कात्तिक ३ देखि चार दिने गोदावरी फूल मेला हुने, यस्तो पुष्प क्षेत्रको पछिल्लो अवस्था

Image
काठमाडौं। फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ । प्रदर्शनीको ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ २०७९ कार्तिक ३ देखि ६ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा हुने मेला संयोजक सिताराम पन्तले बताए । सोमबार पत्रकार सम्मेलन गर्दै फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको एसोसिएशनले जनाएको छ। तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागेको जनाइएको छ। प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्मा ५५ वटा प्रदर्शनी कक्षहरु रहने पन्तले जानकारी दिए । हरेक वर्ष तिहारमा २० लाख सयपत्री, मखमली ३ लाख र गोदावरीको २५ हजारसम्मको मालाहरु खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिन बहादुर तामाङले बताए । नेपाल ९० देखि ९१ प्रतिशत फूलमा आत्मनिर्भर भएको तामाङले बताए । उनका अनुसार विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारणले फुल उत्पादन घटेको थियो । तर अहिले १० देखि २० प्रतिशत फूलको माग बढ्नुका साथै उत्पादन पनि बढेको छ । “नेपालमा विशेषगरि फूलहरु तिहार र प्रेम सप्ताहामा बढी माग रहेको छ । बाकीँ महिनाहरुमा त्यति धेरै माग नभएकाले र हाम्रो बजार सानो भएकाले उत्पादकहरु घाटामा जाने सम्भावना बढी छ ।’’ तामाङले भने । “हामीकोमा जति पनि उत्पादनमा प्रयोग हुने मल, विउ र औजारहरु भारतबाट आयात गर्छौ । यस्तो अवस्थामा हामीले उत्पादन गरेको फूल र भारतले उत्पादन गरेको फूलको प्रतिश्प्रधा गर्ने कुरा हुदैँन त्यसकाराण हामीले सरकारसँग बारम्बार भनेका छौँ अग्रीम आयात कर बढाउन पर्यो त्यो गर्दा हाम्रो उत्पादनले प्रतिश्प्रधा गर्न सक्छ,’’ तामाङको भनाइ छ । गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने भएको छ । प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ। प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १० मिनियचर, २० स्पाईडर, ३० रिफ्लेक्स, ४० ईन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाती छन् । मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने जनाइएको छ । नर्सरी र फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ। पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै स्थलबाटै प्रदान गरिने एसोसिएशनले जनाएको छ । यस वर्षको गोदावरी फूलको प्रदर्शनीमा ३७ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै ८० लाख सम्मको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ । नेपालमा वि.सं. २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसंगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ । हाल ४८ जिल्लामा लगभग १७८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन । ७३२ भन्दा बढि पुष्प व्यवसायीहरु संलग्न रहेको यस व्यवसायमा ६.५ अरव भन्दा बढिको लगानी रहेको छ । कोभिड महामारका कारण बिगत दुई बर्ष देखि कोभिड–१९ महामारीका कारण पुष्प ब्यवसाय समस्याग्रष्ट अवस्थामा रहेकोमा २०७८÷०८९ मा कोभिड–१९ को असर केहि कम देखिएकोले समग्र व्यवसायीक तथा आर्थिक क्षेत्रहरु केहि चलायमान र सुधारउन्मुख हुदा पुष्पको बजारीकरणको क्षेत्रमा पनि सुधार आएको एसोशिएसनले जनाएको छ । यद्यपी कोभिड सुरु हुनु पुर्वको पुष्पको बार्षिक कारोबारको अवस्थामा अझै पनी पुग्न सकेको अवस्था नभएको बताइन्छ । आव ०७७÷७८ मा बर्षै भरी कोभिड–१९ को कहर रहेका कारण भएको निषेधाज्ञाले गर्दा व्यवसायीक कारोबारमा कमी आई रु. १ अर्व ६३ करोडको मात्र कारोबार भएको थियो । तर बजारिकरणमा सुधार आई अघिल्लो बर्षको बार्षिक कारोबार तुलानामा करिब ३० प्रतिशतले बृद्धि भई रु.२ अर्व ३० करोडको हाराहारीमा कारोबार भएको अध्यक्ष तामाङले बताए । आव ०७८÷७९ मा पुष्प तथा पुष्पजन्य बस्तुको निर्यात तर्फ रु ९८.६० लाख र आयात तर्फ ३६.०५३५ करोड बराबरको कारोबार भएको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४३ हजार ५०० भन्दा बढी जनशक्तिहरु रोजगार÷आश्रीत रहेकोमा कोभिड–१९ कारण १० प्रतिशत भन्दा बढिले रोजगारी गुमाई हाल ३९ हजार १०० को हाराहारीमा रोजगार रहेको एसोसिएशनको तथ्यांक छ ।
Tags: