मकवानपुर १ : रोचक बन्दै चुनावी प्रतिस्पर्धा

Image
-कृष्णराम परियार मकवानपुर – संसदीय आम निर्वाचन नजिकिदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक–वाम गठबन्धन, नेकपा एमाले, राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । सो क्रममा मतदातालाई चुनाव चिह्न र आफ्नो पार्टीको धारणाबारे उम्मेदवारहरुले प्रकाश पार्दै आएका छन् । मकवानपुरको क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारको क्रममा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको सूर्य चिह्नबाट र राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस (बिपी) बाट सुरेन्द्र भट्टराई, नेमकिपाबाट शान्तलाल भैलसहित २६ जना चुनावी मैदान होमिएकाछन्। क्षेत्र नम्बर १ को (१) र (२) प्रदेशसभा सदस्य पदका उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) र आनन्दराम पराजुलीले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको छ । नेकपा एमालेको तर्फबाट कमल विष्ट र एकलाल श्रेष्ठ छन् । राप्रपाका तर्फबाट सागर थापा (१) र गुञ्जनबहादुर न्यौपाने (२) प्रदेशसभा सदस्य पदको निर्वाचनमा प्रतिस्पर्धामा रहेकाछन् । मकवानपुरमा तीन लाख सात सय ५८ मतदाता छन् । जिल्लामा तीन सय ६४ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर १ मा पुरुषतर्फ ७४ हजार नौ सय ३०, महिलातर्फ ७५ हजार दुई सय २१ र चार जना तेस्रो लिङ्गी मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । यो क्षेत्रमा बागमती, बकैया, मकवानपुरगढी गाउँपालिकाको आधा भाग, हेटौँडा उपमहानगरपालिकाको १ देखि १९ मध्ये १, ३, ११ र १९ नम्बरबाहेक अन्य १५ वडा रहेको छ । राष्ट्रिय राजनीतिमा नेतृत्व प्रदान गर्न सक्ने र जनताप्रति सधैँ उत्तरदायित्व बोध गर्ने व्यक्तिलाई छनौट गरेर मतदान गर्नुपर्ने समय आएको भीमफेदी गाउँपालिका–४ निवासी समाजसेवी ओमबहादुर थापाले बताए । मकवानपुरको चिसापानीगढी एवं मकवानपुरगढीको ऐतिहासिक प्राचीन धरोहरलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राख्दै हेटौँडामा स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने लक्ष्य र जनतालाई केन्द्र बिन्दुमा राखेर अघि बढ्ने सक्षम नेतृत्व गर्ने व्यक्तिलाई मतदाताले स्वतन्त्रतापूर्वक मतदान गर्ने वातावरण बनाउनुपर्ने मतदाताको भनाइ छ । निर्वाचनमा आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा आवाजजावत गर्ने व्यक्तिलाई छनौट गर्नुपर्ने हेटौँडा उपमहानगरपालिका–१२ का समाजसेवी तोयनाथ अधिकारीले बताए । संविधानसभा सदस्य एवं एमाले नेता अनन्तप्रसाद पौडेलले आगामी निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न विभिन्न राजनीतिक दलका उम्मेदवारले आचारसंहिता पालना गरेर प्रत्येक मतदातालाई आफूले इच्छाएको योग्य क्षमतावान् उम्मेदवार स्वतन्त्र रुपमा मतदान गर्न पाउनुपर्ने मौका दिन आग्रह गरेकाछन् । मकवानपुरमा तीन सय ६४ मतदान केन्द्रबाहेक दुई छुट्टाछुट्टै अस्थायी मतदान केन्द्रको स्थापना गरिएको छ । जसमध्ये कैदीबन्दीको लागि भीमफेदी कारागार, निजामती कर्मचारी र तेस्रो लिड्गीको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरको परिसरमा मतदान केन्द्र कायम गरी मतदानको लागि मतदान केन्द्रको निर्माण कार्य सुरु भइरहेको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले बताए । मकवानपुर क्षेत्र नम्बर १ र २ गरी लोकतान्त्रिक वाम गठबन्धन, नेकपा एमाले, राप्रपा, नेमकिपालगायत विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ६९ उम्मेदवार चुनावी मैदानमा होमिका छन् । जसमध्ये प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ४३ रहेको मुख्य निर्वाचनको कार्यालय मकवानपुरले जनाएको छ । आगामी मङ्सिर ४ मा हुने आमनिर्वाचन सन्दर्भमा मकवानपुरको विभिन्न मतदान केन्द्रको सरक्षा प्रदान गर्न नेपाली सेना जिल्लाको विभिन्न स्थानीय गाउँपालिका पायक गर्ने स्थानमा खटिइसकिएको र म्यादी प्रहरी विभिन्न ६२ प्रहरी चौकीमा पुगिसकेको छ । यही कात्तिक २८ गतेदेखि नेपाल प्रहरीको टोली निर्वाचन सामग्री लिएर विभिन्न मतदान केन्द्रमा प्रस्थान गर्ने भएको मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले राससलाई बताए ।  
Tags: