चितवनमा डेंगु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघे

Image
चितवन–चितवनमा डेंगु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ। सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेंगु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो। कार्यालयको तथ्याङ्कानुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवन जिल्लाभित्रका छन्। जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन्। चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ। चितवनमा यो अवधिमा डेंगु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको कार्यालयले जानकारी दिएको छ। चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेंगु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन्। भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ। खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेंगु देखिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। अझै केही समय डेंगु सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले बताए। उनले जाडो बढेसँगै डेंगु कम हुँदै जाने अनुमान गरिएको बताए।
Tags: