गठबन्धनले नजिते सात पुस्ताले दुःख पाउँछन् : अमात्य

Image
ललितपुर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनबहादर अमात्यले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभामा गठबन्धनले नजिते नेपाली जनताको सात पुस्ताले दुःख पाउने बताएकाछन् । दुई तीन पुस्ताले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्था र जनभावनाअनुसारको संविधान जोखिममा परेकाले गठबन्धन गर्नुपरेको बताउँदै अमात्यले दलका आवरणमा जन्मेको निरंकुशताको अन्त्य गर्न गठबन्धनको विजय अपरिहार्य भएको बताए। ललितपुर क्षेत्र नं २ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विजयी गराउने अभियानमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित भएको बताउँदै अमात्यले युवाहरुले आफ्नो भविष्य हेरेर भावी पुस्ताले दुःख नपाउने गरी अहिलेको चुनावमा ध्यान दिन आग्रह गरे । नेपाली काँग्रेस वागमती प्रदेश कार्यवाहक सभापति चन्द्र महर्जनले समावेशी र समानुपातिक व्यवस्थाले पछाडी परेका वर्ग, समुदाय, महिला, आदिवासी जनजातीलाई मूल प्रवाहमा ल्याएकोमा एकथरी प्रतिगामीहरुको टाउको दुखिरहेकाले उल्ट्याउन लागेको भन्दै संविधान र जनताका अधिकार जोगाउन गठबन्धनका उम्मेदवारहरुको विजय जरुरी भएको बताए। प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्णलाल महर्जनले युवाहरुलाई उद्यमशीलता मार्फत समृद्ध हुन राज्यका तर्फबाट प्राविधिक तथा नीतिगत सहयोग, पुँजी तथा जनशक्ति व्यवस्थापन लगायतमा सहजीकरण गर्ने प्रतिबद्धता राखे । उम्मेदवार महर्जनले ललितपुरमा विशेष गरी हस्तकला तथा पर्यटनमा आधारित उद्यमलाई युवा उद्यमशीलता समृद्धिको आधार बनाइने बताए। प्रदेश ख का उम्मेदवार रामकृष्ण चित्रकारले पाटनलाई कलाको राजधानी बनाइने प्रतिबद्धता राख्दै युवाको समग्र क्षमता विकास गर्न सीप, संस्कृति र खेलकुदको विकासमा तीनै तहका सरकारको समन्वय र परिचालन गरिने बताए। गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी लगायतको गठबन्धनलाई फुटाउन विपक्षी गठबन्धनले चलाएको भ्रममा नपरी इमान्दारितासाथ गठबन्धनको विजयका लागि लाग्न सम्पूर्ण युवाहरुलाई आग्रह गरे। ०४६ सालको आन्दोलन र ०६२÷०६३ को आन्दोलनमै काँग्रेस कम्युनिष्टको सहकार्य भएको स्मरण गराउँदै संविधान र व्यवस्था जोगाउन काँग्रेस कम्युनिष्टको सहकार्य कसैले भत्काउन नसक्ने कसिलो भएको बताए । ललितपुर क्षेत्र नं २ मा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन उम्मेदवार हुनुहुन्छ भने प्रदेश २ (१) मा रिसा श्रेष्ठ र प्रदेश २ (२) मा रामकृष्ण चित्रकार उम्मेदवार हुन् ।
Tags: