‘ओलीले गठबन्धन गर्न हुने हामीले नहुने ?’ : प्रधानमन्त्री देउवा

Image
जनकपुर– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीले गठबन्धन गर्न हुने अरुले गर्न किन नहुने भन्दै प्रश्न गरेका छन् । “एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गर्न हुने, हामीले किन गर्न नहुने ?” प्रधानमन्त्री देउवाले प्रश्न गर्दै उनले प्राप्त उपलब्धिहरुको रक्षाका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुपर्ने बताए । पाँच दलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गणतन्त्रलाई स्थायीत्व दिन गठबन्धन आवश्यक भएको बताए । उनले भने “मुलुकलाई बचाएर लोकतन्त्र, सङ्घीय गणतन्त्रलाई स्थायी बनाउन सबै नेता तथा कार्यकर्ताले घरघरमा गएर सबैसँग भोट हाल्न लगाएर गठबन्धनलाई जिताउन आवश्यक छ ।” गणतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धन गरिएकाले जिताउनुपर्ने उनको भनाई छ । लोकतन्त्र र गणतन्त्रलाई स्थायित्व गराउन र प्राप्त उपलब्धिहरुको रक्षा गर्न पाँच दलबीच गठबन्धन भएको उल्लेख गर्नुहुँदै उहाँले सत्तारुढ गठबन्धनका दललाई एक अर्का दलको चुनाव चिह्नमा मतदान गर्न कुनै अप्ठ्यारो नमान्न आग्रह गरे । “देश बचाउनु छ, सँगसँगै गठबन्धन पनि जोगाउनु छ”, प्रधानमन्त्री देउवाले भने, “संविधानको रक्षा, समावेशी, सङ्घीयता, गणतन्त्रको रक्षा र संविधान जोगाउनका लागि गठबन्धन गर्नु अहिलेको आवश्यकता हो ।” गठबन्धनको सरकार बनेपछि धेरै अवसर सिर्जना हुने र ती ठाउँमा अहिले अवसर नपाएकाको माग सम्बोधन गरिने उनको भनाइ थियो । आसन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले विकास र परिवर्तनका निम्ति पाँच दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए ।  
Tags: