुपमा विकास गर्न चाहन्छौं । यो मूर्त र अमूर्त सम्पदाको संरक्षण गरेर कला र संस्कृतिको विकासमार्फत लाखौं पर्यटकहरु पाटन भित्र्याउने गरी अबका दिनमा गठबन्धन सरकारको ध्यान जानेछ । अर्को कुरा ०४६ पछि पाटनको भौतिक विकासलाई राज्यले उपेक्षा गरेको छ त्यसलाई सन्तुलित विकासको परिभाषाले पछाडी पारेको छ त्यो उपेक्षाबाट मुक्ति दिलाउन नीतिगत संघर्ष गरिनेछ । उपत्यकाको परिभाषामा परेर छात्रबृत्ति तथा राज्यको विभिन्न सहुलियतबाट बञ्चित रहेका हाम्रा ग्रामीण भेकका नागरिकलाई समानताको अनुभूती गराउन पहल गरिनेछ । पाटनलाई हस्तकलाको राजधानी बनाउने अभियान हुनेछ । यहाँका जातीय समाजहरु तथा धार्मिक संघसँस्थाहरुकै सहभागिता रहने गरी जातीय तथा धार्मिक एकता सहकार्य र विकासको अभियान सञ्चालन गरिनेछ । युवा महिलाहरुको सीप विकास र उद्यमशीलतामार्फत समृद्धिको ढोका खोल्न पर्छ । सहकारी तथा नीजि क्षेत्रको सबलीकरणमार्फत आत्मनिर्भर अर्थतन्त्र बनाउनुर्छ । धेरै कामहरु छन् गर्नुपर्ने । गएको ५ वर्ष पार्टीभित्रैको अधिनायकवादसँग लडेर समय सकियो अबको कार्यकालमा समृद्धिको आधार बसाउनुपर्छ । विगतका तपाइका आफ्नै सहयोद्धा तपाइको पूर्व पार्टीबाट मुख्य प्रतिद्धन्द्धीको रुपमा उभिनुभएको छ, उहाँप्रति के भन्नुहुन्छ ? उहाँ पनि विगतमा हामीसँगै पार्टीभित्रको तानाशाही प्रबृत्ति र व्यक्तिवाद विरुद्ध आन्दोलनमा हुनुहुन्थ्यो । पार्टी नेतृत्वले पार्टीभित्र र सरकार प्रमुखको हैसियतमा गरेका तमाम अपराधको विरुद्धमा कार्यकर्ता संगठित गर्ने र जनतालाई सचेत गराउने बेला हामीसँगै हुनुहुन्थ्यो । तर त्यो नेतृत्वले सच्चिने कुरा त परै जाओस् गल्तीको महसुस समेत गरेको छैन त्यस्तो बेलामा कसरी उहाँले मैदान छाड्नुभयो धेरै कार्यकर्ता र जनताले प्रश्न गरिरहेका छन् त्यसकारण उहाँसहित हामीले आन्दोलनमा उठाएका धेरै एजेण्डाहरु अलपत्र छन् । ति एजेण्डाहरुलाई समेत गन्तव्यमा लैजान हाम्रो यो गठबन्धनको विजय जरुरी छ । नेकपा एकीकृत समाजवादीको कलम चिन्हमा उम्मेदवार भएकाहरुको जित जरुरी छ । बाहिर भन्न नसकेपनि मनले महसुस गर्नुभएको होला । तपाइले आफ्नो निर्वाचन क्षेत्रलाई समय नै दिनुभएन भन्ने आरोप पनि प्रतिद्धन्द्धीहरुले लगाइरहनुभएको छ नि ? यो क्षेत्रमा व्यक्तिगत हिसावले नै मलाई जति मतदाताले चिन्ने र सहजै भेटघाट गर्न सक्ने अरु हुनुहोला जस्तो लाग्दैन । जनता मतदाताले खोज्दा सबैभन्दा सजिलोसँग भेटिने जनप्रतिनिधि हो । कसैलाई पनि मैले सक्ने र गर्न मिल्ने काममा हुन्न सक्दिनँ गर्दिनँ भनेर फर्काएको छैन । मतदाताको हिसावले ललितपुर २ का मतदाताले शीर झुकाउनुपर्ने कुनै काम म बाट भएको छैन । चाहे संसदको उपस्थिति वा समितिमा सहभागिताले होस् हाम्रो सांसद यस्तो विकृतिमा जोडियो भन्ने कुरा ललितपुर २ का जनताले भोली पनि शीर झुकाउनुपर्ने अवस्था आउने छैन । जसजसले त्यस्तो आरोप लगाएर जनता मतदाता भड्काइरहनुभएको छ हिजो विगतमा उहाँहरुले नै आफूले गरेका गल्ती कमजोरीहरु छोप्न त्यस्तो भन्नुभएको हुनसक्छ । त्यसैले चुनावका बेला हल्ला चलाएर आरोप लगाएर मतदाता भड्काएर होइन आफ्नो इतिहास, इमान, जनताका लागि गरका संघर्ष र एजेण्डा लिएर मैदानमा जानुपर्छ । हामीले सँस्थागत र पार्टी कमिटीमार्फत हुने कार्यक्रम तथा भेटघाटहरुबाहेक अन्य कार्यक्रम र भेटघाट गर्न नसकेको कुरालाई आउँदा दिनमा सुधार गर्न मतदातासँग भेट्ने अन्तरक्रिया गर्ने कामहरु र टोलटोलमा गएर नियमित छलफल गर्ने कामलाई अब क्यालेण्डर नै बनाएर लागू गर्नेछौं । जनताका समस्या समाधानका लागि पार्टीको तर्फबाट पब्लिक सोलुसन सेण्टर बनाएर सार्वजनिक सेवा सवलीकरणमा पनि जोडिनेछौं ।
Tags: