कागेश्वरी मनोहरा नगरप्रमुखका सय दिन : ज्येष्ठ नागरिकलाई चाडवाड खर्च,सरकारी शिक्षकलाई ल्यापटप

Image
काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले जेष्ठ नागरिकलाई चाडवार्ड मनाउने खर्चसमेत वितरण गर्ने भएको छ । नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यभार सम्हालेको सय दिनका काम सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई चाडवाड खर्च वितरण गर्ने घोषणा गरेका हु्न् । नगरपालिकाले आगामी दशै अगाडी ज्येष्ठ नागरिकलाई चाडवाड खर्चवापत एक हजार रुपैया वितरण गर्ने जनाएको छ । नगरपालिकाले जेष्ठ नागरिकका लागि निशूल्क घरघरमै स्वास्थ्य परीक्षणको पनि व्यवस्था मिलाएको छ । यसबाहेक विशेषज्ञ सेवा कम्तिमा वर्षमा एक पटक पाउने गरी विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर संचालन गर्ने तयारी गरेको छ । “मेयरसँग ज्येष्ठ नागरिक घरदैलो निशूल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम अन्तगर्त सबै वडाका जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँचका लागि वडा नम्बर–९ बाट सुरु गरिएको छ,” प्रमुख कार्कीले भने । नगरपालिकाले ज्येष्ठ नागरिकलाई खाजा, जेष्ठ नागरिक भवन तथा ज्येष्ठ नागरिक पार्कका लागि पनि गृहकार्य सुरु गरेको जनाएको छ । यस्तै नगरपालिकाले किसान कार्डको व्यवस्था गर्दै वर्ष र बाढीबाट क्षति बेहोरेका किसानलाई क्षतिपूर्ति र अर्गानिक कृषि व्यवसाय प्रवद्र्धनका लागि अनुदानको व्यवस्था गर्ने पनि घोषणा गरेको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मेडिकल अधिकृत थपेको नगरपालिकाले नगर अस्पतालको १५ शैयाको अस्पताल निर्माणका लागि संघीय सरकारबाट २० करोड लिएर काम अघि बढाएको छ । शिक्षतर्फ सुधारका लागि नगरशिक्ष ऐन संशोधन गरी शिक्षा ऐन २०२८ सँग मिलाएको नगरपालिकाले एक शिक्षक एक ल्ल्यापटप अभियान संचालन गरेको छ । “अभियान अन्तर्गत २०९ शिक्षकलाई ल्यापटप विचरण गरिएको छ,” नगरप्रमुख कार्कीले भने, “सामुदायिक विद्यायको दरबन्दी अभावको समस्या समाधानका लागि नगरपालिकाले आन्तरिक स्रोतबाटै उच्च माविमा आइसीटी र खेलकुदलगायतका शिक्षक व्यवस्था गरेको छ ।” विद्यायको दर्ता र नविकरणवापतको शूल्कमा २५ प्रतिशत घटाएको कार्कीले बताए । सामुदायिक विद्यालयमा इसीडी कक्षा संचालनका लागि नगरपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन भत्ता, विद्यालय कर्मचारीलाई थप पारिश्रमिक र शिक्षकहरुलाई दिवा खाजाको व्यवस्था गरेको जनाएको छ । यस्तै नगरपालिकाले नगरभित्रको फोहोरको परिमाण घटाउन स्रोतमै फोहोरको वर्गीकरण गरी छुट्टाउने नीति लिँदै नगरभित्रै फोहोर व्यवस्थापनको तयारी गरेको हो । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन चुनौती बनिरहेको भन्दै नगरपालिकाले नगरभित्रै फोहोर व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको जनाएको छ । यस्तै नगरपालिकाले नगरसभाबाटै पालिकालाई खेलकुद नगरी बनाउने प्रस्ताव पारित गरेको भन्दै अब खेल विशेषका एकेडेमी निर्माणका लागि संघीय सरकारसँग समन्वयको काम थालेको र निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीति लिएको जनाएको छ ।
Tags: