छबिलालको घनश्यामलाई आरोप, ‘एक पटक पद नपाएपछि पार्टीलाई धोका ?’

Image
बुटवल –नेकपा एमालेका सचिव छबिलाल विश्वकर्माले घनश्याम भुसालमा राजनीतिक चरित्र नभएको बताएका छन्। रुपन्देही १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका विश्वकर्माले एकपटक टिकट नपाउँदैमा पार्टी छाडेर रातारात विपक्षीको उम्मेदवार घनश्यामले पार्टीलाई पटक पटक धोका दिएको आरोप समेत लगाए। एमाले, राप्रपा र जसपाले आइतबार देवदहमा गरेको चुनावी सभामा बोल्दै विश्वकर्माले अरुलाई चुनावदेखि चुनावसम्मको राजनीति गरेको आरोप लगाउने भुसालले एउटा चुनावमा टिकट नपाउने वित्तिकै विपक्षीसँग मिलेमतोमा जानुले उनको असली मुखुण्डो उदांगो भएको टिप्पणी गरे। रुपन्देही १ मा भुसाल सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका छन्। आफूलाई दलाल पूँजीवादको विरोधी भन्ने भुसालले दलाल पूँजीवादको अगुवा नेपाली कांग्रेस र माओवादीसँग साँठगाँठ गरेर आफनै पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सत्ता सुम्पेको र पार्टी विभाजनमा भूमिका खेलेको भन्दै विश्वकर्माले भुसालको आलोचना गरे। ‘एमालेमा ओलीकै एकदम आफ्ना भनिने दर्जन बढी नेताले टिकट पाएका छैनन्,राप्रपासँग तालमेल हुँदा उहाँले पनि पाउनुभएन’–विश्वकर्माले भने–‘टिकट नपाउने वित्तिकै विपक्षीको उम्मेदवार बन्न जानु कुनैपनि अर्थमा राजनीतिक चरित्र हैन,पार्टीमाथि धोका हो।’ भुसालले विगतमा पनि पार्टी विभाजन गरेको र सिद्धान्तको आवरणमा सधैं नेतृत्वलाई कमजोर बनाई विपक्षीलाई खुशी बनाउने काममा रमाएको विश्वकर्माले आरोप लगाए।
Tags: