ललितपुर–१ : गठबन्धन इमान्दार भए उदय उदाउने, विरासत जोगाउने दौडमा सिलवाल

Image
ललितपुर – मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि सबैभन्दा नजिक रहेको जिल्ला हो ललितपुर । तर यहाँका कतिपय क्षेत्र अझै दुर्गम र अविकसित छन् । चुनावमा विजयी गराएर पठाएका जनप्रतिनिधिले अविकसित क्षेत्रको विकासमा प्रभावकारी भूमिका नखेलेको भनेर मतदाता सदिऔंदेखि आक्रोश पोखिरहेका छन् । यसपाली पनि मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा उम्मेदवारहरु सबैभन्दा धेरै समय ति अविकसित साथै काँठ क्षेत्रमा घुमिरहेका छन् । मतदाता आशा र अपेक्षा मिश्रित आक्रोश पोखिरहेका छन् । प्रतिनिधि सभातर्फ ललितपुरको क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धीका रुपमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उदय शमसेर राणा र नेकपा एमालेका नवराज सिलवाल प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन । उनीहरुले बजारी क्षेत्र भन्दा ललितपुरका विकट साथै काँठ क्षेत्रमा चुनावी अभियानलाई तिब्रता दिएका छन् । राणाले ‘समुन्नत ललितपुर’को प्रष्ट खाका लिएर मैदानमा छन भने सिलवालले ‘समृद्ध ललितपुर’को मुद्दा अघि सारेका छन् । सत्तारुढ गठबन्धनको बलियो उपस्थितिसहित राणाले माओवादी केन्द्रका हरि दाहाललाई प्रदेश सभा(क)बाट र कांग्रेसका मीनकृष्ण महर्जनलाई प्रदेश सभा(ख)मा साथ लिएर चुनावी घरदैलोलाई तिब्रता दिएका छन् । ०७० सालको संविधान सभा निर्वाचनमा विजयी भएका राणा अर्थ राज्यमन्त्रीसम्म बनेका थिए । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार सिलवालसँग पराजित भएका राणाले उनै सिलवाललाई बदला लिने कसरतमा छन् । राणा चौथो पटक चुनाव भिड्दैछन भने सिलवाल दोस्रो पटक मैदानमा छन् । रोचक प्रतिस्पर्धा ललितपुर १ मा २०७४ सालको चुनावी समीकरण र २०७९ को समीकरण ठ्याक्कै विपरित छ । अघिल्लो चुनावमा नेकपा माओवादीको साथ पाएका सिलवालले ६२२२ मतले राणालाई हराए । तर यसपटक कांग्रेसलाई माओवादी केन्द्रसहित नेकपा(एकीकृत समाजवादी), जनमोर्चालगायतका दलहरुको मोर्चाबन्दी छ । सो हिसाबले यसपाली राणा बलियो उम्मेदवारका रुपमा देखिएका छन् । मतदाताहरुले राणाको सोझै पल्लाभारी हुने अनुमान गरेका छन् । किनकी गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आएको परिणाम हेर्दा पनि गठबन्धनको बलियो मत छ । गोदावरी नगरपालिका,माहाङ्काल, बागमती र कोन्ज्योसोम गाउँपालिकाका समेटिएको उक्त निर्वाचन क्षेत्रमा पर्ने ३० वटा वडामध्ये कांग्रेसले २२, माओवादीले ५ र एमालेले तीन वटा वडामा वडाअध्यक्ष पदमा जितेको छ । ३० वटा वडामा गठबन्धनमा आबद्ध दलहरुको पाएको मतान्तर हेर्ने हो भने राणाको विजयी निश्चित छ । किनकी सबै वडाको मत कांग्रेस अग्रस्थानमा छ । कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २३ हजार ८५४ मत, एमाले वडाअध्यक्ष उम्मेदवारले १८ हजार ९९३ मत, माओवादी केन्द्रका उम्मेदवारले ६१ सय ३३, राप्रपाको १७ सय ५७ मत पाएको देखिन्छ । एकीकृत समाजवादी, स्वतन्त्र लगायत साना दलका वडाध्यक्ष उम्मेदवारले २५ सय मत कटाएका छन् । यस हिसाबले गठबन्धनको मात्र मत २९ हजार ९८७ हुँदा एमाले लगभग १० हजार मतले पछाडि देखिन्छ । राप्रपाले एमालेलाई सहयोग गर्दा र गठबन्धनको मत थोरै विभाजित हुँदा पनि प्रतिनिधि सभामा राणाको पल्लाभारी सोझो अनुमान लगाउन सकिन्छ । राणाको दाउ २०७४ सालमा आफूलाई पराजित गरेका सिलवालले क्षेत्रमा केही काम नगरेको आरोप लागेपछि राणाले महत्वकांक्षी योजनाहरु अघि सारेका छन् । राणाले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन । उनले सबै वडामा खानेपानी सुविधा विस्तार गर्न दिगो योजना नै बनाएर अघि बढेको दाबी गरेका छन् । त्यस्तै पर्यटकीय क्षेत्रको विकास र आधुनिक कृषि उत्पादनलाई महत्वपूर्ण योजना ल्याउने बाचा गरेका छन् । ‘मैंले चुनाव जित्दा वा हार्दा होस निरन्तर काम गरेको छु । जनताको माझ पुगिरहेको छु । मेरा योजनाहरु समुन्नत ललितपुर बनाउने हो । भ्रष्ट्राचार न्यूनिकरण गर्दै पारदर्शी ढंगले जनताका आकांक्षाहरुलाई पूरा गर्ने मेरो अन्तिम इच्छा हो’, उनले भने,‘अघिल्लो पटक केही बाहिरी असहयोग र प्रतिस्पर्धी उम्मेदवारलाई सेलिब्रेटीको हल्ला चलाएर मलाई हराइयो । म जित्ने उम्मेदवार हुँ । यस पटक सबै मतदाताले माया गर्नुहुनेछ ।’ ‘मेरो क्षेत्रमा भौतिक पूर्वाधारको विकास चाहिएको छ । जनतालाई सुखदुःखमा साथ चाहिएको छ । कोरोनाको महामारीका बेला मैंले गरेको सहयोग अहिले मतदाताले सम्झिरहनु भएको छ । ०७० सालदेखि यता मेरो कार्यकालमा जति यो क्षेत्रको विकास कहिल्यै भएको छैन । मेरो एक पटकको पहलमा आएका विकास कार्यक्रमहरू एमालेको चार वटै कार्यकालको भन्दा धेरै छ । यी सबै पृष्ठभूमिहरु हेर्दा मेरो जित निश्चित छ’, राणाको दाबी छ । आफू अर्थराज्यमन्त्री हुँदा प्रशस्त योजनाहरु भित्र्याएको उनको भनाइ छ । सिलवालको सवाल राणाका मुख्य प्रतिस्पर्धी मानिएका पूर्व प्रशासक सिलवालले आफूलाई स्थानीयबासी भएको बताउँदै राणालाई टुरिष्ट उम्मेदवारको आरोप लगाइरहेका छन् । स्थानीय तहमा खसेको मतलाई संघमा तुलना नहुने पनि उनको भनाइ छ । उनले सदनमा हुँदा आफ्नो क्षेत्रका लागि थुप्रै कामहरु गरेको पनि दाबी गरिरहेका छन् । तर पाँच बर्षको कार्यकालमा देखिनेगरी कुनै योजना नभित्रिएको स्थानीयको भनाइ छ । सिलवालले पाँचबर्षको अवधीमा सिक्ने मात्र गरेको, संसदमा चर्को बोलेर सेलिब्रेटी मात्र बन्न खोजेको पनि आम मतदाताको बुझाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गर्दा साक्षी बसेर संविधानको निर्मम हत्या गर्न खोजेको पनि सिलवालमाथि आरोप छ । तर उनले आफूलाई बचाउ गर्दै आफ्नो क्षेत्रमा प्रशस्त योजनाहरु भित्र्याएको दाबी गर्दै घरदैलो गरिरहेका छन् । अघिल्लो कार्यकालमा तयार भएका आधारहरुलाई आगामी दिनमा पुरा गर्ने आश्वासन दिइरहेका छन् । तर नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष, संविधान सभा सदस्य, अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको उपाध्यक्ष साथै विभिन्न महत्वपूर्ण तह र तप्कामा बसेर काम गरिसकेका राणा बौद्धिक नेता भएका कारण युवाहरुले उनलाई विजयी गराइछाड्न घरदैलो अभियानलाई चर्काइरहेका छन् ।
Tags: