नवलपरासी पश्चिम–१ मा चौधरीलाई त्रिपाठीको चुनौती कति ?

Image
नवलपरासी– प्रतिनिधिसभा निर्वाचनमा यसपटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा रोचक प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन क्षेत्रका खेलाडी मानिएका हृदयेश त्रिपाठीलाई टक्कर दिन कांग्रेसले केन्द्रीय सदस्य विनोद चौधरीलाई मैदानमा उतारेपछि प्रतिस्पर्धा रोचक हुन लागेको हो । पहिलोपटक प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार भएका चौधरी ६ पटक चुनाव लडेका त्रिपाठीसँग भिड्दै गर्दा जित निकाल्ने आत्मविश्वासमा देखिन्छन् । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा चौधरी बलिया देखिन्छन् । यो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहका वडामा कांग्रेसले ३० हजार ३४२ मत प्राप्त गरेको थियो । एमालेले २६ हजार ७७९ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ६८७, माओवादीले ५ हजार ३४७, जनता प्रगतिशील पार्टीले ४ हजार ६९० मत पाएको थियो । जसपाले ३ हजार ५५९, नेकपा एकीकृत समाजवादीले १ हजार १४१ र लोसपाले १०० मत प्राप्त गरेको थियो । यहाँ सत्ता गठबन्धनका दलको मत ३६ हजार ९३० छ । हृदयेशको पक्षमा एमालेको २६ हजार ७७९, जसपाको ३ हजार ५५९ र जनता प्रगतिशील पार्टीको गरी ३५ हजार ६८ मत छ । २०७४ सालको निर्वाचनमा एमालेको सूर्य चुनाव चिह्न लिएर चुनावमा उत्रिएका त्रिपाठीसँग यसपटक आफ्नै चुनाव चिह्न छ । यसअघि विभिन्न दलमा पुगिसकेका त्रिपाठी अहिले नयाँ दल लिएर चुनावी मैदानमा होमिएका हुन् । यसपटक त्रिपाठीले सूर्य चिह्नमा चुनाव लड्न नमानेपछि मनोनयन दर्ता गराउने दिनको अन्तिम समयमा एमालले प्रतिनिधिसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएको थियो । उम्मेदवारी फिर्ताको अन्तिम दिनसम्म त्रिपाठीले एमालेका शीर्ष नेतामार्फत बुढाथोकीको उम्मेदवारी फिर्ता गराउन सफल भएका छन् । तर अघिल्लो पटक सूर्य चिह्नमा मतदान गरेका एमाले मतदाताले यसपटक फेरि मत हाल्नेमा त्रिपाठी नै विश्वस्त छैनन् । अर्कोतर्फ सूर्य चुनाव चिह्न लिन नचाहेको चर्चाले पनि त्रिपाठीलाई ‘ब्याक फायर’ को त्रास छ । त्यसैले एमालेको साथ पाउँदा पनि स्थिति जटिल बनिरहेको उनको विश्लेषण छ । २०४८, २०५१ र २०५६ मा भएको संसदीय निर्वाचनमा नेपाल सद्भावना पार्टीको चुनाव चिह्नबाट विजयी भएका उनी २०६४ सालको पहिलो संविधानसभा र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने तराई मधेस लोकतान्त्रिक पार्टीबाट लडेका थिए । त्रिपाठी अहिलेसम्म ६ पटक मन्त्री भइसकेका छन् । उनी २०६४ सालमा वन मन्त्री, २०६३ सालमा उद्योग वाणिज्य तथा आपूर्ति, २०६८ मा भौतिक योजना तथा सडक यातायात, २०७६ मा संघीय मामिला तथा सामान्य प्रशासन र २०७७ मा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका बनिसकेका छन् । यता दुईपटक समानुपातिक सांसद बनेका चौधरी तेस्रोपटक सांसद बन्ने प्रयासमा छन् । उनी निर्वाचन क्षेत्रको विकास आफ्ना लागि प्रतिष्ठाको विषय भएको बताउँछन्। नाम र पैसाका लागि आफूले राजनीति नगरेको चौधरीको दाबी छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित भइसकेको व्यक्ति भएकाले आफू पैसाका लागि राजनीतिमा नआएको उनी बताउँछन् । क्षेत्र परिर्वतन भए पनि नवलपरासी पश्चिम–१ को समस्याबारेमा आफू जानकार रहेको र समधान गर्न सक्ने दाबी उनको छ ।
Tags: