एमाले विद्रोह गरेका भुसालको आरोप, ‘ओलीले जनमतलाई दाइजो ठान्छन्’
बुटवल – नेकपा एमाले परित्याग गरी रुपन्देही १ मा सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो निर्वाचनमा पाएको जनमतको अपमान गरेको बताएकाछन् ।
अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लड्दा झण्डै दुई तिहाइ जनमत पाएको तर ओलीले त्यसलाई आफ्नो दाइजो ठानेर जनमतकै अपमान गरेको उनको आरोप छ ।
रुपन्देहीको रोहिणीमा गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गर्दै नेता भुसालले प्राप्त जनमतलाई तत्कालीन नेकपाका अध्यक्ष ओलीले दाइजो जस्तो नठानेको भए नेकपा विभाजन नहुने तर्क गरे । धेरै समय ओलीकै आलोचनामा खर्चिएका भुषालले नेकपा जस्तो विशाल पार्टीलाई ध्वस्त पार्ने काम ओलीले नै गरेको आरोप लगाए ।
नेता भुसालले ओलीमा राणाहरुको जस्तो दम्भ भएको बताए । ओलीको दम्भकै कारण कैयौं निष्ठावान नेताको भविष्य समाप्त भएको भुसालको टिप्पणी थियो । निष्ठावान नेताहरुलाई ओलीले चुनावमा टिकटसमेत नदिएकोप्रति संकेत गर्दै ओलीको एकल निर्णयले पार्टीमा विधि र नीति कायम गरेका नेताहरुलाई पाखा लगाएको भुसालले तर्क गरे ।
नेपालमा विश्वकै उत्कृष्ट संविधान बनेर देश समृद्धिको दिशामा लाग्न थालेको बेला संसद र संविधानमाथि नै प्रहार गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको उनको भनाइ छ । दुई पटक संसद विघटन गर्ने ओली नेतृत्वको एमालेमा रहेका नेताहरुले जनताको घर दैलोमा भोट माग्नु लज्जाको विषय हुने उनको तर्क छ । ‘संविधान विघटन गर्नेहरुलाई भोट माग्न आउँदा प्रश्न गर्नुहोला, संविधान च्यात्नेलाई भोट दिने कि संविधानको रक्षा गर्नेलाई ?’, उनले प्रश्न गरे।