बाख्रा स्रोत केन्द्र स्थापना

Image
दैलेख– युवालाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले भगवती गाउँपालिकाले बाख्रा स्रोत केन्द्र स्थापना गरेको छ । गाउँपालिका र प्रदेश सरकारको लगानीमा बाख्रा स्रोत केन्द्र निर्माण गरी व्यावसायिक बाख्रापालन गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले युवालाई स्वदेशमै रोजगारी लगाउने उद्देश्यले गाउँपालिकाले बाख्रा स्रोत केन्द्र निर्माण गरी व्यावसायिक बाख्रापालन गरिरहेको बताए । उनले बाख्रा स्रोत केन्द्रमा एक जना पशु प्राविधिकसहित तीन जनालाई रोजगारीसमेत दिएको जानकारी दिए । उनले हावापानी पनि राम्रो भएका कारण पशुपालन र कृषिमा बढी जोड दिएर गाउँपालिकावासीको आयआर्जनमा टेवा पु(याइरहेको बताए । यो स्रोत केन्द्र र व्यावसायिक बाख्रापालनमा प्रदेश सरकारले जम्मा एक करोड १५ लाख रुपियाँ र गाउँपालिकाले ७५ लाख रुपियाँ लगानी गरेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्टले स्रोत केन्द्रले उत्पादन दिन थालेको जानकारी दिए । बाख्रा स्रोत केन्द्रका पशु प्राविधिक विमल थापाले बाख्रा स्रोत केन्द्रमा ११५ बाख्रा रहेको बताए । यहाँ स्थानीय र बोयर जातका बाख्रा रहेका छन् । पहिलो चरणमा दुईवटा खोर निर्माण गरी ५०र५० वटा बाख्रा राखिएकामा अहिले ११५ वटा पुगेका छन् । गाउँपालिकाले खसी, बाख्रा वितरणका लागि आवश्यक रकमसमेत तोकेको हुँदा सोहिबामोजिम बिक्री गरिने उनको भनाइ छ ।
Tags: