कांग्रेसको प्रतिवद्धता : आफ्नै नेतृत्वमा सरकार र पाँच वर्षभित्र साढे १२ लाख रोजगारी

Image
-सिबी अधिकारी काठमाडौं – नेपाली कांग्रेसले शनिबार आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिवद्धता पत्रमा समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने उल्लेख छ । ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार ः नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारासहित कांग्रेसले निरन्तरतामा नवीनता र सम्मुनत नेपालको मार्गचित्रसहितका विषयवस्तु प्रस्तुत गरेको छ । कांग्रेसले पाँच वर्षभित्र १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र न्यूनतम् वार्षिक सात प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने प्रतिबद्धता जनाएको छ । ‘ओम्निबस’ आर्थिक सुधारको नयाँ चरण प्रारम्भ गर्दै अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश पाँच दशमलव छ प्रतिशतबाट नौ प्रतिशत कायम गर्ने नीति लिइएको छ । कांग्रेसको प्रारम्भिक लक्ष्य तय गर्दै झन्डै ७५ वर्षअघि बिपी कोइरालाले कल्पना गर्नुभएको समुन्नत नेपालको अवधारणका आधारमा सङ्कल्पपत्र तयार गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । पुँजी सङ्ग्रह र आर्थिक वृद्धि महत्वपूर्ण साधन हुन् तर विकासको साध्य भनेको नागरिकको स्वतन्त्रता, सक्षमता र सवलीकरण नै हो भन्दै कांग्रेसले समुन्नत नेपाल बिपी कोइरालाकै समतामूलक समाजको परिकल्पनाको विस्तारित व्याख्यालाई सङ्कल्पपत्रमा उल्लेख गरेको छ । क्षेत्रगत प्राथमिक एजेन्डाका रुपमा समग्र शिक्षा प्रणालीलाई आर्थिक–सामाजिक रुपान्तरण गरी सबै नागरिकलाई सक्षम, सबल र स्वाभिमानी बनाउने कांग्रेसको लक्ष्य छ । गुणस्तरीय शिक्षाको सुनिश्चितता नभएको, प्राविधिक शिक्षा सबैको पहुँचमा नपुगेको र सूचना प्रविधिको तीब्रतर बदलिँदो अवस्था र प्रयोगलाई मध्यनजर गर्दै २१औँ शताब्दीले आत्मसात् गरेको सिकाइ पद्धति अपनाएर वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्ने कांग्रेसको प्रतिबद्धता छ । कांग्रेसले पाँच वर्षभित्र सिकाइको सङ्कटको मापन संस्थागत गर्ने, महिला (१५–२४ वर्ष) साक्षरता दर ९५ प्रतिशत पु¥याउने, इन्टरनेट सेवा पुगेका शैक्षिक संस्था ८० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । कक्षा ११ मा भर्ना हुने दर कम्तीमा ५० प्रतिशत पु¥याउने, पाठ्यक्रममा प्राविधिक र व्यावसायिक सीप ४० प्रतिशत, पाठ्यक्रममा प्राविधिक र व्यावासायिक सीप ४० प्रतिशत बनाउने कांग्रेसले नीति अघि सारेको छ । विगतमा लिएको स्वास्थ्य नीतिका कारण नेपालले जनस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको ठहर गर्दै कांग्रेसले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच स्थापित गर्न नेपालको संविधान र मुलुकको आवश्यकताअनुरुपको जनताकेन्द्रित एकीकृत राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने सङ्कल्प लिएको छ ।  
Tags: