काभ्रे २ : हुमागाई र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा

Image
– राजकुमार पराजुली
काभ्रेपलाञ्चोक – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ । चुनाव नकिजिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार–प्रसार बढ्दै गएको छ । यस निर्वाचन क्षेत्रमा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाई र नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटाबीच हुने अनुमान गरिएको छ । दुबै प्रतिस्पर्धी आ–आफ्नै शैलीमा प्रचार–प्रसारमा होमिएका छन् । दुवै पक्षले मतदाता आकर्षित गर्नका लागि मतदाताका घरदैलोमै पुगेर भेटघाट गर्न थालेका छन् । बाँस्कोटा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निकट मानिन्छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहिसकेका बाँस्कोटाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ । उनका प्रतिस्पर्धी काङ्ग्रेसका शिवप्रसाद हुमागाई २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने संविधानसभा निर्वाचन २०६४ र २०७० मा पराजित भएका थिए । साथै, अघिल्लो निर्वाचनमा विश्राम लिएका थिए । हुमागाई र बाँस्कोटालाई दुबै जिल्लामा ‘हेभिवेट’ उम्मेदवारका रूपमा लिइएको छ । हुमागाई र बाँस्कोटाले जिल्लामा पार्टीको नेतृत्व गरेको र केन्द्र र जिल्लामा राम्रो जनसम्पर्क रहेकाले यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान मतदाताबीच छ । २०३६ मा भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका गठबन्धनका उम्मेदवार हुमागाईँ पार्टीका विभिन्न भातृ सङ्गठन हुँदै चारपटक पार्टीको जिल्ला नेतृत्व एवं एकपटक केन्द्रीय सदस्यको नेतृत्व गरेका थिए । विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गरेका बाँस्कोटा पार्टीका विभिन्न भातृ सङ्गठन तथा पार्टीको विभिन्न तह हुँदै पार्टीको जिल्ला नेतृत्व गर्दै हाल पार्टीको पोलिटब्यूरो सदस्य हुन् । २०७० को संविधानसभा सदस्यमा काङ्ग्रेसका उम्मेदवार कञ्चनचन्द्र बादे श्रेष्ठसँग पराजित बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काङ्ग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गरी मन्त्रीसमेत भएका थिए । अघिल्लो निर्वाचनमा २२ हजार मतान्तरले विजयी भएका बाँस्कोटाको बिरासत तोड्न गठबन्धन दल चुनावी रणनीति बनाएर अघि बढेको छ । हुमागाईलाई बाँस्कोटाकै गृहनगर मण्डनदेउपरका गठबन्धन दलअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, पूर्वसांसद विदुरप्रसाद सापकोटासमेतको साथ छ । प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री सूर्यमान दोङ र एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री रेशम लामाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान मतदाताबीच छ । २०४४ मा नेकपा (मसाल)बाट राजनीतिक यात्रा सुरु गरेका दोङ तत्कालीन नेकपा माओवादीको दशवर्षे सशस्त्र युद्धमा सहभागी हुँदै पार्टीका विभिन्न तहको नेतृत्व गरेका थिए । यस्तै विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा दोङले कांग्रेसका मधुप्रसाद आचार्य र एमालेका सङ्ग्रामजीत लामालाई पराजित गर्दै निर्वाचित भएका थिए । दोङ २०७० को संविधानसभा सदस्य निर्वाचनमा भने नेपाली कांग्रेसका तीर्थ लामासँग पराजित हुनुप¥यो । यसैगरी विसं २०४७ देखि विद्यार्थी सङ्गठनबाट राजनीति प्रारम्भ गरेका लामालाई एमालेले गठबन्धनका उम्मेदवार दोङसँग प्रतिस्पर्धामा उतारेको हो । राप्रपा, राप्रपा नेपालको विभिन्न तहको नेतृत्व गर्दै २०७० को संविधानसभा सदस्य निर्वाचनमा राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका लामा केही वर्षअघि मात्रै एमाले प्रवेश गरेका हुन् । उक्त प्रतिनिधिसभा क्षेत्रमा पाँच स्वतन्त्रसहित १७ उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छ । प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा क्षेत्र (१) र (२) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रत्न ढकाल र कांग्रेसका तीर्थ लामा छन् । उनीहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका दिलीप लामा र चन्द्र लामा छन् । यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र (१) र (२) मा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण लम्साल र कांग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठ छन् । उनीहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेल र कुमार थापा रहेकाछन् । काभ्रेपलाञ्चोकमा छ पदका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएकाछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन् । जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कुल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने छन् । एक सय ९० वटा मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।
Tags: