मतदाताले चाहेसम्म चुनाव लड्छु : नेता सिंह

Image
काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट लगातार तीन वटा चुनाव जितिसकेका उनी आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिएका छन् । बिहीबार बिहान काठमाडौंको बुद्धनगरमा घरदैलो कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै सिंहले भने, ‘यहाँका मतदाताले मलाई मन पराएसम्म चुनाव लड्छु, जनताले चाहँदाचाहँदै मैदान छोड्न त भएन नि ।’ गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा काठमाडौं महानगरपालिका–१० जोगीकुटीस्थित सुवर्ण पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर घरदैलो कार्यक्रम सुरु गरेका उनले काठमाडौं क्षेत्र नम्बर १ का मतदाताको माया पाइरहेको र फेरि पनि पाउने विश्वास व्यक्त गरे । उनले काठमाडौं क्षेत्र नम्बर १ मा विकास गरेको दाबीसमेत गरे । व्यक्तिले कब्जा गरेका सरकारी जग्गा फर्काएर १५ स्थानमा पार्क, सामुदायिक भवन र व्यायामशाला बनाइसकेको भन्दै उनले ज्येष्ठ नागरिकको सुविधाका लागि एउटा सुविधासम्पन्न भवन बनिरहेको जानकारी पनि दिए । खानेपानीको समस्या समाधानका लागि पनि आफूले पहल गरिरहेको उनले बताए । प्रकाशमानले भने, ‘घरदैलो गर्दा धेरै जनताले पानीको समस्या भयो भन्नु भएको छ, मैले त्यसैलाई आगामी कार्यभार ठानेर काम गर्नेछु ।’ युवालाई र अनुभवीको टिमसहित चुनावमा होमिएको बताउँदै उनले फेरि पनि चुनाव जित्ने दाबी प्रस्तुत गरे । उनले भने, ‘मतदान भनेको भविष्यको भलाइका लागि हो । पार्टी र उम्मेद्वारको त्याग र इतिहासलाई हेरेर मताधिकार प्रयोग गर्नुहोला ।’ त्यसअघि गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजाने बताएका थिए । गणेशमान सिंहले वामपन्थीहरुलाई साथमा लिएर २०४६ सालको जनआन्दोलन सफल बनाएको भन्दै प्रकाशमानले अहिले पनि त्यो कार्यगत एकता उत्तिकै सान्दर्भिक रहेको बताए ।
Tags: