गठबन्धनका उम्मेदवार महर्जनलाई पुराना कम्युनिष्ट नेताको साथ

Image
ललितपुर – बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट ललितपुर २ को प्रतिनिधि सभामा उम्मेदवार भएका कृष्णलाल महर्जनलाई ललितपुरका पुराना बामपन्थी नेताहरुले साथ दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि प्रचारप्रसार र कार्यकर्ता भेटघाटको चापबीच कृष्णलालले पुराना बामपन्थी नेता सिद्धिलाल सिंह, बुद्धिराज बज्राचार्य, रामबहादुर ह्यामो र आशा बहादुर नुगःलाई भेट गरेकाछन् । अग्रज नेताहरुको आशिर्वाद लिन निवास पुगेका कृष्णलाललाई पूर्वमन्त्री तथा ललितपुर २ बाटै २०४८ र ०५१ मा निर्वाचित सांसद सिद्धिलाल सिंहले कम्युनिष्ट आन्दोलन, गणतन्त्र र राजनीतिक परिवर्तनहरु जोगाउन पनि गठबन्धनले जित्नुपर्ने बताए। भेटका क्रममा सिद्धिलालले भने,‘ठूला परिवर्तनहरु गर्न र त्यस्ता परिवर्तनका उपलब्धि जोगाउन काँग्रेस कम्युनिष्ट मिल्ने गरेको इतिहास छ, त्यसैलाई सम्झेर गठबन्धनलाई विश्वास गर्नुपर्छ ।’ कम्युनिष्ट आन्दोलनबाट स्थापित भई ललितपुर महानगरपालिकाका पूर्व मेयर तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यले पनि कृष्णलालको संसद सदस्यको भूमिकाले मतदाताको शीर उँचो भएको बताउँदै विजयको शुभकामना दिए। आशिर्वाद लिने क्रममा अग्रजहरुको निवासमा पुगेका प्रतिनिधिसभा सदस्य उम्मेदवार महर्जनले गणतन्त्र र राजनीतिक परिवर्तन जोगाउन परिवर्तन पक्षधरहरुलाई विजयी गराइदिन आग्रह गर्दै मतदाता र परिवर्तन पक्षधरहरुले शीर झुकाउनुपर्ने अवस्था आउन नदिने बताए ।
Tags: