‘हिम्मतवाली आमा डम्बरकुमारी’ सार्वजनिक

Image
काठमाडौं–‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक कृति सार्वजनिक भएको छ । घोस्ट राइटिङ नेपालले आज आयोजना गरेको एक कार्यक्रममा उक्त कृति कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सार्वजनिक गरेका हुन् । उनले त्यो समयमा आमाहरूले भोगेको वास्तविकतालाई किताबमा उतार्नु महत्त्वपूर्ण भएको र यस्ता यथार्थलाई लेख्नु र पढ्नुपर्ने बताए । “विगतमा आमाले भोगका दुःख, पीडा र यथार्थलाई लेख्नु र पढ्नुपर्छ”, उनले भनृे, “पुस्तक पढेन भने आमामाथि अन्याय हुन्छ, एकै बसाइमा पढ्ने खालको पुस्तक छ ।” माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले आमाहरूले भोगेका दुःख, त्यो बेलाका भोगाइलाई पुस्तकका रूपमा सार्वजनिक गर्नु राम्रो काम भएको र यस्ता इतिहासले वर्तमान पुस्तालाई थप प्रोत्साहन मिल्ने बताइन्। पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले पुस्तकको समीक्षा गर्दै डम्बरकुमारी आमाको माइती घर, कर्म घर र जीवनकालमा भोगेका सम्पूर्ण कथाहरू पुस्तकमा समेटिएको बताए । आमाले शिक्षाको विषयमा असाध्यै राम्रो चेतना भएको र संसार पढ्नेहरूको भएको कुरा पुस्तकमा भएको सुनाए । पुस्तकको समीक्षा गर्दै लेखिका डा अर्चना थापाले विगतमा आमाहरूले भोगेका जीवन कहानी समेटिएको र पुस्तक पढेर नयाँ पुस्ताका महिलालाई थप प्रेरणा दिने बताइन्। पुस्तकको मुख्य पात्र ७८ वर्षीया डम्बरकुमारी तिम्सिनाले आफूले भोगेका जीवन कहानी पुस्तकका रूपमा आएकोप्रति खुसी व्यक्त गर्दै सबैलाई एकपटक पढिदिन आग्रह गरिन् । पुस्तक उनकी छोरी पूर्वप्रमुख सूचना आयुक्त तथा पत्रकार यशोदा तिम्सिनाले लेखेकी हुन्। पुस्तकमा उनकी आमा बाल्यकालदेखि अहिलेसम्मको जीवन कहानी उल्लेख छ ।
Tags: