काठमाडौं ६ मा रोचक प्रतिस्पर्धा : सेफ भर्सेस ट्रायल
काठमाडौं – १० क्षेत्रमध्ये काठमाडौं ६ लाई एमाले र कांग्रेसले भिन्न रुपले हेर्ने गरेका छन् । उक्त क्षेत्रलाई कांग्रेसले ‘सुरक्षित’ ठानेको छ भने एमालेले ‘ट्रायल’ क्षेत्रका रुपमा बुझ्ने गरेको छ । मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचन नजिकिंदै गर्दा मुख्य प्रतिस्पर्धी मानिएका सत्तारुढ गठबन्धन आबद्ध दल र नेकपा एमालेले चुनावी अभियानलाई तिब्रता दिएका छन् ।
सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सादगी नेता तथा पूर्वरक्षामन्त्री भीमसेन दास प्रधान ‘ह्याट्रीक’ गर्न र केही साता अघि मात्र एमालेमा प्रवेश गरेका पूर्व आईजिपी सर्वेन्द्र खनाल ‘ट्रायल उम्मेदवार’का रुपमा मतदाताको घरदैलो पुगिरहेका छन् । त्यसैले उक्त क्षेत्रमा यस पटक रोचक प्रतिस्पर्धा हुने निश्चित छ । दुई दशकदेखि सक्रिय राजनीतिमा रहेका काठमाडौंका रैथाने प्रधान र तनहुँमा जन्मिएर २६औं आईजीपीको फूली लगाएर अवकास लिएका खनालबीचको प्रतिस्पर्धा यसै पनि रोमान्चक हुने अनुमान गरिएको छ ।
अझ रोचक त के छ भने सोही क्षेत्रबाट दुई पटक प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका प्रधान आफ्ना हरेक मतदातासँग चिरपरिचित छन् । आफ्नो क्षेत्रभित्रका चोक–चौतारा, मठ–मन्दिर, चैत–गुम्बा, चर्च–मस्जिद, गल्ली, टोल मात्र होइन हरेक घरका दैला र भर्याङको आकारप्रकार छामेका छन् । सडकहरुको नाप, ढुंगेधाराहरुको संख्या कन्ठस्त गरेका छन् । तर मुख्य प्रतिस्पर्धीका रुपमा आएका खनाल खासै परिचित चैनन् । खनाल मतदातासँग घुलमिल हुनै पाएका छैनन् । चारभाग मध्ये एकभाग पनि टोलको फन्को लगाउन भ्याएका छैनन् । यद्यपी, आफ्नो चुनावी अभियानलाई भने चर्काएका छन् ।
हुनत उक्त क्षेत्रबाट राप्रपाबाट गायक सञ्जय श्रेष्ठ, निर्देश सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पनि घरदैलोमा व्यस्त छन् । त्यो भन्दा पनि पूर्वरक्षामन्त्री प्रधान र पूर्वआईजीपी खनालबीचको प्रतिस्पर्धालाई निकै महत्वका साथ हेरिएको छ । प्राध्यापन पेशा त्यागेर राजनीतिमा होमिएका प्रधान र सरकारी जागिरबाट रिटायर्ड भएर फुर्सदको समय सदुपयोग गर्न आएका खनालको प्रतिस्पर्धालाई कतिपय विश्लेषकले प्रतिस्पर्धा नै ठानेका छैनन् । त्यसैले त खनाल भन्छन्,‘म हार–जितका लागि आएको होइन । सत्तारुढ गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ लैजान लागेकाले जोगाउन आएको हुँ ।’ प्रधानले पनि खनालको उम्मेदवारीलाई अराजनीतिक भनेका छन् । अराजनीतिक उम्मेदवारसँग आफ्नो प्रतिस्पर्धा नै नहुने प्रधानको दाबी छ ।
दागी भर्सेस सादगी
प्रहरी सेवामा रहँदा खनालले गरेका कामहरू जीवनमा नमेटिने दाग बनेर बसेका छन् । जसलाई विपक्षीले चुनावी मसला बनाएका छन् । उनलाई दागी उम्मेदवार भनेर प्रचार गरिरहेका छन् । भलै, खनालले भने प्रहरी सेवामा रहँदा लोकप्रिय काम गरेको, भ्रष्टाचारीलाई कठघरमा उभ्याएको र गुन्डाहरुलाई तह लगाएको भन्दै मत मागिरहेका छन् ।
तर उनकै कार्यकालनमा विर्सनै नसिकिने निर्मम घटनाहरु भएका छन् । उनको कार्यकालमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको र सो घटनाको सत्यतथ्य पत्ता लगाउन नसकेको, सर्लाहीमा कुमार पौडेललाई इन्काउन्टरको नाममा नियन्त्रणमा लिएर हत्या गरेको भन्दै खनालविरुद्ध सरकारी वकिलको कार्यालय सर्लाहीमा उजुरी दर्ता भएको, ‘सांसद अपहरण’ काण्डमा मुछिएको भनी प्रचार गरिएको छ । त्यतिमात्र नभइ आफैं निर्वाचन लडेको सामाखुशी कपुरधारा क्षेत्रमा कुमार श्रेष्ठ (घैंटे)लाई खनालकै निर्देशनमा फेक इन्काउटर गरी हत्या गरेको आरोप छ । जसका कारण युवा मतदाता उनीसँग सन्तुष्ट छैनन् ।
सामान्य जीवनयापन गरिरहेका प्रधान भने सादगी नेताका रुपमा परिचित छन् । बर्षौंदेखि उनी मतदाताको सारोगारो, दुख–विमार, आपत विपत, जन्ती–मलामी पुगिरहने गरेकाले प्रिय छन् । २०३६ सालमा विद्यार्थी राजनीति र २०४८ देखि नै काग्रेसको सक्रिय भूमिकामा रहेका प्रधानले २०७० सालमा एमालेका योगेश भट्टराई र २०७४ सालको चुनावमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका थिए । उनी भन्छन्,‘राजनीति लागेर धेरै साथीहरुले आर्थिक उन्नती गरे । मैंले राजनीतिलाई सेवा ठानें । छँदाछँदैको प्राध्यापन पेशा त्यागे र जनताको सेवामा समर्पित भएँ । मेरो क्षेत्रका जनताका लागि जानेर केहीपनि बेइमान गरेको छैन । हैसियतले भ्याएसम्म सेवा गरेको छु । जीवनको उत्तार्धमा आएर म बेइमानी गरेर देह त्याग गर्न चाहन्न ।’
प्रधान सदन चलेको दिन र पार्टीको महत्वपूर्ण काममा व्यस्त हुनुबाहेक हरेक दिन आफ्ना मतदाताको घरदैलोमा पुग्ने गरेको बताउँछन । दुई कार्यकाल सांसद रहँदा ठूला राष्ट्रिय मुद्दाहरु उठाएर आफ्नो क्षेत्रको नाम र इज्जत राखेको दाबी गर्र्छन । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको गुठी विधेयकको विरुद्ध जागरण अभियान ल्याएर सरकारलाई घुँडा टेकाउन सफल भएको, खुलामञ्च खाली गर्न र अवैध ढंगले बनाएका सटर हटाउन, कंक्रिटको रानीपोखरी बनाउने काम रोकेर पुरातात्विक ढंगले मल्लकालीन रानीपोखरी बनाउन आफूले महत्वपूर्ण योगदान गरेको सुनाउँछन् । त्यसबाहेक आफ्नो निर्वाचन क्षेत्रमा ठूला आयोजनाहरु भित्र्याउन भूमिका खेलेको उनको दाबी छ ।
प्रधानले एमाले अध्यक्ष ओलीले संविधान मिच्ने काम गरेकोले त्यसलाई सही मार्गमा ल्याउन सत्ता गठबन्धनको आवश्यकता परेको बताउँदै संविधान रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन पनि आग्रह गरेका छन् । उनले ‘जनताको जिम्मेवारी, जनतालाई जनाधिकार, जनताप्रति जवाफदेहिता’ नारा अघि सारेका छन् ।
खनाल एमालेका लागि परीक्षण मात्र
एमालेले काठमाडौं ६ लाई आफ्नो सुरक्षित क्षेत्रका रुपमा स्वीकारेको छैन । त्यसैले टेस्टका लागि सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएपछि सोही क्षेत्रमा रैथाने एमालेका नेताहरु सन्तुष्ट छैनन् । उक्त क्षेत्रमा एमालेबाट योग्य र सक्षम उम्मेदवारहरु हुँदाहुँदै खनाललाई टिकट दिएपछि एमालेभित्र भाँडभैलो मच्चिएको छ । प्रहरी सेवामा रहँदा कुशल प्रशासक, गुण्डा, तस्कर, भ्रष्टाचारी, माफिया, दलाल र अपराधीहरूलाई दण्डित गर्न कुनै कसुर नराखेका उम्मेदवार भनेर उनलाई प्रचार गरिए पनि मतदाताले त्यसलाई स्वीकार्न सकिरहेका छैनन् । उनको विवादित छवीका बारे सामाजिक संजालमा छरपष्ट भएपछि मतदाताको मनोविज्ञान बदलिएको छ । त्यतिमात्र नभइ राजनीतिमा त्याग गरेका नेतालाई टिकट नदिएर पूर्व प्रशासकलाई उम्मेदवार बनाइएपछि एमालेका प्रतिबद्ध कार्यकर्ताहरुमा निराशा छाएको छ ।
मतको अंकगणित
गत बैशाखमा भएको स्थानीय तहको मतलाई आधार मानेर विश्लेषण गर्ने हो भने उक्त क्षेत्र कांग्रेस बलियो देखिन्छ । स्थानीय तहमा नेपाली कांग्रेसले १६ हजार ४ सय ७९ मत पाएको थियो भने नेकपा एमालेले १३ हजार ४ सय ४५ मत ल्याएको थियो । माओवादी केन्द्रले २ हजार ३ सय ३९, एकीकृत समाजवादीले १ हजार ७ सय ५२, राप्रपाले १ हजार ७ सय ४६ मत ल्याएको थियो ।
काठमाडौं महानगरपालिकाका २६, २७ र २८ नम्बर वडा, तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ नम्बर वडा तथा टोखा नगरपालिाकाका १, ८, ९, १० र ११ नम्बर वडाहरु समावेश छन् ।
काठमाडौं महानगरपालिकाको उपमेहर भइसकेकी हरिप्रभा खड्की प्रदेश सभा(क)र प्रदेश (ख)का सत्ता गठबन्धनका विष्णुभक्त तिमिल्सिना जस्ता प्रभावसाली उम्मेदवार रहेकाले प्रधानसहितको गठबन्धनको टीमले विजयी हाँसिल गर्ने आकंलन गरिएको छ ।