इलाममा नेम्वाङमाथि खड्काको टक्कर, उल्टिएला परिणाम ?

Image
इलाम – असोज २४ गते दलबलसहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुग्दा सुवासचन्द्र नेम्बाङको मुहारमा चमक थिएन । मलिन र शान्त देखिएका नेम्बाङ इलाम–२ बाट पाँचौ पटक उम्मेदवारी दर्ता गरिरहँदा शंसकित थिए । पहिलो कारण, उनीविरुद्ध सामाजिक संजाल उर्लिएको थियो । हिलाम्मे सडकको तस्वीर पोष्ट गर्दै ‘नेम्वाङ हराउ अभियान’ चर्किएको थियो । यो अभियान अझै निरन्तर छ र भित्रभित्रै भाइरल भइरहेको छ । दोस्रो कारण, उनी यस पटक नयाँ अनुहारहरुसँग प्रतिस्पर्धामा थिए । शालिन र भद्र स्वभाव साथै नम्र बोलेर मतदाता प्रभावित गर्दै आएका उनीमाथि दर्जनौं चुनौतिहरु थपिदै थिए । दुई पटक संसद विघटनको साक्षी बसेर पाँच बर्षमा ‘वाली’ उठाउन आएको भनेर उनीमाथि मतदाताको आक्रोश चुलिंदो छ । उम्मेदवारी दर्तासँगै चुनावी अभियानमा होमिएका एमाले उपाध्यक्ष एवम संविधान सभा अध्यक्ष नेम्वाङले हरेक चुनावी सभामा उत्साहजनक भाषण गर्न सकिरहेका छैनन । २३ बर्षमा भएका अधुरा कामहरुको फेहरिस्ती र प्रष्टीकरणमा उनको भाषणबाजी चलिरहेको छ । यद्यपी, पाँचौ पटक विजयी हुने उद्देश्यसहित उनी घरदैलोमा पुगिरहेका छन् । मतदाता हौस्याइरहेका छन् । ‘हेभीवेट’को गरिमा कायम राख्न उनी कम्मर कसेर लागेका छन् । यस पटक नेम्बाङका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का चुनौति बनेर खडा भएका छन् । कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा विजयी भएका खड्का नेम्बाङका लागि विल्कुल नयाँ अनुहार हुन । साथै इलाम क्षेत्र नम्बर २ मा खड्काको सामाजिक गतिविधि र आक्रामक चुनावी प्रचार नेम्वाङका लागि भारी बनिरहेको छ । इलामका दुर्गम गाउँहरुलाई आफैंले माथि उकासेको दाबी गरिरहेका नेम्वाङका लागि यस पटकको चुनाव विगतको जस्तो सहज देखिदैन । आफ्ना पुराना र नियमित मतदान गर्दै आइरहेका मतदाताहरु नेम्वाङप्रति खुशी छैनन् । किनकी प्रतिस्पर्धीहरुले उनले अधुरै छाडेका दर्जनौं विकासे योजनाहरुलाई चुनावी मसला बनाइरहेका छन् । जसका कारण मतदाताको मनोविज्ञान परिवर्तन भइरहेको छ । मतदाता विकल्प खोजिरहेका छन् । उत्साहित खड्का निर्माण व्यवसाय र राजनीतिलाई सँगै अघि बढाइरहेका डम्बर खड्का इलामका स्थायी बासिन्दा हुन । उनी नियमित जिल्लामै बस्छन् । तर सुवास नेम्वाङ केन्द्रीय राजनीतिमा व्यस्त हुने भएकाले जिल्लामा समय दिन भ्याउँदैनन । जिल्लामा बसेर खड्का संगठन विस्तार मात्र गरिरहेका छैनन, दुःख–विमार, आपत–विपत, मेला–महोत्सवमा आर्थिक सहयोग बोकेर गाउँ गाउँ पुगिरहेका छन् । जसका कारण मतदाता उनीसँग प्रत्यक्ष जोडिएका छन् । खड्का भन्छन्,‘सबै पार्टीसँग आस्था राख्ने इलामेली जनताको सुखदुखमा म सँधै सँगै छु । मेरो सक्रियतालाई देखेर हजारौं इलामे जनताले कांग्रेस रोजेका छन् । जिल्लाका लागि सिन्को नभाचेका नेम्वाङलाई यस पटक इलामेली मतदाताले विदा दिनेछन् । यो निश्चित छ ।’ खड्काले भनेजस्तै ठ्याक्कै त नहोला तर नेम्वाङप्रति एकखालको वितृष्णा पैदा भएको छ । यद्यपी, कांग्रेसका जिल्लास्तरीय नेताहरुलाई सँगै चुनावी अभियानमा हिंडाउन खड्काका लागि चुनौति देखिन्छ । नेम्वाङलाई थपिएको चुनौति हुनत नेम्वाङले काम गरेर भन्दा पनि पैसा बाँडेर चुनाव जित्ने गरेको आरोप लाग्ने गर्छ । सत्ता र शक्तिको आडमा मतदान हुने अघिका केही रात उनका सहयोगीहरु ब्रिफकेसमा पैसा बोकेर मतदातालाई बाँड्न हिंडदैगर्दा आफुहरुले पक्राउ गरेको कांग्रेसका कार्यकर्ताहरु खुलमखुल्ला सुनाउने गर्छन । तर मतदाता किनेको प्रष्ट आधार नभए पनि इलाम २ मा २०५६ साल यता नेम्वाङले पराजय ब्यहोर्नु परेको छैन । उनी बलिया उम्मेदवार हुन । यसपाली भने परिस्थिति केही बदलिएको छ । एमाले केन्द्रीय कमिटीमा देखिएको तिक्तता तल्लो स्तरसम्म पुगेको छ । यसमा इलाम २ अछुतो छैन । किनकी नेम्वाङविरुद्ध उनकै निकट मानिएका कार्यकर्ता केशव खनालले बागी उम्मेदवारी दिने तयारी गरेपनि सामसुम पारेका छन् । एमालेभित्रको गुटबन्दी, असतुष्टी बाहिर नदेखिए पनि भित्रभित्रै सल्किदो छ । जसको असर यसपाली नेम्वाङलाई पर्ने निश्चित छ । पार्टीको आन्तरिक विवाद भन्दा पनि उनीप्रति मतदातामा छाएको निराशा प्रमुख कारण बनिरहेको छ । साथै सत्तारुढ गठबन्धनको बलियो उपस्थिति नेम्वाङका लागि खतरा बन्ने देखिन्छ । यता विकास निर्माणको काम नगरेको भन्दै एमालेसँग इलाम–२ का मतदाताको असन्तुष्टि बढेको प्रष्ट देखिन्छ । जुन सामाजिक संजालमा छरपष्ट छ । विशेषगरी राँके–रवि सडक, जितपुर–मंगलबारे सडक साथै अन्य जनजीवनसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, रोजगारीलगायत क्षेत्रमा नेम्वाङको भूमिका प्रभावकारी नभएको आरोप छ । तर नेम्वाङले आफ्नै पहलमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र इलामका ‘कर्णाली’मानिने गाउँहरुलाई आफ्नै पहलमा समृद्ध बनाउँदै लगेको प्रतिक्रिया दिइरहेका छन् । ०७४ को संसदीय चुनावमा माओवादी र एमालेबीचको गठबन्धनबाट जितेका नेम्बाङले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापालाई पराजय गराएका थिए । नेम्बाङको क्षेत्रमा यो पटक एमाले फुटेका कारण आफूले जित्ने कांग्रेसको दाबी छ । एमाले पकड मानिएको यो क्षेत्रमा चुनाव जित्ने रणनीति गठबन्धनले बनाएको छ । इलाम जिल्लामा १० पालिकामध्ये दुई नगरपालिका र तीन गाँउपालिका नेम्वाङ–खड्काको क्षेत्रमा पर्छ । गत स्थानीय चुनावमा कांग्रेसले इलाम नगरपालिकाको मेयर–उपमेयर नै जितेको थियो भने एमाले देउमाई नगरपालिकामा मेयर र उपमेयर जितेको थियो । यस्तै, चलाचुली गाँउपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । फाकफोक गाँउपालिकामा अध्यक्ष, उपाध्यक्ष एमालेले जितेको थियो भने माङसेबुङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष गठबन्धनले जितेको थियो । मतको लेखाजोखा गत स्थानीय तहको निर्वाचनमा खसेको मतका आधारमा नेताहरुले आफ्नो विजयी सुनिश्चित भएको दावी गरिरहेका छन् । इलाम २ को सवालमा पनि सूर्य चिन्हमा खसेको मत र रुख–कलम–हसिंया हतौडामा खसेको मतको आधारमा उम्मेदवारहरुले आफ्नो चुनावी रणनीति बनाइरहेका छन् । नेम्वाङले २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका केशव थापालाई पराजित गर्दा ३६ हजार ५ सय १७ मत ल्याएका थिए भने थापाको २६ हजार ८ सय ६५ मत आएको थियो। तर गत स्थानीय तह निर्वाचनको मत परिणाम जोड्दा एमालेभन्दा कांग्रेस अगाडि देखिएको छ । गठबन्धनमा रहेका दलहरुको मत संख्या जोड्दा खड्का बलिया देखिन्छन् । इलाम क्षेत्र नम्बर २ मा इलाम नगरका १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, १२ नम्बर वडा, देउमाई नगरपालिका, फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा पर्दछन् । इलाम नगरपालिकामा नेपाली कांग्रेसका मेयरको मत १३,१६५ छ भने एमालेले १०,५८७ मत ल्याएको छ । देउमाईमा एमालेले ८,६२२ मत ल्याउँदा कांग्रेस ७,६२२ मत ल्याएर दोस्रो भएको छ । माङसेबुङ गाउँपालिकामा एमालेले ३,८९८ मत ल्याउँदा कांग्रेसले ३,४९५ मत पाएको छ । फाकफोकथुम गाउँपालिका र माइ नगरपालिकामा एमालेको मत अगाडि देखिन्छ । फाकफोकथुममा एमालेले ५,३२२ मत ल्याउँदा कांग्रेसले ४,८२१ मत ल्याएको छ । चुलाचुली गाउँपालिकामा भने करिब तीन हजार मतले कांग्रेस अगाडि छ । माई नगरमा एमाले थोरै मतले अगाडि छ । सबै पालिकाहरुको मत हेर्दा गठबन्धन चार हजार बढी मतले अगाडि देखिन्छ । तर स्थानीय तह निर्वाचनको मत परिणामलाई हेरेर संघीय चुनावको विश्लेषण गर्न नसकिने स्थानीयको दाबी छ । इलाम २ (क) मा एमालेका गणेश बरालसँग गठबन्धनको तर्फबाट कांग्रेसका गोविन्द गिरीले प्रतिस्पर्धामा छन् भने २ (ख) मा गठबन्धनबाट माओवादीका हर्क लावती र एमालेका राम राना चुनावी मैदानमा छन् । इलाममा १ लाख ८ हजार ९ सय २३ महिला, १ लाख १५ हजार ९ सय ५२ महिला पुरुष र २ जना तेस्रो लिङ्गी गरी २ लाख २४ हजार ८ सय ७७ मतदाता छन् । जातीय मत र धर्मगुरुको भूमिका इलाम २ बाट नेम्वाङले निरन्तर जित्दै आउनुको प्रमुख कारण जातीय र किराँत धर्मगुरु आत्मनन्द निङदेनको आर्शिवाद मुख्य मानिन्छ । मनोनयनको अघिल्लो दिन गुरुको निजी आश्रम लारुम्बा पुगेर नेम्वाङले किरात धर्मगुरु गुरुआमा बसेको ठाउँ, पोक बसेको ठाउँ र किराँतको पवित्र केन्द्र माङसेबुङ रहेको भनेर फकाए र आर्शिवाद लिए । नेम्वाङले गुरुसामु महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा र धर्म निरपेक्ष घोषणा गर्न एमालेको ठूलो भूमिका रहेको सुनाए । तर विकासे कामहरु अधुरा रहेकाले यस पटक धर्मगुरु र गुरुआमा नेम्वाङप्रति त्यति खुशी छैनन । उक्त क्षेत्रमा आश्वासन दिए अनुसारको काम नेम्वाङले पूरा गर्न नसकेको आरोप छ । साथै निर्णायक मानिएको उक्त क्षेत्रका मतदाता यसपाली विभाजित अवस्थामा छन् । गुरु निकट मानिने केही युवाहरुलाई खड्काले कांग्रेस जिल्ला समितिमै भित्र्याएपछि मत तितरवितर भएको छ । उक्त मतलाई गठबन्धनका नेताहरुले आफूतिर तान्ने रणनीति लिएका छन् । जसका कारण यसपालीको चुनाव नेवाङका लागि अफाबसिद्ध हुने र परिणाम उल्टिनसक्ने आंकलन गरिएको छ ।
Tags: