गोरखा १ मा माओवादी–कांग्रेस मिल्दा बजगाईं सहज स्थितिमा

Image
गोरखा – प्रतिनिधिसभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा पर्यटन व्यवसायी राजेन्द्र बजगाईं र नेकपा एमालेका नेता रामशरण बस्नेत चुनावी प्रतिस्पर्धामा छन् । गोरखा क्षेत्र नम्बर १ मा बजगाईं र बस्नेतंसहित ८ उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा कांग्रेसका र एमालेबीच नै हुने देखिएको छ । उनीहरू २०७४ को चुनावमा गोरखा–१ (ख) को प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए । गोरखामा एमालेको तुलनामा कांग्रेसको संगठन निकै बलियो छ । तर माओवादी केन्द्रसँँग वाम गठबन्धन गरेका कारण एमालेका बस्नेत १६ हजार ६५६ मतसहित निर्वाचित हुँदा बजगाईंले १३ हजार १ मत पाएका थिए । तर यसपटक ठीक उल्टो माओवादीको समर्थन कांग्रेसका उम्मेदवार बजगाईंलाई रहेकोले चुनाव जित्नेमा ढुक्क जस्तै देखिएका छन् । गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसकेका रामशरण बस्नेत र लाभको पद अहिलेसम्म नलिएका बजगाईंबीचको चुनावी भिडन्त रोमाञ्चक बन्दै गएको छ । विगतका निर्वाचनहरू र ३० बैशाखको स्थानीय तहको चुनावमा पाएको मतका आधारमा गोरखामा माओवादी केन्द्र र कांग्रेस हाराहारीका दल हुन् भने एमालेको निकै मत कम छ । ३० बैशाखको स्थानीय तह निर्वाचनमा स्थानीय तहका वडाका उम्मेदवारले पाएको मतको आधारमा क्षेत्र नम्बर १ मा कांग्रेस पहिलो दल हो । कांग्रेस उम्मेदवारले २७ हजार ८४, माओवादी केन्द्रका उम्मेदवारले २५ हजार ४७२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले १४ हजार ४६६ मत पाएका छन् । त्यस्तै जनता समाजवादी पार्टीले २७५४ मत पाएको छ र गोरखामा यो पार्टीको अधिकांश हिस्सा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा गएको छ । एकीकृत समाजवादी पार्टीले ७० मत पाएको छ । बजगाइँ कांग्रेसको १४ औं महाधिवेशनमा जिल्लाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका थिए । क्षेत्र नम्बर १ को उत्तरी क्षेत्रमा आफू परिचित रहेको र गठबन्धनको उम्मेदवार भएकाले सहज जित्ने बजगाइँको दाबी छ । ‘गठबन्धनका कारण पनि म पहिलेभन्दा बलियो छु’, बजगाईंले भने । ‘पहिले देखिनै विकासका लागि राजनीति भन्ने नारा नै तय गरेको विकासलाई जनताको घरसम्म जोड्ने काममा लाग्ने दाबी बजगाइँको छ। रोजगारी, विकास र समृद्धिनै हो, बुढीगण्डकी आयोजना मेरो मुख्य प्राथमिकतामा रहेको छ,’ उनले भने। एमाले सरकार गोरखाको समृद्धिसँग जोडिएको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना अलपत्र पार्ने काम गरेकोले अव सोही कार्यलाई अगाडि बढाउने आफ्नो प्रमुख काम भएको समेत बजगाइँले बताए । चीनको सिमानादेखि ठोरीसम्मको बाटो निर्माण गरेर व्यापरिक केन्द्र बनाउने र पर्यटन क्षेत्रको विकासमा मुख्य जोड दिने बजगाइँले बताए । गोरखा–१ मा १ लाख १५ हजार ३९७ मतदाता छन् । बजगाइँले बालुवाटारमा होटल वर्णवास निर्माण गरिरहेका छन् । १ अर्ब १६ करोड लगानीमा निर्माण भइरहेको होटल अबको केही महिनामै सञ्चालनको तयारी रहेको छ । बजगाईंले वर्णवास म्युजियम होटलको रुपमा निर्माण गरिरहेका छन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा निर्वाचित भएपछि एमालेका बस्नेत गण्डकी सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका थिए । चुनाव जित्ने उनको पनि दाबी छ । गोरखामा केही विकास निर्माणका योजना पनि ल्याएको बताए पनि सडक नै नभएको ठाउँमा पुल बनाएको भनेर पछिल्लो समय उनी आलोचितसमेत भएका थिए । ‘गठबन्धनको सरकार बनेको पनि ढेड वर्ष हुन लागिसक्यो तर जनताले नयाँपन र राहत अनुभूति गर्न पाएका छैनन्,’ बस्नेतले भने । मन्त्री हुँदा जिल्लाको भौतिक संरचनाको विकासमा कुनै कमी राखेका बताउँदै बस्नेत शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा पनि थुप्रै काम गरेको जनताले मूल्यांकन गरेर मत दिने बस्नेत बताउँछन् । बुढीगण्डकी आयोजना निर्माणलाई प्राथमिकता दिनेसमेत बस्नेतको दाबी छ । विगतमा पनि उत्तरी दुर्गम बस्तीमा तीन महिनामा एकपटक जसरी पनि पुग्ने, दुर्गम बिकट क्षेत्रको बिकासमा आफु लागि पर्ने बताए पनि मन्त्री हुँदा समेत विकास निर्माणको काममा भने लाग्न सकेनन् । जसका कारण पनि उत्तरी क्षेत्रका मतदाता समेत बस्नेतसँग रुष्ट छन् । यता दक्षिण क्षेत्रमा पनि एमालेकै कार्यकालमा राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना निर्माणलाई गती दिनुको सट्टा चिनियाँ कम्पनीलाई बुझुाएको आरोप लागेको छ । एमालेको मतदातासमेत कम भएको क्षेत्रमा जनतासमेत रुष्ट हुँदा फाइदा कांग्रेसका उम्मेदवार बजगाइँले लिने देखिएको छ । अहिलेकै अवस्थाको मतपरिणामको अंकगणित हेर्दा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित देखिन्छ । यद्यपी अंकगणितलाई भन्दा भूगोलका जनताको विकासप्रतिको चाहाना, गठबन्धनप्रतिको वितृष्णा जनताको मत पाएर आफूले जित्ने बस्नेत दाबी गर्छन् ।
Tags: