बागलुङ–२ को चुनावी गणित, उत्साहित गठबन्धन, टक्कर दिँदै एमाले

Image
-राम बहादुर थापा/रासस बागलुङ – जित हारका शृङ्खलाहरूबाट गुज्रिरहेका दलहरू अर्को चुनावी परीक्षामा सामेल हुन अब २० दिन मात्र बाँकी छ । चुनाव सम्मुखमा आइपुग्दा अनेक चर्चा र अड्कलबाजी हुन थालेका छन् । चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङमा यसपालि के होला भन्ने सर्वत्र चासो छ । बदलिएको चुनावी समीकरणबीच हिजो एकै मोर्चामा रहेका दलहरू अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् । हिजो दुई ध्रुवमा बाँडिएका आज एकैठाउँ उभिएका छन् । यो स्थितिमा चुनावी गणितमा पनि फेरबदल आएको छ । वाम शक्ति अलग्गिएका छन् । कांग्रेसलगायतका दललाई गठबन्धनको आड छ । विसं २०७४ को चुनावमा बेहोरेको नमिठो हारलाई गत वैशाखको स्थानीय चुनावबाट पूर्ति गरेको कांग्रेस गठबन्धनका बलमा अहिले पनि जित निकाल्न चाहन्छ । यसअघिको सङ्घ र प्रदेश चुनावमा एक्लै वाम गठबन्धनको सामना गरेको कांग्रेसले यहाँका सबै ‘सिट’ गुमाएको थियो । यसपालिको चुनावमा सङ्घ गठबन्धनका अरु दललाई छाडेर कांग्रेस प्रदेशका चारै ‘सिट’ मा प्रतिस्पर्धा गर्दैछ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा मिलेर चुनाव लड्दा विसं २०७४ मा कांग्रेस किनारामा परेको थियो । अहिले कांग्रेससहित माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी गठबन्धनमा छन् । विसं २०७४ मा कांग्रेसझैँ अहिले नेकपा (एमाले) एक्लै चुनावी मैदानमा छ । ६ वटा स्थानीय तह भएको बागलुङ–२ मा गत वैशाखमा भएको स्थानीय चुनावमा सत्ता गठबन्धनले एउटा पालिका प्रमुखबाहेक सबैमा जित हासिल गरेको थियो । राष्ट्रिय जनमोर्चाको विद्रोही समूहलाई साथ लिएर चुनाव लड्नुभएका एमालेका देवकुमार नेपाली ढोरपाटन नगरपालिकाको प्रमुखमा विजयी बनेका थिए । त्यस क्षेत्रका कूल ४८ वडामध्ये ढोरपाटनका पाँच, बडिगाड गाउँपालिकाका चार र गलकोट नगरपालिकाको एउटा वडामा मात्र एमालेले वडाध्यक्ष जितेको थियो । त्यसबाहेक ढोरपाटन–४ मा जनमोर्चाको विद्रोही समूहका तिलक पुन र अरु सबै वडामा कांग्रेस, माओवादी र जनमोर्चाका उम्मेदवार विजयी बनेका थिए । निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकामा एमालेले एउटै वडा पनि जित्न सकेको थिएन । वडाध्यक्षका उम्मेदवारको कूल मतभार जोड्दा सत्ता गठबन्धनका उम्मेदवारले एमालेकाले भन्दा १५ हजार पाँच सय १९ मत बढी ल्याएका थिए । सत्ता गठबन्धन दलले वडाध्यक्षमा ३४ हजार पाँच सय ६८ मत पाउँदा एमालेले जम्मा १९ हजार ४९ मत पाएको थियो । गत स्थानीय तह चुनावको मत परिणाम हेर्दा बागलुङ–२ मा सत्ता गठबन्धन एमालेका लागि चुनौती बन्ने देखिन्छ । एमाले पनि गठबन्धनलाई पछि पारेर चुनाव जित्ने दाउमा छ । गठबन्धनका साझा उम्मेवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका विरुद्ध एमालेका मञ्जु शर्मा चालिसे चुनावी मैदानमा छन् । गत स्थानीय तह चुनावमा नेपाली कांग्रेसले उम्मेदवार नबनाएपछि स्वतन्त्ररूपमा गलकोट नगरपालिकाको प्रमुखमा चुनाव लडेकी चालिसेपछि एमाले प्रवेश गरेकी थिइन् । स्थानीय तह चुनावमा उनले तीन हजार दुई सय ६३ मत ल्याएकी थिइन् । कांग्रेस त्यागेर आउनासाथ एमालेबाट उम्मेदवार बनेकी उनी अन्य दलभित्रका असन्तुष्ट मत बटुलेर जित्ने आशमा छिन् । गठबन्धन दल भने आफ्नो भएको जनमत जोगाउन सके चुनाव जितिने ठान्छन् । माओवादी केन्द्रका सचिवसमेत रहेका शिक्षामन्त्री पौडेलका लागि पनि पुनः सोही क्षेत्रका मतदाताबाट अनुमोदन हुनुपर्ने चुनौती छ । विसं २०७४ को चुनावमा वाम गठबन्धनका तर्फबाट उनी विजयी भएका थिए । पौडेलले २८ हजार आठ सय २७ मत ल्याउँदा उनीसँग पराजित कांग्रेसका नीरज पुनले १९ हजार नौ सय पाँच मत पाएका थिए । उक्त चुनावमा एमाले बागलुङ–१ र १ को (१), माओवादी केन्द्र बागलुङ–२ र २ को (२), राष्ट्रिय जनमोर्चा १ को (२) र २ को (१) मा विजयी बनेको थियो । कूल ९५ हजार पाँच सय ६१ मतदाता रहेको बागलुङ–२ (१) र (२) मा अहिले भने सत्ता गठबन्धन र एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धी छन् । गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा समेटिएको प्रदेश (१)मा गठबन्धनबाट कांग्रेसका जीत शेरचन चुनावी मैदानमा छन् । एमालेले आफ्नै उम्मेदवार नउठाए पनि स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई सघाउने भएको छ । घर्ती पनि गत स्थानीय चुनावमा ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्ररूपमा लडेका थिए । माओवादी केन्द्रले टिकट नदिएपछि बिच्किनुभएका घर्ती अहिले एमालेको समर्थन लिएर चुनावमा होमिएकाछन् । विसं २०७४ को स्थानीय तह चुनावमा उनी माओवादी केन्द्रबाटै ताराखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । घर्तीका प्रतिस्पर्धी कांग्रेसका जिल्ला सभापति शेरचन यसअघि दुई पटकसम्म प्रदेशसभा सदस्यमा पराजित भएका थिए । विसं २०७४ र विसं २०७६ मा भएको उपचुनावमा बागलुङ–२ (२) बाट उम्मेदवार बनेर हारेका शेरचनले यो चुनावमा (१) क्षेत्रलाई रोजेकाछन् । कांग्रेस र माओवादीको जनमत बढी रहेको यस क्षेत्रमा ५४ हजार तीन सय ३४ मतदाता छन् । विसं २०७४ को चुनावमा यस क्षेत्रबाट माओवादी केन्द्रका चन्द्रबहादुर बुढा विजयी बनेका थिए । वाम गठबन्धनबाट चुनाव लडेका बुढाले १७ हजार चार सय १५ मत ल्याई कांग्रेसका मञ्जेशबम मल्ललाई पराजित गरेका थिए । मल्लले जम्मा ११ हजार पाँच सय ४६ मत ल्याएका थिए । त्यतिबेला वाम दल एकठाउँ भएर कांग्रेस विरुद्ध चुनावमा होमिएका थिए । बागलुङ–२ (२) मा गठबन्धनबाट कांग्रेसका द्रोर्ण कुँवर चुनावी प्रतिस्पर्धामा छन् । त्यस क्षेत्रमा एमालेबाट लक्ष्मण पुन उम्मेदवार छन् । ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका समेटेको सो क्षेत्रमा ४१ हजार दुई सय २७ मतदाता छन् । यसअघिको प्रदेशसभा उपचुनावमा सो क्षेत्रमा जनमोर्चाका खिमविक्रम शाहीले ११ हजार दुई सय ३५ मत ल्याएर चुनाव जितेका थिए । कांग्रेसका शेरचनले नौ हजार एक सय ३८ मत ल्याएका थिए । अहिले भने कांग्रेसका उम्मेदवारलाई केही सहज हुने देखिन्छ । त्यहाँका २२ वडामध्ये गत स्थानीय चुनावमा एमालेले पाँच मात्रै जितेको थियो । सत्ता गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले पाएको मतभार एमालेका उम्मेदवारको भन्दा बढी छ । विगतको समीकरण र मतभार जेजस्तो भए पनि आउँदो चुनावको परिणामबारे कोही पनि ढुक्क हुने स्थिति छैन । जितको दाबीसहित दल र उम्मेदवार मतदाता रिझाउन तल्लिन छन् । मन्त्रीदेखि र पार्टीका शीर्ष नेतासम्म चुनावी मैदानमा भएकाले यहाँको चुनावलाई पनि चासोपूर्वक हेरिएको छ । बागलुङ–१ मा सत्ता गठबन्धनका तर्फबाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमालेका सूर्यप्रसाद पाठकबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । बागलुङ–१ (१) मा गठबन्धनबाट कांग्रेसका दीपेन्द्रबहादुर थापा र एमालेबाट हिराबहादुर केसी र (२) मा कांग्रेसका डिल्लीराम सुुवेदी र एमालेका नवराज पौडेल चुनावी मैदानमा छन् ।
Tags: