निर्वाचन कर्णाली : बाह्र सङ्घीय सांसदमा पचासी जनाको प्रतिस्पर्धा

Image
कर्णाली – आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी सरगर्मी बढिरहेको छ । निर्वाचनमा जीत हात पार्न गठबन्धन दलसहित देशका प्रमुख पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् । यो पटक कर्णालीमा मङ्गोल नेशनल अर्गनाइजेशन, नेश्नलिष्ट पिपल्स र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तीन जिल्लामा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । विगतमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका ११ जना सांसद यो चुनावमा पनि दोहोरिएका छन् । दोहोरिनेमा सुर्खेत क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का र नेकपा (एमाले) बाट ध्रुवबहादुर शाही, सुर्खेत क्षेत्र नं २ मा नेपाली कांग्रेसकै हृदयराम थानी, सल्यानमा नेकपा ९एकीकृत समाजवादी०बाट प्रकाश ज्वाला, रुकुमपश्चिम र जाजरकोटमा नेकपा (माओवादी केन्द्र) बाट क्रमशः जनार्दन शर्मा र शक्ति बस्नेत छन् । त्यस्तै, दैलेख क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापा, नेकपा एमालेका रवीन्द्रराज शर्मा र दैलखे क्षेत्र नं २ मा एमालेकै लक्ष्मीप्रसाद पोखरेल, कालीकोटमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र डोल्पा समाजवादीका उम्मेदवार धनबहादुर बुढा रहेका छन् । उनीहरुमध्ये यसअघि कसैले संविधानसभा त केहीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जितिसकेका छन् । निर्वाचन आयोगका अनुसार आसन्न मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि सुर्खेत क्षेत्र नं १ मा एक स्वतन्त्रसहित नौ र क्षेत्र नं २ मा नौ गरी १८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै दैलेख १ नं क्षेत्रमा तीन स्वतन्त्रसहित नौ र २ नं क्षेत्रमा पाँच गरी जम्मा १४ जनाको उम्मेदवारी परेको आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा छ । निर्वाचन क्षेत्र नं १ मात्र भएका आठ जिल्लामा सल्यान र रुकुमपश्चिममा तीन÷तीन स्वतन्त्रसहित आठ÷आठ जना, जाजरकोटमा एक स्वतन्त्रसहित छ जना, कालीकोटमा तीन स्वतन्त्रसहित नौ, जुम्लामा एक स्वतन्त्रसहित पाँच, मुगुमा दुई स्वतन्त्रसहित पाँच, हुम्लामा तीन स्वतन्त्रसहित छ र दुई स्वतन्त्रसहित डोल्पामा छ जनाको उम्मेदवारी परेको आयोगले सार्वजनिक गरेको सूचीमा छ । गठबन्धनसहित अन्य प्रमुख दलबाट स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या कर्णालीमा २२ पुगेको छ । यो चुनावमा गठबन्धन दल ९नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा० र नेकपा एमाले त कतै राप्रपाबीच प्रतिस्पर्धा हुने देखिन्छ । कर्णालीको दैलेख क्षेत्र नं १ र जुम्लामा राप्रपा अन्य दलसँग प्रतिस्पर्धीका रुपमा देखिएको छ । सुर्खेत १ नं क्षेत्रमा गठबन्धन दलका साझा उम्मेदवार पूर्णबहादुर खड्का र नेकपा एमालेका ध्रुवबहादुर शाहीबीच प्रतिस्पर्धा हुँदैछ । सुर्खेत क्षेत्र नं २ मा पनि गठबन्धन दलका साझा उम्मेदवार हृदयराम थानी र नेकपा एमालेका अमृतबहादुर बिसीबीच नै प्रतिस्पर्धा हुनेछ । विसं २०७० को संविधानसभा निर्वाचित कांग्रेस नेता थानी पूर्वमन्त्री हुन् । दैलेख क्षेत्र नं १ मा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्षसमेत रहेका अम्मरबहादुर थापा र नेकपा एमालेका रवीन्द्रराज शर्माबीच प्रतिस्पर्धा हुनेछ । दैलेख क्षेत्र नं १ बाट राप्रपाका कुन्ती शाही पनि चुनावी प्रतिस्पर्धामा उभिएकी छिन् । त्यस्तै क्षेत्र नं २ बाट नेपाली कांग्रेसका नेता दिक्पाल शाही र नेकपा एमालेका नेता लक्ष्मी पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । सल्यानबाट एकीकृत समाजवादीका प्रकाश बुढाथोकी ‘ज्वाला’ले गठबन्धनबाट उम्मेदवारी दिएकाछन् । यसअघि प्रदेशसभा सदस्य रहेका ज्वाला यो चुनावमा भने सङ्घीय सांसद पदको चुनावका लागि मैदानमा होमिएकाछन्। ज्वालाको प्रतिस्पर्धीको रुपमा एमालेका राजेन्द्रवीर राय उम्मेदवार हुन्। जाजरकोटमा सत्ता गठबन्धनका साझा उम्मेदवार शक्ति बस्नेत र नेकपा एमालेका नेता निरज आचार्यबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय राजनीतिका हिसाबले नेता बस्नेत यसअघि स्वास्थ्य तथा जनसङ्ख्या, गृह तथा वनमन्त्री भइसकेकाछन् । रुकुमपश्चिममा भने नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनी अर्थमन्त्री हुन् । शर्मासँग नेकपा एमालेका नेता नन्दराम देवकोटा मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा होमिएकाछन् । कालीकोटमा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही रहेकाछन् । शाही विसं २०७४ को चुनावपछि कर्णाली प्रदेशको मुख्यमन्त्री र त्यसअघि सङ्घीय मन्त्री हुन् । उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका युवा नेता नगिन्द्र शाही हुन्। त्यस्तै जुम्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) महिला नेत्री गोमा कुँवर, नेकपा एमालेका नेता रतननाथ योगी र राप्रपाका नेता ज्ञानेन्द्र शाहीबीच प्रतिस्पर्धा हुनेछ । नेपाल मजदुर किसान पार्टीका नेता डिल्लीप्रसाद काफ्ले पनि चुनावी मैदानमा उत्रिएकाछन् । नेता काफ्लेले विसं २०७० मा नेमकिपाको समानुपातिक सभासद् भएर संविधानसभामा भाग लिएका थिए । जुम्लाबाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका डा कलबहादुर रोकायले चुनाव नलड्ने जनाएकाछन्। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार सदस्यसमेत रहेका उनले उम्मेदवारी नझिके पनि प्रेस विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी दिए। सत्ता गठबन्धनले मुगुमा साझा उम्मेदवारका रुपमा नेपाली कांगे्रसका ऐनबहादुर शाहीलाई उठाएको छ । यहाँ पनि शाही र एमालेका उम्मेदवार राजबहादुर कार्कीबीच नै चुनावी प्रतिस्पर्धा हुनेछ । प्रतिनिधिभसा सदस्यका लागि डोल्पाबाट गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा र नेकपा एमालेका गणेशबहादुर शाही प्रतिस्पर्धामा छन् । हुम्लामा पनि गठबन्धन दल र नेकपा एमालेका उम्मेदवारबीचको प्रतिस्पर्धा भइरहेको छ । गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र) का छिरिङ डम्डुल लामा (कार्चेन) र एमालेका दल रावल चुनावी मैदानमा छन् । लामा कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र रावल सामाजिक विकासमन्त्री भइसकेका छन् । कर्णालीका स्वतन्त्र उम्मेदवार कर्णाली प्रदेशका १० जिल्ला गरेर प्रतिनिधिसभा सदस्यका लागि १२ वटा निर्वाचन क्षेत्र छन् । बाह्र सिट मात्र भएको प्रतिनिधिसभा सदस्य पदका लागि २२ जनाको स्वतन्त्र उम्मेदवारी रहेको छ । स्वतन्त्र उम्मेदवारी दिनेहरुमा सल्यानबाट राजेन्द्रबहादुर शाह, डिल्लीबहादुर बुढाथोकी र जुद्धबहादुर सिंह रहेका छन् । डोल्पाबाट बद्मीक्वारी बोहोरा र वीरबहादुर रोकाय, मुगुबाट भीमचन्द्र हमाल र कृष्णबहादुर सेजुवालको स्वतन्त्र उम्मेदवारी परेको छ । त्यस्तै जुम्लाबाट डा कलबहादुर रोकाय, कालीकोटबाट काशीचन्द्र बराल, धनप्रसाद पाण्डे र लक्षु चौलागाईं, जाजरकोटबाट नरबहादुर कार्की, दैलेख क्षेत्र नं १ बाट गणेशबहादुर शाही, गोपाल नेपाली र निरबहादुर थापा तथा सुर्खेत क्षेत्र नं १ बाट मानसिंह ठकुरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यता रुकुमपश्चिमबाट राजन पाण्डे, तारक केसी र लालबहादुर महतको स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दिएकामध्ये जुम्लाका रोकायले यस अघि नै सत्ता गठबन्धनलाई सघाउने प्रेस विज्ञप्तिमार्फत जानकारी गरासकेकाछन् भने रुकुमपश्चिमका तीनै स्वतन्त्र उम्मेदवारले गठबन्धनलाई नै समर्थन गर्ने सहमति भएको नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले जानकारी दिए। निर्वाचन आयोगको सार्वजनिक तथ्याङ्कअनुसार हाल कर्णालीका १० जिल्ला गरेर १० लाख ८५ हजार चार सय तीन मतदाता छन् । यसमध्ये डोल्पामा २२ हजार चार सय ४०, हुम्लामा ३२ हजार आठ सय ५७, मुगुमा ३४ हजार नौ सय ६२, जुम्लामा ६८ हजार तीन सय ४४ र कालीकोटमा ७२ हजार ८० मतदाता छन् । त्यस्तै रुकुमपश्चिममा ९२ हजार तीन सय ४७, जाजरकोटमा एक लाख तीन हजार तीन सय ६३, सल्यानमा एक लाख ५७ हजार सात सय एक, दैलेखमा एक लाख ४८ हजार छ सय ७६ र सुर्खेतमा दुई लाख ४३ हजार छ सय १४ जना मतदाता रहेका आयोगको तथ्याङ्कमा उल्लेख छ ।  
Tags: