बच्चा बोकेर उचाई चुम्ने यात्रा

Image
बेनी– एउटा हातमा पार्टीको झण्डा अर्को हातमा झोला । हेर्दा सामान्य पहिरनमा सजिएकी महिला । पिठ्युँमा बच्चा बोकेर दुई हात जोड्दै मत मागिरहेकी थिइन् । गाउँ गाउँमा पुगेर आफुलाई जिताउन आह्वान गर्दै उनको दैनिकी बित्ने गरेको छ । पिठ्यँुमा ३ बर्षको छोरा बोकेर चुनाबी मैदानमा उत्रिएकी छिन्, रघुगंगा गाउँपालिका–६ पाखापानीकी मिना विश्वकर्मा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विश्वकर्मा नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्ष पदमा उम्मेद्वार बनेकी हुन् । २७ बर्षिया विश्वकर्माका ३ वर्षका छोरा छन् । पेशाको हिसाबले हिउँदेबाली भित्र्याउने काममा व्यस्त हुनुपर्ने विपन्न परिवारकी विश्वकर्मा यो समय भोट माग्न व्यस्त छिन् । माध्यमिक तहसम्मको अध्ययन पुरा गरेकी विश्वकर्मालाई पार्टीले गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाएपछि उनले त्यसलाई एउटा अवसरको रुपमा लिएर यतिबेला गाउँपालिकाको कुनाकन्दरा र टोलटोलमा घरदैलोको दौडाहमा छिन् । पार्टीको साधारण कार्यकर्ता भएको नाताले सुरुमा धेरैले मिनालाई साधारण रुपमा लिएका थिए । तर जब घरदैलो गर्दै आफ्नो योजना सुनाउन थाल्नुभयो तब उहाँको ओझ ह्वात्तै बढेको छ । रघुगंगामा गाउँपालिका अध्यक्षमा मुख्य प्रतिस्पर्धीको दावी गरेका नेपाली काँग्रेसका भवबहादुर भण्डारी , नेकपा एमालेका प्रेमबहादुर कार्की र स्वतन्त्रका सागर भण्डारीसँगको बलियो प्रतिस्पर्धीको उचाई विश्वकर्माले बनाइसकेको उनको दावी छ । –म्याग्दीबाट कमल खत्रीको सहयोगमा
Tags: