दैलेख– भोसो कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा खेलिने लोकनृत्य हो । दैलेखका विभिन्न स्थानमा भोसो खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको रातमा खेल्ने चलन छ ।

सदरमुकाम नजिकैको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसो अहिले पनि खेल्ने गरिन्छ । दैलेखको जाहरकोट, रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा तथा दुल्लुलगायतका क्षेत्रमा भोसो संस्कृति कायमै छ । भोसो भिन्न–भिन्न नामले परिचित छ । भोसोलाई कतै भुओ, कतै भोसी त कतै भास्सी पनि भन्ने गरेको पाइन्छ । आदिकालदेखि नै यस खेललाई जस्ताको तस्तै ९हुबहु० मान्दै आएको पाइन्छ । वर्ष दिनको एकपटक मात्र खेलिने खेल भएकाले पनि यस खेललाई ‘एकदिने खेल’ पनि भन्ने चलन छ ।

यो मुलतः पुरुषप्रधान खेल हो । नारीहरूका लागि रत्यौलीजस्तै भोसो हो । भोसोमा व्यक्त गरिने शब्द सुरुआतकालदेखि नै प्रचलनमा रहेको नारायण नगरपालिका–२ का लालबहादुर थापा बताउँछन् । भोसो खेलाडीलाई भुआरा भन्ने चलन छ । भोसोमा कोठी बनाइन्छ, जसलाई जलाउने ठाउँलाई अधिकांश क्षेत्रमा भुवाखाडा भन्ने गरिन्छ । भोसो व्यवस्थापन गर्ने मुलीलाई नायक भन्ने चलन छ । त्यस्तै भोसो खेल्दा प्रयोग गर्न सल्लाको दियालोबाट निर्माण गरिने राँको बोक्ने पालकीलाई कोठी भन्ने चलन छ । पहिले–पहिले भोसी खेल सप्ताहव्यापीरूपमा खेलिने गरेको भए पनि पछिल्ला वर्षहरूमा भने छोट्याइएको छ ।

यसरी हुन्छ भोसोकोे सुरुआत

गाउँका विभिन्न टोलबाट छुट्टाछुट्टै भोसो निकाल्ने परम्परा छ । गाउँका भोसी खेल्ने भुआराहरू जम्मा भएर भोसीको सुरुआत गर्दछन् । भोसीका लागि बनाइने कोठीमा राख्न हप्ता दिन अघिदेखि नै दियालोको (झोरो) को जोहो गरिएको हुन्छ । दियालो राख्न बनाइने कोठी साल वा बाँसको निर्माण गर्ने चलन छ । जसलाई पालकीजस्तो बनाएर चार जनाले काँधमा भोसी गाउँदै अघिपछि गर्ने गर्दछन् ।

लक्ष्मी पूजाको बिहानीपख भोसो सेलाउने चलन हुन्छ । अथवा भोसो समापन गर्ने चलन हुन्छ । नदी वा धारा, मूल नजिक वा भोसो सेलाउने निर्धारित ठाउँ पहिले नै तोकिएको हुन्छ । नारायण नगरपालिका–२ जाहरकोट गाउँको हकमा भोसो सुरुआत गरेको झण्डै दुई किलोमिटर टाढा रहेको भुवाखाडामा यो सेलाउने परम्परा छ । धार्मिक, सांस्कृतिक र सामाजिक मान्यता बोकेको भोसो, धमारी, चुट्किलाजस्ता खेल विशुद्ध ठट्टा र भद्दा मजाक मात्र नभएर सामाजिक सद्भावको बन्धनलाई कसिलो बनाउँछ ।

कोठी सेलाएपछि सिलङ्गेडाली, चुट्का, धमारी र मारुनी गाउँदै नाच्दै घरघरमा भैलो खेल्ने, सिलिङ्गी डाली खेल्ने, भैली खेल्ले गरिन्छ । त्यसपछि भोसोको समापन हुन्छ । भोसोको कोठी सेलाइसकेपछि धमारी गाउने अर्को परम्परा छ । यस भाकाको पनि लोक संस्कृतिमा निकै महत्वपूर्ण स्थान छ । विशेषगरी विवाह, व्रतबन्धलगायत शुभकार्यको बेलामा धमारी, चुट्किला, माङ्गल गाउने चलन छ । तर पुस्तान्तरण चुनौतीपूर्ण बन्दै गएकाप्रति अगुवाहरू चिन्तित छन् ।

भोसो संस्कृतिलाई जीवन्त राख्नका लागि पुस्तान्तरण आवश्यक रहेको अगुवाहरू बताउँछन्। वर्ष दिनमा एकपटक नाचेर वा गाएर पुरानै लयलाई हुबहु उतार्न नयाँ पुस्तालाई पनि सजिलो नभएको जाहरकोटकी लक्ष्मी थापा बताउँछन् । “पुर्खादेखिको यो संस्कृतिलाई जगेर्ना गर्नुपर्छ, अनि पुस्तान्तरणमा पनि ध्यान दिनुपर्छ”, उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय