राजधानी तोक्ने विषय मजाकको विषय होइन : महासचिव पोखरेल

Image
दाङ– नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं। २ का उम्मेदवार शङ्कर पोखरेलले प्रदेशको राजधानीको विषय कुनै मजाकको विषय नभएको बताएकाछन् । उनले राजधानी पटक–पटक तोक्न नमिल्ने भन्दै बुटवलमा प्रदेश राजधानी फिर्ता गर्ने चर्चाको खण्डन गरेका हुन् । एमाले उपाध्यक्ष समेत रहेका रुपन्देही क्षेत्र नं २ का एमाले उम्मेदवार विष्णु पौडेलले एक चुनावी सभामा राजधानी बुटवलमै रहने भन्दै चकले लेखेकको अक्षर डस्टरले मेट्ने बताएका थिए । महासचिव पोखरेलले प्रदेशको राजधानी कहाँ रहने भनेर प्रदेशसभाले टुङ्गो लगाइसकेकाले अहिले व्यक्तिले के बोल्छ, त्यसको अर्थ नहुने बताए। ‘संविधानले प्रदेशको राजधानी एकपटक तोक्ने व्यवस्था गरेको छ । त्यो अनरूप लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा तोक्ने काम प्रदेशसभाले गरिसकेको छ’, घोराही उपमहानगरपालिका १३ मा मतदातासँगको भेटघाट कार्यक्रममा एमाले महासचिवसमेत रहनुभएका पोखरेलले भने, ‘प्रदेशसभाले तोकेको राजधानीलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’ उनले राजधानी कार्यान्वयनको लागि आफू मुख्यमन्त्री भएको बेला योजनाहरू अघि सारेकाले स्थायी राजधानीमा धेरै काम भइसकेको समेत बताए । ‘हामीले राजधानी कार्यान्वयनको लागि योजना ल्याएका थियौँ’, उम्मेदवार पोखरेलले भने, ‘तर अहिलेको सरकारले त्यसलाई कार्यान्वयन गर्न सकिरहेको छैन ।’  
Tags: