नवौँ राष्ट्रिय खेलकुद: आइटिएफ तेक्वान्दोमा ७४ पदकको टुङ्गो

Image

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा ७४ पदकको टुङ्गो लागेको छ । आज साँझसम्म भएका खेलमा २५ स्वर्ण, २५ रजत र २४ कास्य पदकको छिनोफानो भएको हो ।

प्रतियोगितामा ११ स्वर्ण, सात रजत र दुई कास्यसहित विभागीय टिम नेपाल आर्मी सबैभन्दा अगाडि छ । प्रतियोगितामा दोस्रो स्थान बनाउँदै गण्डकी प्रदेशले पाँच स्वर्ण, पाँच रजत र एक कास्यपदक जितेको छ । पाँच स्वर्ण, दुई रजत र दुई कास्यपदक लिएर बागमती प्रदेश तेस्रो स्थानमा छ । लुम्बिनी प्रदेशले एक स्वर्ण, चार रजत र आठ कास्यपदक हासिल गरेको छ । प्रदेश नं १ ले दुई स्वर्ण, तीन रजत र तीन कास्यपदक जितेको छ । विभागीय टिम सशत्र प्रहरी बलले पदक तालिकामा एक स्वर्ण, दुई रजत र तीन कास्यपदक बनाएको छ । कर्णाली प्रदेशले दुई रजत र दुई कास्य जित्दा विभागीय टिम नेपाल पुलिसले तीन कास्य पदक हात पारेको छ । मधेस र सुदूरपश्चिम प्रदेशले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको छैन । प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार मङ्गलबार भएका खेलमा नेपाल आर्मीले चार, गण्डकीले दुई, १ नं प्रदेशले दुई, सशत्र प्रहरी बल र लुम्बिनी प्रदेशले एक/एक स्वर्ण जितेका थिए । प्रतियोगिताका पुरुष एकल स्पाइरिङ र पुरुष/महिला टिम स्पाइरिङका खेल बुधबार बिहानदेखि खेलाइने आइटिएफ नेपालका महासचिव अञ्जु रावतले जानकारी दिनुभयो ।
Tags: