काठमाडौँ–पुराना पुस्ताविरुद्ध हस्तक्षेप गर्नुपर्ने युवाको चाहनामा राजनीतिक दलका नेताहरू अवरोध बने पनि स्वतन्त्रबाट उम्मेदवारी दिने युवा उल्लेखनीय छन् । केही निर्वाचन क्षेत्रमा भने ठूला दलबाट नै युवाहरूलाई टिकट दिएर मत तान्ने प्रयास भएको देखिन्छ ।

यसको उदाहरण हो मुस्ताङ । मुस्ताङ कांग्रेसले २८ वर्षका योगेश गौचन थकालीलाई उम्मेदवार बनाएको छ। थकाली चुनावका लागि मुस्ताङबाट सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन्। उनी प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा कान्छा उम्मेदवार हुन्।

मुस्ताङको थासाङ गाउँपालिका–३ का योगेशले ललितपुरको लिटिल एन्जल्स स्कुलबाट १२ कक्षा पास गरेका हुन् । एलाइन्स युनिभर्सिटी बैंगलोरबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका छन् । योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । उनी पर्यटन व्यवसायीसमेत हुन् ।

थकाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन र कार्यसमिति सदस्य छन्। पार्टीको वडा सभापति, जिल्ला सदस्य हुँदै मुस्ताङबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन् ।

मुस्ताङलाई व्यवसायको केन्द्र बनाएका थकालीले बाबुको राजनीतिक सहयोगी भएर पनि काम गरे । त्यसैले उनी मुस्ताङबाट कांग्रेसको उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस भएका थिए । २०७४ को चुनावमा पराजित भएपछि उनका बाबु रोमीले विशेष परिस्थितिबाहेक चुनाव नलड्ने घोषणा गरे ।

२०७० को चुनावमा रोमीविरुद्धउनकै मामाका छोरा प्रेम तुलाचन उम्मेदवार बने। रोमी झिनो मतान्तरले जितेर संसद् प्रवेश गरे । त्यही बेला उनी वाणिज्यमन्त्री भएका थिए । त्यसअघि गिरिजाप्रसाद कोइरालाको सरकारमा उनी परराष्ट सहायकमन्त्री भइसकेका थिए। २०७४ को चुनावमा वाम गठबन्धनबाट प्रेमलाई एमालेले उम्मेदवार बनायो भने कांग्रेसबाट पुनः रोमी बने । रोमी झिनो मतले पराजित हुन पुगे ।

२०७४ को निर्वाचनमा आफ्नै बाबुलाई हराएका प्रेमविरुद्ध योगेश अहिले चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यका लागि मुस्ताङमा अरू पनि उम्मेदवार नभएका होइनन् । तर यी दुईबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन छ ।

कान्छा उम्मेदवार गौतमले आफ्ना चुनावी एजेन्डाबारे पनि खुलाए । उनले भने, ’मुस्ताङ विश्वमै एउटा अनौठो हिमाली तर मरुभूमि हो । यहाँ पर्यटनको ठूलो सम्भावना छ । अहिले आउने पर्यटकहरूको संख्यालाई बढाएर यहाँका जनताको साथै राज्यको पनि आर्थिक आय बढाउन सक्ने देखेको छु। पर्यटन मेरो मूल मुद्दा हो ।’

यता प्रेम तुलाचनको पनि चुनावी मुद्दा उस्तै छ। ’पर्यटन नै यो ठाउँको मुख्य व्यवसाय हो यसलाई अझै कसरी फराकिलो बनाउन सकिन्छ भन्ने योजनासहित चुनावमा होमिएको छु’, तुलाचनले भने ।

उनीहरू दुवैले मुस्ताङमा व्यावसायिक स्याउ उत्पादनलाई बढावा दिन संघ, प्रदेश र स्थानीय सरकारलाई स्पष्ट दबाब, खाका दिन उम्मेदवार बनेको बताए।

योगेशले जोमसोम–कोरला सडक सुविधासहित तत्काल सञ्चालन गर्न सरकारलाई घचघच्याउन आवश्यक रहेको पनि बताए। ’मेरो त्यस्तो ठूलो केही आश्वासन प्रतिबद्धता केही छैन। जति गर्न सकिन्छ त्यति नै भन्दै आएको छु,’ उनले भने, ’सीमामा तिब्बतले ठूला भवन, सडकको बन्दोबस्ति मिलाइसक्यो हाम्रोतर्फ धुले बाटोबाहेक केही बन्न सकेको छैन। यता पनि राम्रो भौतिक संरचना बनाएर दुई देशको व्यापारिक नाकाको रूपमा विस्तार गर्न संघ सरकारलाई दबाब दिन मेरो उम्मेदवारी हो।’

उनले प्रेम तुलाचनमा विगतमा गर्न नसकेका तर मुस्ताङको हितमा रहेका योजनाहरू आफूले सम्पन्न गर्ने पनि बताए। तुलाचनले पनि विगतमा गरेका काम अधुरै रहेको र अब पूरा गर्ने आश्वासन दिए। उनीहरूले कृषि उत्पादन, स्वास्थ्य, सञ्चार, शिक्षाको पूर्वाधार तथा ग्रामीण विद्युतीकरणको काम स्थायी रुपमा गर्नै बाँकी रहेको र आफ्नो एजेन्डा त्यसैतर्फ केन्द्रित रहेको पनि बताए।

’हामीले मुस्ताङको विकासको बारेमा सडक, विजुली, शिक्षाको कुरा त छुटाउन भएन नै,’ योगेश भन्छन्, ’हामीले सडक सञ्जाल जोडेसँगै पदमार्ग हुँदै मुस्ताङ आउनेको संख्या घट्यो पदमार्ग नै सखाप भएका छन् । अब दिगो पर्यटन विकासका लागि पदमार्गको विकास गर्नुपर्नेछ।’

मुस्ताङको विकासका लागि म्याग्दी–मुस्ताङ सडकखण्ड मुख्य रहेको छ। अहिले यो सडक निर्माणको काम भइरहेको छ।

यसअघि रोमीले अघि बढाएका कागबेनी–कोराला सडकको काम एमालेका प्रेम तुलाचन सांसद भएसँगै बजेटक कटौती भयो। योगेशले भने ती काटिएका ठाउँमा बजेट बिनियोजन गरेर मुस्ताङको विकासमा टेवा पुर्या उने बाचा गरे। कृषि, पर्यटन, जडिबुटी खेतीमार्फत मुस्ताङको विकास गर्ने योजना उनले सुनाए।

युवापुस्तालाई राजनीतिमा ल्याएर स्थापित गर्न सकिएमा रुपान्तरणको मर्म र सिद्धान्त पूरा हुनेमा उनी विश्वस्त छन्। सत्तासीन गठबन्धनबाट उम्मेदवार बनेका मुस्ताङ (क) मा नम्डु गुरुङ र (ख) मा विकल शेरचन दुवै ४० वर्षभन्दा कम उमेरकै छन्। कांग्रेसका जिल्ला सचिव विकल पछिल्लो समय सामाजिक गतिविधिमा सक्रिय छन्। अर्का प्रदेशसभा सदस्यका उम्मेदवार गुरुङ पार्टीको जिल्ला सहसचिव हुन्।

एउटामात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा प्रदेशसभा सदस्यका उम्मेदवारसहित गरेर ९ जना जना प्रतिस्पर्धामा छन्। प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट कांग्रेसका योगेश गौचन थकाली, नेकपा (एमाले) तर्फबाट प्रेमप्रसाद तुलाचन, स्वतन्त्र पार्टी नेपालका सुरेश गुरुङ र राप्रपाका प्रवीण शेरचन उम्मेदवार छन्।

प्रदेशसभा (क) तर्फ एमालेबाट क्षेत्र इन्द्रधारा विष्ट र गठबन्धनबाट विकल शेरचन, प्रदेश (ख) तर्फ एमालेका चन्द्रमोहन गौचन, सत्ता गठबन्धनबाट नाम्डु गुरुङ, राप्रपाबाट जेम्स हिराचन र राप्रपा नेपालबाट कर्मा डोल्कर गुरुङ उम्मेदवार छन्।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस जिल्लामा सात हजार पाँच सय ५७ मत खसेको थियो। अध्यक्ष पदमा एमालेले चार हजार एक सय २६ मत पाएको थियो भने कांग्रेससहितको गठबन्धनले तीन हजार ९१ मत पाएको थियो। अध्यक्ष पदमा कांग्रेससहितको गठबन्धनभन्दा एमालेले पाएको मत एक हजार ३५ ले बढी छ भने उपाध्यक्ष पदमा कांग्रेससहितको गठबन्धनले तीन हजार दुई सय ३६ मत पाएको थियो भने एमालेले तीन हजार सात सय २० मत पाएको थियो। जिल्लामा १० हजार चार सय ८५ मतदाता छन्।

जिल्लाको पाँचै तहको उपाध्यक्षको मतभार तुलना गर्दा कांग्रेसभन्दा एमालेको मत चार सय ८४ ले बढी छ। पाँचवटै तहमा एमालेले दुई हजार दुई सय ५४ मत ल्यायो भने कांग्रेसले दुई हजार ७० मत पायो। वडाध्यक्षमा एमाले एक सय ८४ मतले बढी पाएको छ। जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार करिब पाँच सय बढी मतदाता नयाँ थपिएका छन्।

प्रादेशिक निर्वाचनअन्तर्गत प्रदेश (ख) को तल्लो मुस्ताङमा थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका छन्। यहाँ स्थानीय तह निर्वाचनमा एमालले अध्यक्ष दुई र उपाध्यक्ष एक पद जितेको थियो भने कांग्रेसले एक अध्यक्ष र दुई उपाध्यक्ष जितेको थियो। यी तीन पालिकामा एमालेले अध्यक्ष पदमा दुई हजार सात सय ६९ मत र कांग्रेसले दुई हजार तीन सय ९२ मत पाएको थियो।

त्यस्तै उपाध्यक्षमा एमालेले दुई हजार चार सय ४७ मत र कांग्रेसले दुई हजार चार सय ८२ मत पाएको थियो । प्रदेश (ख)मा एमालेले अध्यक्ष पदमा कांग्रेसभन्दा तीन सय ७७ मत बढी पाएको थियो। मुस्ताङको प्रदेश (क) मा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका पर्दछन्। यस प्रदेशमा एमालेले अध्यक्ष पदमा एक हजार तीन सय ५७ मत पाउँदा कांग्रेससहितको गठबन्धनले छ सय ९९ मत पाएको थियो। उपाध्यक्षमा एमालेले एक हजार दुई सय ७३ मत र गठबन्धनले सात सय ५४ मत पाएको थियो। यस्तै वडाध्यक्ष मतभारमा एमालेले नौ सय पाँच मत र कांग्रेस गठबन्धनले छ सय ७१ मत पाएको थियो।

स्थानीय तहको मतपरिणामअनुसार प्रदेश (क) मा एमालेले गठबन्धनभन्दा ६५८ मत बढी पाएको थियो। उपाध्यक्ष पदमा एमालेले गठबन्धनभन्दा पाँच सय १९ मत बढी पाएको थियो भने वडाध्यक्षतर्फ एमालेले दुई सय ३४ मत बढी पाएको छ। योगेशले युवाको मत आकर्षण गर्ने सम्भावना छ भने प्रेमलाई विगतको मत जोगाउने चुनौती छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर