मतदाताले मलाई प्रधानमन्त्री बनेको देख्न चाहेकाछन् : नेता सिंह

Image
काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का मतदाताले आफूलाई सरकारको नम्बर वान बनेको हेर्न चाहेको बताएका छन् । नम्बर वान बनेको हेर्न चाहेको भन्दै उनले प्रधानमन्त्री तर्फ संकेत गरेका हुन् । सोमबार बिहान काठमाडौं महानगरपालिकाको वडा नं. २९ को घरदैलो कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले सो कुरा बताएका हुन् । ‘यो क्षेत्रका जनताले मलाई सरकारको नम्वर वान म्यान बनेको हेर्ने चाहना छ भनेका छन्,’ सिंहले भने । जनताको चाहना पूरा गर्न आफू प्रयासरत रहेको पनि उनले बताए । आफूले क्षेत्र नं. १ मा धेरै विकासका काम गरेको भन्दै उनले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने बताएका छन् । अहिलेको अर्थतन्त्रको संकट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायीत्व रहने भन्दै उनले त्यसका लागि आफूले पहल गर्ने बताए । विगतमा राजनीतिक अस्थीरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै उनले अब आफ्नो सम्पूर्ण ध्यान स्थायीत्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए । मुलुक विशिष्ट परिस्थितिबाट गुज्रिरहेको भन्दै उनले अग्रगमनको पक्षमा कि प्रतिगमनको पक्षमा मत दिने भनेर विचार पुर्याउन आह्वानसमेत गरे ।
Tags: