महानगरले कुकुर सम्हाल्ने

Image
काठमाडौँ – काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले सहरमा भएका सामुदायिक कुकुर व्यवस्थापनका लागि सम्बन्धित क्षेत्रमा ज्ञान, सीप र दक्षता भएका संघसंस्थाहरुसँग दरिलो सहकार्य अगाडि बढाउने कुरामा जोड दिएकी छिन् । उपप्रमुख सुनिता डंगोलले सामुदायिक कुकुरको संख्या बढ्ने क्रममा रहेकोले कार्यक्रम तीब्र बनाउनु पर्ने माग आइरहेका बेला महानगरको स्वास्थ्य विभाग, पशुपंक्षी महाशाखा र इन्स्टिच्युटका अधिकारीहरुसँगको बैठकमा यस्तो बताएकी हुन् । अहिले महानगरले द जेन गुडल इन्ष्टिच्युटसँगको सहकार्यमा सामुदायिक कुकुरको बन्ध्याकरण, रेविज विरुद्धको खोप र पुनस्र्थापनाका लागि मनुमित्र नाम दिएर परियोजना सञ्चालन गरिरहेको छ । ‘पशुकल्याणलाई मापदण्ड मानेर सामुदायिक कुकुर व्यवस्थापन गर्नु महानगरका लागि प्राथमिक काम हो । यसका लागि दिगो सहकार्य गर्न हामी तयार छौँ ।’ उपप्रमुख डंगोलको भनाइ थियो । बैठकमा महानगरको खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखाका प्रमुख डा. अवधेश झाले, विगतका ज्ञान, सीप र अनुभवलाई निरन्तरता दिँदै क्षमता भएका अन्य संघ संस्थाहरुसँग पनि सहकार्य गर्ने तयारी भएको जानकारी दिए । ‘बन्ध्याकरण र रेविज विरुद्धको भ्याक्सिनका निश्चित रकम उपलब्ध गराउने, यसको सबै काम क्षमता भएका संघ संस्थाले गर्ने गरी कार्यक्रम तयार गर्दैछौँ । कार्यक्रम स्वीकृत भएपछि सार्वजनिक सूचनामार्फत संघसंस्थाहरुलाई सहकार्यका लागि आव्हान गर्छौँ’ डा. झाले भने । बैठकमा इस्न्टिच्युटका प्रतिनिधिहरुले सामुदायिक कुकुर व्यवस्थापनमा महानगरको सहकार्यमा प्राप्त भएका उपलब्धी र सिकाइका विषयमा जानकारी गराएका थिए । सहरमा भएका सामुदायिक कुकुरहरुको भिन्न भिन्न अवस्था छ । सामान्यतया कुपोषण भएका, रोगी, दुर्घटनामा परेर हिँडडुल गर्न कठिन अवस्था भएका, बच्चालाई दूध चुसाउँदै गरेका कुकुरहरु भेटिन्छन् । यस्ता कुकुरहरुले मानिसहरुलाई टोक्ने, झम्टने, सवारी साधनलाई खेदाउनेजस्ता समस्या सिर्जना गर्ने गरेका छन् ।  
Tags: