समाजसेवी निता

Image
काठमाडौं– २०७२ को महाभुकम्पले मुलुक तहसनहस भएको थियो। यसमा पनि १४ जिल्ला अति प्रभावित जिल्ला थिए। दोलखा जिल्ला पनि तिनै अति प्रभावित मध्ये एक थियो। भुकम्पका कारण नागरिकले घरबास गुमाएका थिए, खाद्यान्न संकट थियो । स्वास्थ्यमा समस्या देखिएका थिए। त्यो अफ्ठ्यारो अवस्थामा विभिन्न व्यक्ति तथा सहयोगी संघसंस्थाले आवश्यक राहत तथा सहयोगको हात बढाएका थिए, तिनै मध्येकी एक थिइन् –निता राउत । त्यस बेला दोलखा जिल्लाको विभिन्न स्थानमा विशेष गरि महिलाहरूको लागि स्यानेटरी प्याड, अत्यावश्यक औषधि र विभिन्न संस्थासँग मिलेर खाद्यान्नको सामाग्री वितरण गरेर सामाजिक सेवामा निताले आफूलाई सामाजिक काममा संलग्न गराइन्। सानै उमेर देखि समाजसेवामा रुची राख्दै आएकी निताले एउटा कार्यक्रममा उनले सरिता गुरुङ फाउन्डेसनकी अध्यक्ष सरिता गुरुङलाई भेटिन्। उनले लामो समय देखि समाज सेवामा सक्रिय रुपमा लागि परेकी थिइन्। समाजसेवी गुरुङको राम्रो कामले उनलाई पनि समाजसेवामा आकर्षित बनायो । उनले भनिन्, ‘सरिता दिदीको प्रेरणा र भुकम्पमा गरिएको सानो प्रयासले उर्जा थप्यो, त्यस पछिका २ वर्षसम्म विभिन्न रोगसँग लडिरहनुभएको व्यक्तिहरूलाई आर्थिक सहयोग साथै देशमा आएको प्राकृतिक प्रकोपको समयमा देशका विभिन्न जिल्लामा सामाजिक सञ्जाल फेसबुक अभियान चलाएर आर्थिक संकलन गरि सहयोग गरें’ । समाजसेवालाई निरन्तरता दिनको लागि उनले कामलाई संस्थागत गराउने प्रयास गरिन्। त्यसको लागि २०७४ मा ‘निता राउत फाउण्डेशन’ नामक संस्था विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय दोलखामा संस्था दर्ता गरि त्यही संस्था मार्फत देशभरि विभिन्न सामाजिक कार्य गर्दै आईरहेकी छिन्। संस्था दर्ता गरेसँगै समाजसेवामा उनको सक्रियता झनै बढेको छ। सहयोगको लागि आवश्यक पर्ने रकमको लागि उनी आफ्नो जागिरबाट आउने तलबको २० प्रतिशत छ्ट्याउने गरेकी छिन्। ‘मसँग ठुलो फन्ड छैन मेरो आफ्नो तलबबाट २० प्रतिशत फाउन्डेशनको लागि छुट्याउने गरेको छु र कुनै ठुलो सहयोग जुट्याउनु प¥यो भने विभिन्न संघसंस्थासँग सहकार्य गरेर सहयोग गर्ने गरेको छु । यही संकलनबाट नै मैले आफ्नो कामहरू अगाडि बढाइरहेको छु’ उनले भनिन्। निता राउत फाउन्डेशनले विशेष गरि दुर्गम जिल्लामा रहेको आर्थिक अवस्था कमजोर सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि स्कुल व्याग, पोशाक र स्टेशनरी सामानहरू वितरण गर्दै आइरहेको छ । फाउन्डेसनको सहयोग तराई देखि हिमाली जिल्लामा समेत पुगेको छ। यो कार्यक्रम अन्र्तगत बाजुराको गौमुल गाउँपालिका ३ मा रहेको थुमथला आधारभुत विद्यालयका ९० जना विद्यार्थीको लागि स्कुल व्याग र स्टेशनरी, अछाम जिल्लाको जिल्लाको तुर्माखाद गाउँपालिका मा रहेको बुद्ध शान्ति आधारभुत विद्यालयमा अध्ययनरत सय जना विद्यार्थी, इटहरी वडा नं। १६ मुसहर बस्तिको ७६ जना बालबालिकाको लागि स्वेटर, मोजा र टोपी पाएकाछन्। त्यस्तै सिन्धुली जिल्लाको दुधौली नगरपालिका ४ मा रहेको सरस्वती माध्यमिक विद्यालयका १२० विद्यार्थीको लागि विद्यालयका पोशाक र झोला, दोलखा जिल्लाको भीमेश्वर बहिरा प्राथमिक विद्यालयको ४१ विद्यार्थीको लागि स्कुल जुत्ता र मोजा, भीमेश्वर नगरपालिका ५ मा रहेको विसुन्टोल आधारभुत विद्यालयको २० बालबालिको लागि स्कुल स्वीटर र टोपी , भीमेश्वर नगरपालिका ५ मै रहेको बुढाभीमसेन माध्यमिक विद्यालयका ९० जना बालबालिकाको लागि स्कुल व्याग वितरण गरेको छ । निता आफैले १ जना विपन्न बालिकाको अभिभावकत्व ग्रहण गरेकी छिन्। शिक्षाको अतिरिक्त अन्य सामाजिक सहयोगमा समेत फाउन्डेसनले काम गर्दै आइरहेको छ। यही प्रयास स्वरुप वृद्धवृद्धाहरू तथा विपन्नको लागि जाडोमा न्यानो कपडा वितरण गर्ने कामलाई निरन्तरता दिइरहेको छ। निताका अनुसार कार्यक्रम अन्तर्गत अहिले सम्म दोलखा जिल्लाको तामाकोशी गाउँपालिका १ भीरकोटमा बसोबास गर्ने सिमान्तकृत माझी समुदायको १३६ जना ज्येष्ठ नागरिकलाई ज्याकेट, जिल्लाको गौरीशंकर गाउँपालिका ८ मा रहेको २२ घर परिवारलाई डस्ना सिरक साथै खाद्यान्न सामाग्री, सुनसरी जिल्लाको इटहरी १६ मा अवस्थित मुसहर बस्तिका ४५ घर धुरीलाई सिरक, म्याट्रेस र दोलखाको भीमेश्वर नगरपालिका २ स्थित २० भुमिहिनलाई व्ल्याङकेट वितरण गरिएको छ । ‘यो बाहेक पछिल्लो समय विश्वव्यापी महामारी रुप्मा देखको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले घोषणा गरेका लकडाउनको समयमा ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदुरहरूको लागि अभियान नै चलाएर राउत फाउण्डेशनले सहयोग गरेको थियो । लकडाउनको समयमा करिब ८० घर परिवार र २ बालगृहलाई खाद्यान्न सामाग्री वितरण गरेको छ’ उनले भनिन्। त्यस्तै कोरोना संक्रमित बिरामीको उपचारको लागी दोलखाको २ वटा सरकारी अस्पतालमा औषधि वितरण गरेको निताले बताइन् । फाउन्डेसनले भर्खरै मात्र सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढीपहिरो पीडितलाई २०० थान सोलार लाईट, स्यानेटरी प्याड र अत्यावाश्यक औषधी वितरण गरेको छ। यस्तै दोेलखाको कालिञ्चोक गाउँपालिका ५ लापिलाङ स्थित पहिरो पीडितको लागि २० घर परिवारलाई जस्तापाता समेत वितरण गरेको छ । यसैगरी एचआइभी संक्रमित बालबालिका, दृष्टविहीन र अपांगताभएको बालबालिकालाई समेत सहयोग गरिसेकेको छ । यसको साथ साथै विभिन्न स्थानमा चेतनामुलक कार्यक्रम पनि गर्दै आईरहेको छ । फाउन्डेसन मार्फत सहयोगी हात खोजी सहयोगको अभियान जारी राखेकी निता देश तथा विदेशमा सामाजिक कार्य वापत विभिन्न सम्मान मार्फत सम्मानित भएकी छिन्। मलेसियमा सामाजिक कार्य वापत युथ इन्सपीरेशन सोसल वर्कर एक्सीलेन्सी अवार्ड, नेशनल सोसल वेयलफेयर अवार्ड अन्तर्गत एक्सेलेन्स कन्ट्रिव्युसन अवार्ड जिल्ला स्तरीय युवाप्रतिभा तथा उद्यमी खोजी र प्रोत्साहन कार्यक्रम अन्तर्गत समाज सेवा तथा स्वयम् सेवाविद्यामा सम्मान पाउन सफल भएको उनले बताइन्। उनलाई अहिले आफ्ना साना साना प्रयासले प्रेरणा दिएको छ । ‘म अहिले गर्दै आएको सहयोगको निरन्तरतामा ब्रेक लगाउन चाहान्न, सानो सहयोग नै होस् तर जसले सहयोग पाएकाछन् तिनको अनुहारमा देखिएको खुसीले थप जिम्मेवार बनाएको छ ।’
Tags: