दुर्गम गाउँका मतदाताको पीडा : भोट दिन्छन् तर उम्मेदवारलाई भेट्नै पाउँँदैनन्

Image
-विक्रम गिरी सोलुखुम्बु – चुनाव उत्सव हो । यो बेला मुलुकका सबैजसो ठाउँँमा राजनीतिक गतिविधि अत्यधिक भएका छन् । भान्सादेखि खेतबारी, घरको आँगनदेखि गाउँँका चियापसल र चौतारामा पनि निर्वाचनकै कुरा हुने गरेको छ । धेरैजसो ठाउँमा यतिबेला दसैँ तिहारकै जस्तो रमाइलो वातावरण छ । विदेश तथा स्वदेशका विभिन्न ठाउँमा छरिएर रहेकाहरु मतदान गर्नकै लागि घर फर्किने क्रम जारी छ । उम्मेदवारलाई घरदैलो गर्न र मतदातालाई रिझाउन होडबाजी नै चल्छ । उम्मेदवार र तिनका कार्यकर्ताहरु मतदातालाई खेतबारीमै गएर भेटेर मत माग्दै गरेका छन् । कतिपय उम्मेदवारले खेतमै गएर किसानलाई काममा सघाएको पनि देख्न पाइएको छ । निर्वाचनले गर्दा पाँच वर्षमा एक पटक हुने मतदाता र उम्मेदवारको प्रत्यक्ष रुपमा भेटघाट हुन पाएको छ । मतदाताले आफ्ना तीतामीठा कुरा धित मरुञ्जेल उम्मेदवार, पार्टीका नेता कार्यकर्तालाई सुनाउन पाएका छन् । एक आपसमा राम्रोसित घुलमिल हुने तथा चिनजानको अवसर पनि यही नै हो । उम्मेदवारहरु अरु बेला गाउँघरमा त्यति धेरै गएको र मतदातालाई भेट्ने गरेको हामीकहाँ कमै पाइन्छ । यतिबेला गाउँघरमै गएर मतदातालाई भेट्नु हरेक उम्मेदवारको बाध्यता जस्तै पनि हो । मतदातालाई पनि आफ्नो प्रतिनिधिलाई चिन्ने र आफ्ना समस्या राख्ने महत्वपूर्ण अवसर पनि यतिबेला नै हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ को गुमेला गाउँँको दृश्य भने एकदमै फरक रहेको छ । दूधकोशी नदी किनारको फाक्दिङबाट एक घण्टा उकालो पार गरेपछि पुगिन्छ गुमेला । खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा पर्ने ११ गाउँमध्येको एउटा गाउँ हो यो । यसलाई ठूलो गुमेला र सानो गुमेला भनेर छुट्याएको छ । माथिल्लो वस्ती ठूलो गुमेला र तल्लो वस्ती सानो गुमेलाका नामले चिनिन्छ । यहाँ पुग्दा गाउँ सुनसान थियो । घरमा महिला र बालबालिका मात्र थिए, पुरुष जति सबै काममा । यो विश्वको सर्वोच्च हिमशिखर सगरमाथाको पदमार्गमा पर्ने गाउँ हो । त्यसैले यहाँँका पुरुष महिनौँँदेखि आन्तरिक तथा बाह्य पर्यटक सँगसँगै छन् । कोही भारी बोक्न, कतिपय पथप्रदर्शक बनेर त कतिपयले अरु व्यापार व्यवसाय गर्न गाउँ छाडेका छन् । गाउँमा पग्दा लाक्पाफुटी शेर्पा चिया पकाउँदै थिइन्। निर्वाचनबारे जिज्ञासा राख्दा उनले भनिन्, “मङ्सिर ४ गते भोट हाल्न जानुपर्छ भन्ने मात्र थाहा छ, अरु कुरा केही थाहा छैन ।” गाउँमा चुनावी गफगाफ केही नहुने शेर्पा बताउँछिन् । “सबै आ–आफ्नो काममा हुन्छन्, कसैलाई फुर्सदै हुँँदैन, एक ठाउँमा भेला हुँदा पनि अरु नै कुराकानी हुन्छ, चुनावको त केही कुरा नै हुँँदैन”, उनले भनिन्। शेर्पालाई जस्तै सर्मिला बराइलीलाई पनि चुनावबारे खासै केही थाहा छैन । मोबाइलमा बज्ने रिङटोनका कारण मङ्सिर ४ गते निर्वाचन हुने र भोट हाल्न जानुपर्नेसम्म उहाँँलाई जानकारी छ । “यहाँँ कोहीले पनि चुनावको कुरा गरेको सुन्दिन, भोट माग्न त अहिलेसम्म कोही पनि आएका छैनन्”, निरक्षर बराइलीले भनिन् । जिल्लामा कुन कुन पार्टीबाट को को उम्मेदवार छन् भन्ने पनि उनलाई थाहा छैन् । ठूलो गुमेला र सानो गुमेलामा झण्डै ८० परिवारको बसोबास छ । यहाँ शेर्पा, राई, बराइली, कुलुङलगायत जातिको बसोबास छ । गाउँका केही घरमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका पर्चा पम्पलेट घरका भित्तामा टाँसिएका देखिन्छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे भने कुनै पनि सामग्री भने यहाँ कहीँँकतै भेटिदैनन् । मतदान गर्न र निर्वाचनबारे जानकारी दिन गाउँमा कोही नआएको यहाँका मतदाता बताउँछन् । हालसम्म कुनै पनि पार्टी र तिनका नेता कार्यकर्ता तथा उम्मेदवार भोट माग्न यहाँ आएका छैनन् । “दुर्गम र विकट गाउँ भएका कारण कोही नआएका होलान्”, स्थानीय ७१ वर्षीया विमला कुलुङ भन्छिन्, “यसअघिका निर्वाचनमा पनि यस्तै भएको थियो ।” स्थानीय तहको निर्वाचन ताका भने गाउँमा निकै चहलपहल भएको उनले सुनाइन् । “उम्मेदवार पनि यहीँका भएर होला, त्यो बेला उम्मेदवार भोट माग्न घरदैलोमै आउनुभएको थियो ।” स्थानीय तह बााहेकका अन्य निर्वाचनमा भने यो गाउँँमा कुनै पनि उम्मेदवार भोट माग्न आएको कुलुङलाई सम्झना छैन । यहाँँका बासिन्दा खेती किसानी गर्दैनन् । खेतबारी नै पर्याप्त छैन । केहीले बारीमा तरकारीसम्म लगाउन भ्याएका छन् । यतिबेला स्थानीयका लागि वर्षभरिको खानपिनको जोहो गर्ने समय हो । पुरुष सबैजसो कमाउन सगरमाथाको आधारशिविर, नाम्चे, खुम्बु, लुक्लातिर गएका छन् । “दुई वर्ष कोरोना महामारीले हाम्रो गरिखाने बाटो छेक्यो”, सगरमाथा पदमार्गको फाक्दिङमा पर्यटकको भारी बोक्दै गरेका नोर्बु शेर्पाले भने, “यतिबेला घर नछाडे वर्षभरि भोकै बस्नुपर्ने हुन्छ ।” कोरोना महामारीका कारण दुई वर्ष यहाँका बासिन्दाले कष्टकर दिन बिताउनुप¥यो । आन्तरिक र बाह्य पर्यटक आएनन् । स्थानीयले भारी बोक्ने, पथप्रदर्शकको काम तथा अय व्यवस्या गर्नै पाएनन् । यस वर्ष भने पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ । त्यही भएर यहाँका मतदातालाई एकछिन फुर्सद छैन । “अहिले गाउँघरमा सितिमिति कोही भेटिदैनन्”, स्थानीय पर्यटन व्यवसायी एवं हेली एभरेष्ट प्रालिका प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पा भन्छन् “सबैजना काममै व्यस्त हुन्छन्, अहिले कमाएको पैसोले अफ सिजनमा खाने हो, घरखर्च बालबच्चा पढाउने खर्चको जोहो गर्ने बेला पनि यही हो ।” आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २० उम्मेदवार चुनावी मैलदानमा छन् । सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीका अनुसार प्रतिनिधिसभातर्फ आठ र प्रदेशसभातर्फ १२ उम्मेदवार मत माग्न व्यस्त छन् । कोही पनि उम्मेदवार खुम्बु पासाङल्हामु गाउँपालिकामा भोट माग्न आउनु भएको छैन । कांग्रेस, एमाले र माओवादी केन्द्रको जिल्ला नेतृत्वले दुर्गम क्षेत्र भएका कारण मत माग्न गाउँगाउँ पुग्न नसकेको स्वीकारेको छ । इच्छा हुँदाहुँदै पनि सीमित समय र जिल्लाको भूगोल ठूलो भएका कारण सबै ठाउँमा मतदातालाई घर घरमा गई भेट्न नसकिएको उनीहरुको भनाइ छ । नेपाली कांग्रेसका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले पार्टीका स्थानीय तहका नेता कार्यकर्ताले नै उम्मेदवारका तर्फबाट मत मागिरहेको बताए। “लुक्लासम्म त चुनावी सभा गरेका हौँ, त्यहाँदेखि उत्तरतर्फका वस्तीमा समय अभावका कारण पुग्न सकिएन”, उनले भने, “मतदाता आफ्नो काममा व्यस्त छन्, घरमा भेटिने सम्भावना पनि कमै छ, त्यसैले सो क्षेत्रमा चुनावी सभा र घरदैलो गरेका छैनौँ ।” सत्ता गठबन्धनको प्रचारप्रसारका क्रममा आज जिल्लाको लिखु पिके गाउँपालिकामा रहेका सभापति शेर्पाले सकेसम्म लुक्लादेखि उत्तरतर्फको क्षेत्रमा पुग्ने प्रयासमा आफू रहेको बताए । यस्तै नेकपा (एमाले) का जिल्ला अध्यक्ष डुफाकुमार बास्तोलाले खुम्बु पासाङल्हामु गाउँपालिकामा आफ्नो पार्टीको सङ्गठन मजबुद भएकाले मतदाताको घरदैलोमा उम्मेदवारले धाउन नपर्ने बताए । गत वैशाखमा स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा एमालले जितेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस क्षेत्रमा मतदाता घरमा नभेटिने समस्या रहेको बताए । “सबै हिमाली भेगमा गएका छन्, घरमा खासै भेटिदैनन्, त्यही भएर चुनावी सभा र घरदैलोमा उम्मेदवार जानुभएन”, अध्यक्ष बास्तोलाले भने । भौगोलिक विकटताका कारण गाउँगाउँ जान समस्या भएकाले एक÷दुई दिनमै पार्टीको उम्मेदवार हेलिकप्टरमा खुम्बु क्षेत्रमा मत माग्न जाने उनले जानकारी दिए। एमालेले यही कात्तिक २१ गते लुक्लामा चुनावी सभा आयोजना गरेको थियो । यसैगरी नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक असिम राई भौगोलिक विकटताका कारण खुम्बु पासाङल्हामु क्षेत्रमा पुग्न नसकिएको बताए । “मिलेसम्म अझै पनि सत्ता गठबन्धनका उम्मेवारसहित पुग्ने प्रयासमा छौँ”, उनले भने, “त्यहाँका मतदाता काममै बढी व्यस्त हुन्छन्, घरमा भेटिने सम्भावना पनि न्यून हुन्छ, त्यसैले कम प्राथमिकता दिएका हौँ ।” उम्मेदवार नै प्रत्यक्ष रुपमा पुग्न नकसे पनि स्थानीय नेता कार्यकर्ताले मतदातालाई रिझाउने काम गरिरहेको उनको भनाइ छ ।    
Tags: