बन्दसूचीका ५५० जनाको उम्मेदवारी खारेज

Image
काठमाडौं –आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका पाँच सय ५० व्यक्तिको उम्मेदवारी खारेज भएको छ । समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका छ हजार चार सय ५७ उम्मेदवारमध्ये निर्वाचन कानून र निर्वाचन आचारसंहिताबमोजिम तोकिएको जरिवाना नबुझाउने तीन सय ६९ सहित उम्मेदवारका सम्बन्धमा परेको दाबी विरोधउपर जाँचबुझ गरी उम्मेदवारको नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक र कालोसूचीमा रहेका एक जनाको नाम पनि हटाइएको छ । प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यका लागि दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारको सम्बन्धमा जाँचबुझ गर्दा दाबी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण पेश नगरेको पाइएको र २०७९ कात्तिक ५ गतेभित्र तोकिएको जरिवाना बुझाउने मौका प्रदान भएकोमा सो अवधिभित्र समेत जरिवाना नबुझाउने तीन सय ६९ को नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको हो ।
Tags: