दुबईमा लगानी र पर्यटन प्रवद्र्धनको पहल गर्दै नेपाली व्यवसायी

Image
काठमाडौं – नेपाल यूएई उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले हालै दुबईमा विभिन्न कार्यक्रम गरी नेपालमा लगानी र पर्यटन प्रवद्र्धनका लागि समकक्षी व्यवसायीहरुसँग आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार अग्रवालको अध्यक्षतामा गएको १३ सदस्यीय भ्रमण टोलीले दुबई चेम्बर, ¥याक चेम्बर, नेपाली दूतावास दुबई तथा फेडरेसन अफ दुबई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीसँग छलफल तथा अन्तरक्रिया गर्दै व्यापार र पर्यटन अभिवृद्धिका लागि पहल गरेको हो । नेपाल यूएई उद्योग वाणिज्य संघ गठन भएपछिको पहिलो दुबई भ्रमण ऐतिहासिक रुपमा सफल भएको र यसले द्विपक्षीय सम्बन्ध विस्तार तथा नेपालको आर्थिक विकासमा सकारात्मक परिणाम ल्याउने संघका अध्यक्ष पवनकुमार अग्रवालले बताएका छन् । आफूहरुको उद्देश्य द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नु र युएईमा नेपाली व्यापार तथा पर्यटन प्रवद्र्धनका अवसरहरूको खोजी गर्नुका साथै नेपालमा युएईको लगानी आकर्षित गर्नु रहेकोमा सफल भएको उनको भनाइ छ । “हामीले नेपालमा व्यापारका अवसरहरूका बारेमा त्यहाँका व्यवसायीहरुलाई जानकारी गरायौं, उहाँहरु सकारात्मक देखिनुभएको छ,” उनले भने, “नेपालमा कुनै पनि व्यापारिक लगानीका लागि सहयोगी संस्थाको रूपमा हाम्रो संघ तयार छ भनेर जानकारी दिएका छौं र यसले दुबईको लगानी यहाँँ ल्याउन सहयोग पुग्नेछ ।” संघले दुबई चेम्बर्समा उमर अब्दुल्लालिज अल खान नेतृत्वको टोलीसँग फलदायी भेट भएको जनाएको छ । उमरले नेपालसँग गरेको यो पहिलो व्यापारिक प्रतिनिधिमण्डलको भेट भएको र यो पहिलो बैठक भए पनि दुबई चेम्बरले अन्य सरकारी संस्थासँग जोड्न र युएईमा रहेका नेपाली कामदारको सीप विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए । सो भेटघाटमा युएईमा फलफूल तथा तरकारी निर्यात गर्ने सम्बन्धमा नियमावलीमा स्पष्टता दिन सहयोग गर्ने, जसले व्यापार बढाउने सहमति गरेको छ । भ्रमणका क्रममो संघले आरएके चेम्बरसँग विस्तृत व्यापारिक छलफल गरेको छ । जुन रास अल खैमाह र नेपाल बीचको व्यापारिक सम्बन्ध बढाउने उद्देश्यका साथ समझदारी पत्रमा हस्ताक्षर भएको थियो । आरएके चेम्बरले नेपाललाई मार्चमा हुने प्रदर्शनीमा नेपाली व्यवसायीलाई स्टल उपलब्ध गराउने भएको छ । उनीहरुले ¥याक र नेपालबीच व्यावसायिक उडान पुनः सुरु गर्न इच्छुक रहेको र कृषि अवसरमा निकै चासो देखाएका छन् । संघको प्रतिनिधिमण्डलले युएईस्थित नेपाली दूतावासबीचको घनिष्ठ सहकार्यबाट नेपाल र युएईबीचको व्यापार र व्यापार कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको छ । नेपाल युएई चेम्बरले दूबईस्थित नेपाली राजदूतलाई नेपाल र युएईबीचको व्यापारिक सम्बन्ध बढाउन जिम्मेवार दूतावासमा समर्पित व्यक्ति उपलब्ध गराउन अनुरोध गरेको छ । दूतावासले हामीलाई उनीहरूको पूर्ण सहयोगको आश्वासन दिएको छ र छिट्टै यूएईमा आधारित व्यवसायहरू र हाम्रा सदस्यहरू बीच अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । संघले फेडरेसन अफ यूएई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीजसँग पनि छलफल गरेको थियो । फेडरेसनका महासचिव हमिद बीन सलेम र इकोनोमिक डेभलपमेन्ट निर्देशक अहमद जमाह अल गाइजीसँग भएको भेटमा दुबै देशहरू बीचको व्यापारिक सम्बन्ध बढाउनमा धेरै फलदायी छलफल भएको संघ अध्यक्ष अग्रवालले बताए । उनीहरुले उपलब्ध व्यवसायिक अवसरहरुको खोजी गर्न नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् । चार दिने दुबई भ्रमणमा संघको तर्फबाट अध्यक्ष अग्रवालसहित उपाध्यक्ष जीवन भण्डारी तथा कार्यसमिति सदस्यहरु निशान राजभण्डारी, अनोज रिमाल र समिर थापा सहभागी थिए । यस्तै, भ्रमण टोलीमा संघका सदस्यहरु शिवप्रसाद घिमिरे, सुदीप घिमिरे, विमलकुमार सवार्थिया, रमिन्द्र न्यौपाने, अञ्जन भण्डारी, विनय उपाध्याय, विजयकुमार चौधरी र सुनिलभक्त श्रेष्ठ सहभागी थिए ।
Tags: