पत्रकारितामा सुधार्नु पर्ने वैयक्तिक गोपनीयताका १३ बुँदा

Image
भानुभक्त आचार्य आमसंचारका अध्यता भानुभक्त आचार्यले पत्रकारितामा सुधार्नु पर्ने वैयक्तिक गोपनीयताका १३ बुँदा औल्याएकाछन् । उनले सामाजिक संजालमा यसका सन्दर्भमा आफ्नो राय राखेका हुन् । यस्तो छ उनको विचार : १- कानुनले आरोपितलाई अपराध प्रमाणित नभएसम्म निर्दोषसरह व्यवहार गर्नुभन्छ । तर हाम्रा सञ्चारमाध्यमले तत्कालै आरोपितलाई अपराधी करार गरिहाल्छन् । हिजो सन्दिप लामिछाने, अस्ति पल शाह जस्ता हजारौं घटनाहरू छन्, जहाँ पत्रकार र सञ्चारमाध्यमले प्रहरीले औपचारिक रुपमा मुद्दा दायर नगरीकनै पीडित र आरोपितका निजी सूचनाहरू छताछुल्ल पारेका छन् । २- आरोपितलाई कानुनी दायरामा ल्याएर न्यायिक प्रक्रियामा लैजाने कुरामा बिमति हुँदै होइन । तर आरोप प्रमाणित नभएका दर्जनौं घटनाहरू छन्, जहाँ मिडिया रिपोर्टिङका कारणले आरोपित वा पिडित अझ पिडित भएका हुन् । ३- विदेशतिर आरोप लाग्ने बित्तिकै त्यो व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक गर्न कानुनतः बन्देज लगाइएको हुन्छ । आरोपितलाई जनाउन प्रहरीले कुनै कोड वा संकेत दिन्छ । जस्तै ‘फलानोको घर लुटपाटमा संलग्न ककेसियन मूलको वर्ष ४० को पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।’ प्रहरीको प्रारम्भिक छानबिनले आरोप पुष्टि हुने आधार सहित अदालतमा मुद्दा चलेको अवस्थामा पनि त्यो घटनामा संलग्न व्यक्तिहरूको विवरण सार्वजनिक गरिँदैन । ४- यदि आरोपित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक गरिएमा त्यो व्यक्तिले सफाइ पाएको खण्डमा दशौं लाख जरिवाना दाबी गरेर पत्रकार र मिडियाका विरुद्ध मुद्दा हाल्छ । त्यहाँ पत्रकार चोख्याउन प्रेस काउन्सिल वा कुनै राजनीतिक दलका कार्यकर्ता पत्रकार हुँदैनन् । तब मिडियाले जरिवामा तिर्नै पर्छ । ५- हिजो सन्दीप लामिछानेको केसमा पीडितको जाहेरीका आधारमा सन्दीप लामिछानेका विरुद्ध जतिपनि समाचार आए त्यसलाई पुष्टि गर्ने आधार भनेको प्रहरीको गोप्य स्रोत हो । प्रहरी संगठनमा पनि यस्ता संवेदनशील सूचनाको संरक्षण गरी न्यायिक प्रकृयालाई अघि बढाउनु पर्नेमा पत्रकार र मिडियाको प्यारो हुने लालसा छ । अझ कतिपय प्रहरीले त पीडितको जाहेरीकै फोटो खिच्नै पनि दिनसक्छन् । ६- कतिपय मिडियाले सन्दीप लामिछानेको तीन पुस्ते विवरण सार्वजनिक गरिसकेपछि उसको फोटोमा एक धर्सो कालो पोतेका छन् । मानौं, आरोपितको सबै गोपनीयता त्यही कालो धर्सोले संरक्षण गर्छ । सञ्चार संस्था र पत्रकारलाई यस्ता संवेदनशील सूचनाका बारेमा वा व्यक्तिको गोपनीयताको संरक्षणका बारेमा सोच्ने फूर्सत छैन । ७- पल साह प्रकरणमा कतिपय मिडियाले समीक्षा अधिकारीका तर्फबाट उनका पिताले दिएको जाहेरीको कपि नै जस्ताको तस्तै सार्वजनिक गरेका थिए । पत्रकारिताको आवरणमा त्यो वैयक्तिक गोपनीयताको उल्लङ्घन एवम् सरासर अपराध हो । यसले के देखाउँछ भने हामीले सूचना पायौं भने पीडितको तीन पुस्ते पनि सार्वजनिक गर्दिन्छौं, आरोपित त दूरको कुरा । ८- केही वर्षअघिसम्म हाडनाता करणकीका घटनामा सञ्चारमाध्यमले पीडितको नाम गोप्य राखेर आफन्तको साइनो र अन्य सबै विवरण सार्वजनिक गर्थे । उदाहरणका लागि कुनै काकाले भतिजी करणी गरेमा भतिजीको नाम गोप्य राखेर काकाको तीन पुस्ते विवरण खुलाइदिए पछि पीडितको गोपनीयता बाँकी रहन्छ रु त्यति सोच्ने फूर्सद धेरै पत्रकारलाई थिएन । धेरै वर्षको वकालतपछि हाडनाता करणीमा पीडित एवम् आफन्त दुवैको नाम गोप्य राख्न थालिएको छ । ९- तर अझै पनि कुनै ९यौन०हिंसामा पुरुष पीडित छन् र महिला आरोपित छन् भने धेरैजसो पत्रकारले पुरुषको तिनपुस्ते लेखेर महिलाको नाम गोप्य राख्छन् । यो श्राद्धमा विरालो बाँध्ने चलन अझै जारी छ । १०- केही वर्षअघि सम्म आरोपितलाई प्रहरीले अगाडि राखेर पत्रकार सम्मेलन गरेर पत्रकारका अघि अपराध कबुल गर्न लगाउथ्यो । उनीहरुलाई आफ्नो अनुहार छोप्न दिइँदैनथ्यो । तर विस्तारै गोपनीयताको कुरा उठेपछि प्रहरीले भारत वा अन्य देशमा झैं मखुण्डो लगाइदिन थाल्यो । तर, उनीहरुको यथार्थ विवरण जस्ताको तस्तै आइरहेछ । ११- यौनहिंसा या पारपाचुके जस्ता मुद्दामा अदालती फैसला प्राप्त हुने बित्तिकै त्यहाँ उल्लेख भएका सबै गोप्य सूचनाहरूलाई जस्ताको तस्तै सञ्चारमाध्यममा सार्वजनिक गर्ने चलन छ । सार्वजनिक मात्रै हो र ? ती सूचना वा फैसलाहरुलाई सबैले सधैं भेट्न सक्ने गरी डिजिटल आर्काइभिङ गरिन्छ । त्यसले मानिसको जिन्दगीमा ठूलो असर पार्छ । डिप्रेसन र आत्महत्याको बाटो सम्म पुर्याउँछ । ११- अपराधको आरोप लागेका सबैमाथि यथाशीघ्र निष्पक्ष छानबिन र सुनुवाइ हुनुपर्छ । प्रहरीले तत्कालै त्यस्ता घटनाहरूलाई न्यायिक निरुपणमा लानुपर्छ । त्यसमा दुइमतै छैन । तर, मिडियाको प्यारो हुन प्रहरी, अदालत वा अख्तियार जस्ता न्यायिक एवम अर्धन्यायिक निकायले सूचना चुहाउँदै आएका छन् । पत्रकारले जे भेट्यो त्यही छापेका छन् । सूचनामाथिको संवेदनशीलता स्वाहा । यो लापरबाही बन्द हुनुपर्छ । १२- अझ कतिपय भिआइपीहरू छन्, जो कसैका विरुद्ध नियतवश अख्तियारमा अनलाइनबाट बेनामे उजुरी दर्ता गराउँछन् । अनि मिडियामा फलानोको विरुद्ध यस्तो आरोप सहित अख्तियारमा उजुरी परेको छ भन्दै समाचार छताछुल्ल पार्छन् । अनि अख्तियारको उजुरी नम्बर भएपछि ‘पत्रकार’लाई के चाहियो रु उसका सात पुस्ते विवरण छ्यालब्याल । कुनै दिन यस्तो संवेदनशील विषयमा कही गम्भीरतापूर्वक छलफल भएको छ ? १३- धेरै पत्रकार र सञ्चारमाध्यमका लगानीकर्ताहरू देशविदेश घुमेका छन् । स्वदेशी विदेशी तालिम लिएका छन् । व्यक्तिको सूचना र गोपनीयताको अधिकारका बारेमा जानकार पनि छन् । तर, कसै माथि कुनै आरोप लागि सक्दा यति लापरबाहीपूर्ण ढंगले वैयक्तिक सूचनाको कारोबार कुन देशमा हुन्छ ? भन्न सक्छन् ? अरु त अरु अलि नाम चलेका अन्तर्राष्ट्रिय मिडियाले त्यस्तै घटनामा कसरी रिपोर्टिङ गर्छन् भन्ने गुगल गरेर पढे हुने । त्यसबाट धेरै सिक्न सकिन्छ । नोटः म सन्दीप लामिछानेलाई व्यक्तिगत रुपमा चिन्दिन । क्रिकेट मेरो रुचिको खेल होइन । त्यसैले माथिको कुराकानी सन्दीपको पक्षपोषण गर्न लेखिएको होइन । यस विषयमा छलफल गरौं । सौचौं । थिति बसालौं ।
Tags: