गठबन्धन स्वार्थहरूको गठजोड : ओली

Image
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनबाट देश विकास नहुने बताएका छन् । शनिबार डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थहरूको गठजोड भएको भन्दै यसबाट केही अपेक्षा गर्न नसकिने बताएका हुन् । उनले नेकपा एमाले देश बनाउने पार्टी भएकाले एमालेले नै हो देशको समस्या समाधान गर्ने बताए । उनले गठबन्धन दलका घोषणापत्रबाट उनीहरु विकासमा अलमलिएको स्पष्ट भएको बताए । उनले भने, ‘कांग्रेस, माओवादी, एकीकृत समाजवादी पार्टीको घोषणापत्र हेर्नुभयो होला नि केही भन्छन् संघीयता चाहिँदैन, कोही भन्छन् प्रत्यक्ष निर्वाचीत राष्ट्रपति। चुनाव पछि के गर्लान भन्नुस् त ?’ अध्यक्ष ओलीले नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई डोटीबाट टिकट नपाएकोप्रति व्यङ्ग्य गरे । उनले भने, ‘नेपाली कांग्रेसका उम्मेदवार, जो नेपाली कांग्रेसको राजनीति जिन्दगीभरी गरेर आए। तिनलाई तल कैलालीतिर । कैलालीमा गएर के गर्नेरु थारु गाउँमा, थारु भाषा आउँछ ? त्यो जित्न पठाएको हो र ? गलहत्याएर ओरालो तिर बगाइदिए ।’ उनले नेकपा एमालेलाई मतदान गरे मात्र देशको विकास हुने बताए। उनले पश्चिम सेतीजस्ता आयोजना र स्तरीय उपचार पाउने अस्पतालको विकास एमाले नेतृत्वको सरकारले मात्र गर्न सक्ने दाबी गरे । अध्यक्ष ओलीले नाकाबन्दीको सामना आफू एक्लैले नभई सम्पूर्ण नेपाली जनताले गरेको बताए। यस्तै संविधान संशोधन पनि आफू एक्लैले नभई सबै सांसदहरुले गरेको उल्लेख गरे।  
Tags: