पार्टीको नेतृत्व परिवर्तनका लागि पनि मैले जित्नुपर्छ : गगन थापा

Image
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउन आग्रह गरेकाछन् । आफू सांसद भएमात्रै कांग्रेस भित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने उनको भनाई थियो। पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन जितेर गए कांग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने बताए । उनले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिकलाई पूरै सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। ‘बहुमत ल्याउन चाहन्छौं । बहुमत किन ल्याउन चाहन्छौं? स्थिर सरकार चलाउन चाहन्छौं । स्थिर सरकार किन चलाउन चाहन्छौं? हामी जनतासँग गरिएका बाचाहरु पूरा गर्न चाहन्छौं । जनतालाई निराशाबाट बाहिर ल्याउन चाहन्छौं’, उनल भने, ‘जनजीविकासँग जोडिएका विषयहरुलाई सम्बोधन गर्न चाहन्छौं । यसका निम्ति हामी एक ठाउँमा हो । यसलाई हामी प्रयोग गर्न चाहन्छौं।’ महामन्त्री थापाले अवको निर्वाचनपछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरुले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थानै नरहने चेतावनी समेत दिए।
Tags: