दुई बलिया उम्मेदवारको रोचक भिडन्त : ढुक्क छैनन् कोही

Image
भुसाललाई कांग्रेस भित्रको अन्तरघातको डर रायमाझीलाई त्यसकै भर अर्घाखाँची– निर्वाचनको मिति नजिकिँदै गर्दा संभावित चुनावी परिणामको अंक गणितको हिसाब किताब सुरु भएको छ । निर्वाचनमा परिणाम आफ्नो पोल्टामा पार्नको लागि चर्को प्रतिस्पर्धा भइरहँदा एक मात्र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र भएको अर्घाखाँची समेत चर्चामा छ । नेपाली कांग्रेसको संघीय संसद अन्तरगत संसदीय दलको सचेतक हुँदै उपसभामुखसम्म बन्ने अवसर पाएकी वौद्धिक नेतृ पुष्पा भुसाल र माओवादी हुँदै नेकपा एमालेमा गएका एमाले सचिव टोप बहादुर रायमाझीको चुनावी यस पटक रोचक हुनेछ । गएको स्थानीय तहको चुनावी परिणामलाई हेर्ने हो भने सत्ता गठबन्धनको मत अगाडि देखिन्छ । जिल्लामा एक्लो मतमा बलियो रहेको एमालेलाई स्थानीय तहको निर्वाचनको परिणामलाई सुरक्षित राख्दै गठबन्धनको मत काट्ने चुनौती छ । रायमाझी स्थानीय निर्वाचनमा खसेको मत सुरक्षित हुने कुरामा निश्चिन्त जस्तै देखिन्छन् । स्थानीय निर्वाचनमा जिल्लामा कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र समाजवादी केन्द्र अधिकांश स्थानमा गठबन्धन गरेका थिए । केही स्थानमा छुट्टा छुट्टै लडेका भए पनि कम्तीमा प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा एकै चिन्हमा भोट खस्ने अनुमान गर्न सकिन्छ । स्थानीय तहको तथ्यांकलाई हेर्दा गठबन्धनको मत ५५ हजार ४ सय ८१ छ । जवकी स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गरेको एमालेको मत ४६ हजार ८ सय ८५ छ । स्थानीय तहको निर्वाचनमा अन्तरघातका कारण अनपेक्षित परिणाम आएको बताउने जिल्ला कांग्रेसलाई अहिले पनि सोही प्रवृत्ति दोहोरिने हो कि भन्ने त्रास छ । पार्टी भित्र अन्तरघात नभएको अवस्थामा नेतृ भुसाललाई जित सहज हुने अनुमान छ । शुरु देखि नै पार्टीले टिकट नेतृ भुसाललाई नै दिने निश्चित जस्तै देखिएको भएपनि जिल्लामा आधा दर्जन आकांक्षी चर्चामा थिए । खासगरी भुसाल पार्टीको संस्थापन पक्षको भएको र संस्थापन इतरका नेताहरु विष्णु मुस्कान, डा.राम बहादुर बिसी, रेवती प्रसाद भुसाल, लेखनाथ पोखरेल, डा.मुक्तिराम श्रेष्ठ लगायत अन्तिमसम्मै चर्चामा थिए । पार्टी भित्रै निर्विकल्प नबनेकी भुसाल एमालेमा एकल सिफारिस भएका एमाले सचिव रायमाझीबीचको भिडन्तलाई रोचक रुपमा हेरिएको छ । नेतृ भुसाल पार्टी भित्रै शसंकित भएको भएपनि गठबन्धनमा केही ढुक्क जस्तो देखिन्छिन् । जिल्लामा माओवादीको आफ्नो उम्मेदवार छैन तर पनि एमाले सचिव रायमाझी माओवादीबाट एमालेमा गएको कारण जिल्ला माओवादी रुष्ट बनेको कारण उनले माओवादी समर्थकको मत पाउने संभावना कम छ । त्यस्तै जिल्लामा बलियो पार्टीको रुपमा रहेको अर्को दल राष्ट्रिय जनमोर्चाले समेत प्रदेशसभा तर्फबाट गठबन्धनको साथ पाएकोले कांग्रेसलाई धोका नहुने अनुमान छ । शुरुमा गठबन्धनको तर्फबाट प्रदेश (ख) मा ठाकुर कुमार वि.कको उम्मेदवारी परेपछि रुष्ट भएका जनमोर्चा अन्तिम समयमा वि.कको उम्मेदवारी फिर्ता भएर आफ्ना उम्मेदवार सागर केसीको उम्मेदवारीलाई गठबन्धनले स्वीकारे पछि गठबन्धन प्रति सकारात्मक बनेको छ । धेरैले जनमोर्चाको भोट रायमाझीलाई जानसक्ने अनुमान गलत गएको अवस्थामा कांग्रेस नेतृ भुसाललाई जित सहज छ । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि २०६४ सालको पहिलो संविधानसभामा नेकपा माओवादीबाट सभासद बनेका रायमाझी यस पटक नेकपा एमालेबाट प्रतिनिधिसभाको उम्मेदवार बनेकाछन् । २०६४ साल देखि जिल्लामा प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका रायमाझी २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा निर्वाचित भएर लुम्बिनी अञ्चलमा कमजोर परिणाम ल्याएको माओवादीको इज्जत धानेका थिए । त्यसपछि २०७४ सालमा भएको संसदीय निर्वाचनमा एमालेको साथ पाएर माओवादीबाटै संसदमा प्रवेश गरेका उनी अहिले माओवादीमा छैनन् । पटक–पटक शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाएका रायमाझीले भेगिय राजनीति गरेको दक्षिण खाँचीलाई वेवास्ता गरेको आरोप लाग्दै आएको छ । तथापी पछिल्लो समय उनी जिल्लामा धेरै क्रियाशिल छन् । सामान्य भन्दा सामान्य कामको लागि पनि गाउँ गाउँमा आफ्नो उपस्थिति देखाउने उनको पछिल्लो रणनीतिलाई चुनावी रणनीतिको रुपम हेर्न सकिन्छ । जनतामा पुग्ने कुरामा कांग्रेस नेतृ कमजोर मानिन्छिन् । पार्टीमा बलियो पहुँच बनाएको भएपनि एक पटक प्रत्यक्ष र दुई पटक समानुपातिकबाट सांसद बनेकी भुसाल मन्त्री बन्न पाएकी छैनन् । आफूले मन्त्री नबने पनि जिल्लाका विकास निर्माण र नागरिकका सवालमा आवाज उठाउँदै आएको उनको दावी छ । २०७४ को चुनावमा कांग्रेसका उम्मेदवार डा.राम बहादुर बिसीलाई माओवादीको उम्मेदवार रहेका रायमाझीले एमाले र राजमोको सहयोगमा १८ हजार ४ सय ४४ मतान्तरले पराजित गरेका थिए । रायमाझीको त्यो ह्याट्रिकलाई संसदमा उपस्थितिका हिसाव अर्को ह्याट्रिक गरेकी कांग्रेस नेतृ भुसाललाई जित्न त्यति सहज छ्रैन ।
Tags: