नेपालमा लगानी, प्रविधि ल्याउने कार्यमा सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलबीच भेटवार्ता सम्पन्न भएको छ ।
भेटमा कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित महासंघका पदाधिकारीहरू र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको सहितका तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी थिए ।
भेटवार्तामा नेपाल कोरियाबीच आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, उर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविध तथा कोरियाको अनुभव आदान प्रदान, वातावरण संरक्षण लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।
सो अवसरमा महासंघका कार्यवाहक अध्यक्ष ढकालले प्रतिनिधिमण्डलको स्वागत गर्दै कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण रहेको बताए । उनले दुवै देशका निजी क्षेत्र बीचको सम्बन्ध बलियो बन्न सक्यो भने लगानी, प्रविधि तथा अनुभव समेत ल्याउन सहज हुने हुंदा निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा सहयोग गर्न आग्रह गरे।
कार्यवाहक अध्यक्ष ढकालले बाह्य लगानी ल्याउने कुरामा निजी क्षेत्रले सरकारलाई निरन्तर झकझक्याई रहेको र सोही अनुसार बाह्य लगानीसंग सम्बन्धित महत्वपूर्ण ऐन कानूनहरु संशोधन समेत भैसकेको स्पष्ट पारे । नेपालमा लगानी गरी ठूलो प्रतिफल लैजान सकिने बलियो सम्भाव्यता रहेकाले कोरियन लगानी विस्तारमा प्रतिनिधिमण्डलबाट ठूलो सहयोगको अपेक्षा आफुहरूले गरेको उनले बताए ।
महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्य, महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र कोरियन प्रतिनिधिमण्डलका सदस्यहरू सहभागि सो भेटवार्तामा महासंघकातर्फबाट कोरियन उत्पादनमुलक उद्योगहरू कोरियाबाट अन्यत्र स्थानान्तरण भैरहेकाले स्वच्छ उर्जाको राम्रो प्रवन्ध, सस्तो श्रम र विशाल बजार समेतका आधारमा ती उद्योगहरू नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरेका थिए ।
भेटका अवसरमा प्रतिनिधिमण्डलका नेता एवं कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुुभव सुुनांउदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधै तयार रहेको बताए । महासंघले दिएका सुुझावहरूको कार्यान्वयनमा आफूहरूले सक्दो सहयोग र समन्वय गर्ने विश्वास समेत उनले दिलाएका थिए ।