कोरोना महामारीपछि नेपाल–थाइल्याण्ड सम्बन्ध विस्तारका आयाम

Image
गणेशप्रसाद ढकाल थाइल्याण्डका लागि नेपालका राजदूत विश्वव्यापी कोरोना सङ्क्रमणपछि विकसित विश्व परिवेशमा नेपाल र थाइल्याण्डबीचको बहुआयमिक सम्बन्धलाई नयाँ ढङ्गबाट थप सुदृढ तुल्याउन दुवै मुलुकबीच सरकार र जनस्तरबाट पहल थालनी भएको छ । नेपाल र थाइल्याडबीच ३० नोभेम्बर १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना हुनुअघिदेखि रहँदै आएको मैत्री सम्बन्धले आपसी सद्भाव, विश्वास र सहयोगका क्षेत्रलाई बढाउँदै लगेको छ । नेपालप्रति थाइल्याण्डको राजपरिवार, सरकार र जनताको उच्च सम्मान रहेको पाइन्छ भने नेपालले पनि थाइल्याण्डलाई जहिले पनि एक असल मित्र राष्ट्रकारुपमा मात्र नहेरी विपद्को समयमा मानवीय सहयोग गर्ने हितैसी राष्ट्रका रुपमा लिने गरिन्छ । कोभिडका समयमा जतिबेला नेपालमा अक्सिजनको अभावका कारण धेरैले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था थियो, त्यतिबेला अक्सिजन कन्टिनेटरलगायत विशेष जहाज चार्टड गरी थाइल्याण्डले विभिन्न स्वास्थ्य सामग्री पठाइएको थियो । त्यस्तै भूकम्पका बेलामा पनि थाई सरकार र जनताले खुल्ला ह्दयले गरेको सहयोग कसैले बिर्सन सक्दैन । विश्वव्यापी महामारीले दुई मित्रराष्ट्र नेपाल र थाइल्याण्डबीचको पर्यटन आदानप्रदानलाई प्रवद्र्धन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सबै सरोकारवालालाई पर्यटन र लगानीका क्षेत्रमा पुनःरुत्थान तथा दिगो विकासका लागि हातेमालो गरेर अगाडि बढ्न नयाँ सम्भावनाको उजागर पनि गरेको छ । नेपालमा अहिले नै विभिन्न थाइ कम्पनीले पर्यटन, प्रविधिलगायतका क्षेत्रमा लगानी गरिरहेका छन् । संस्कृति, खानपिन, रहनसहनले पनि नेपाल थाइल्याण्डबीचको द्विपक्षीय दौत्य सम्बन्धलाई अझ सुदृढ तुल्याउन बल मिलेको छ । थाइल्याण्ड र नेपालमा हात जोडेर अभिवादन गर्ने समान परम्परा रहेको छ । थाइल्याण्ड नेपालको शैक्षिक गन्तव्यस्थल पनि हो । सन् १९६० मा एआइटीको स्थापना भएदेखि नेपाली विद्यार्थी छात्रवृत्तिमा यहाँ पढ्न आउने गरेका छन् । यहाँ रहेका नेपालीमध्ये झण्डै ४० प्रतिशत विद्यार्थी नै छन् । थाइल्याण्ड र नेपालबीचको सम्बन्धलाई कसिलो बनाउने मुख्य आधार भनेकै पर्यटन हो । नेपालले खासगरी सांस्कृतिक र साहसिक पर्यटनका क्षेत्रमा बढीभन्दा बढी थाई पर्यटकलाई भित्र्याउनसक्ने सम्भावना छ । थाइल्याण्ड नेपालमा सबैभन्दा बढी पर्यटक आउने प्रमुख १० देशमध्ये पर्दछ । सन् २०१९ मा ४१ हजार ६५३ जना थाई पर्यटकले नेपाल भ्रमण गरेका थिए । भिजिट नेपाल २०२० को निकै राम्रो प्रचार भएको थियो तर कोराना सङ्क्रमणले गर्दा परिणाम आउन सकेन । सन् २०२० को पहिलो तीन महिनामै २० हजारले नेपाल भ्रमण गरिसकेका थिए । यो सङ्ख्या एक लाख पुग्न गाह्रो थिएन । अहिले पनि हामीले निरन्तर प्रयास गरिरहेका छौँ । दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका सांस्कृतिक एवं जनस्तरका सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तीर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिन आवश्यक छ । तीर्थयात्री र अन्य आगन्तुकका लागि बौद्ध धर्मका आध्यात्मिक पक्षको सारको आनन्द लिनका लागि लुम्बिनी पर्यटकीय र सांस्कृतिक केन्द्रका रूपमा केन्द्रित विकासको एक थलो पनि हुन सक्छ । आज विश्वका झण्डै ९७ प्रतिशत बौद्ध जनसङ्ख्या एशियाली महादेशमा बसोबास गर्दछन् । भूटान, कम्बोडिया, जापान, म्यानमार, नेपाल, श्रीलङ्का, थाइल्याण्ड, आदि जस्ता धेरै देशले बुद्ध धर्मलाई आफ्नो राष्ट्रिय मूल्य र पहिचानको अन्तर्निहित मान्छन् । थाइल्याण्डका लागि नेपाली राजदूतले सिङ्गापुर, लाओस, भियतनाम, कम्बोडियासमेत हेर्नुपर्ने हुँदा ती देशका खासगरी बौद्ध धर्मावलम्बीलाई लक्षित गरी कूटनीतिक माध्यमबाट पर्यटन प्रवद्र्धनमा जोड दिने काम भएको छ । लुम्बिनी र पोखरालाई धार्मिक र साहसिक पर्यटकका रुपमा विकास गर्न सकिने सम्भावना छ । यी दुवै ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएका छन् । गौतमबुद्ध विमानस्थल निर्माण भइसकेपछि हामीले यहाँबाट धेरै पर्यटक भित्र्याउन सक्छौँ । थाइल्याण्ड र भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिन्छ । स्माइल थाई एयरलाइन्ससँग थप उडानका लागि कुराकानी भएको छ । उसले चासो दिएको पनि छ । यसले व्यापारिक हिसाबले अध्ययन गरिरहेको होला । सन् १९६८ देखि थाई एयरवेज इन्टरनेशनलले सेवा प्रदान गरेको रुटमा पुनः हवाई सेवा सञ्चालन गर्दै यसले नेपाल र थाइल्याण्डको सम्बन्ध अझ नजिक बनाएको छ भने नेपाल वायुसेवा निगमले पनि उडान भरेको छ । थाइल्याण्डबाट आउने र नेपालबाट थाइल्याण्ड जाने पर्यटकको सङ्ख्या बढिरहेका सन्दर्भमा आपसी सहकार्य गर्नसके दुवै देशको पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्ने देखिन्छ । थाइल्याण्डलाई लुम्बिनीसँग जोड्न सकिएमा यो हाम्रा लागि ठूलो उपलब्धि हुनेछ । थाइल्याण्डका अधिकांश जनता बौद्धमार्गी भएकाले तिनलाई लक्षित गरी उडान गर्न सकिएमा एक÷दुई वर्षभित्र पर्यटकको सङ्ख्या बढाउन कुनै समस्या नहोला । बुद्ध जन्मस्थल लुम्बिनीमा वार्षिक करिब तीन हजार थाई पर्यटकले भ्रमण गर्ने गरेका छन् । पर्यटकलाई बुद्धबारे जान्ने बुझ्ने र बसाई अवधि लम्ब्याउन पनि सहयोग पुग्नेछ । लुम्बिनीसँगै कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किटको अवधारणाअनुरुप बुद्धसँग जोडिएका अन्य स्थानमा समेत थाइ पर्यटकलाई लैजाने गरी ती क्षेत्रको विकासमा ध्यान दिनसकेमा नेपालले थाइल्याण्डले जत्तिकै पर्यटनबाट लाभ लिन सक्छ । नेपाल गौतमबुद्धको जन्मस्थल रहेको र थाइल्याण्ड बौद्धमार्गी देश भएकाले नेपाल थाइल्याण्डको लागि धार्मिक पर्यटनको मुख्य गन्तव्यस्थल बन्न सक्छ । त्यसैले गौतमबुद्धको जन्मभूमि लुम्बिनी थाइल्याण्डका नागरिकका लागि प्रमुख तीर्थस्थल हो भन्ने कुरा प्रचारप्रसार गराउन जरुरी छ । पोखरा पनि अर्को गन्तव्यस्थल बन्न सक्छ । थाइल्याण्डका कतिपय युवा साहसिक पर्यटनका पारखी भएकाले उनीहरुलाई पोखरासँग जोड्न सकिन्छ । प्याकेज टुरमा जोड दिनुपर्छ । थाइल्याण्डका जनता समूहमा भ्रमण गर्न रुचाउँछन् । नेपालका सांस्कृतिक सम्पदा हेर्न जान खोज्ने पर्यटक पनि यहाँ उत्तिकै रहेका छन् । नब्बे प्रतिशत बौद्ध धर्मावलम्बी जनसङ्ख्या रहेको थाइल्याण्डका जनताले बुद्धको पूजा गर्दासमेत ब्राह्मणबाट गणेश, शिव र विष्णुको पूजा गर्ने चलन रहेको पाइन्छ । थाइल्याण्ड र नेपालबीचको राजनीति एवं जनस्तरको सम्बन्ध मजबुत छ तर व्यापारिक सम्बन्ध भने अझै विस्तार हुन सकेको छैन । दुई देशबीच व्यापार घाटा उच्च रहेको छ । नेपालबाट यहाँ आयात निकै न्यून छ तर निर्यात बढी भएकाले बर्सेनि व्यापार घाटा बढ्दो छ । आसिआनका राष्ट्रबीच खुला व्यापार सम्झौता भएका कारण नेपाली उत्पादनले यहाँ प्रतिस्पर्धा गर्न गाह्रो छ । नेपालले चियामा केही निर्यात गर्न सक्छ । यहाँ कफीको माग उच्च रहे पनि हामीले निर्यात गर्न अहिले नै सक्ने अवस्था छैन । थाइल्याण्ड व्यापारिक केन्द्र पनि हो । यसका लागि नेपाली व्यापारी पनि विभिन्न तहमा सम्पर्क र सम्बन्ध विस्तार गर्दै हुनुहुन्छ । हामीले यसका लागि सहजीकरण गरिदिएका छौँ । दुई देशको सम्बन्धलाई अझ सुमधुर बनाउनका लागि कृषि, पर्यटन, व्यपार तथा पूर्वाधारमा सँगै मिलेर काम गर्न सकिने प्रशस्त सम्भावना छ । लगानीमैत्री वातावरणसँगै सरल एवं सहज कानूनी प्रक्रियाबाटै विदेशी लगानी आकर्षित हुने भएकाले त्यस दिशामा हामीले ध्यान दिनु जरुरी छ । पर्यटनसँगै कृषि प्रविधि, प्रविधि हस्तान्तरणका माध्यमबाट थाइल्याण्डले नेपालको सामाजिक–आर्थिक उन्नयनमा सहयोग गर्दै आएको छ । त्यसैले हामीले पर्यटन र लगानीमा जोड दिनुपर्छ । कोभिड–१९ महामारीपछिको पर्यटन पुनःरुत्थान अभियानअन्तर्गत पाटा नेपालले विदेशी स्रोत बजारमा गएर पहिलो पर्यटन प्रर्वद्धन कार्यक्रम आयोजना गरेको थियो । हालै गैरआवासीय नेपाली सङ्घको एशिया प्रशान्त क्षेत्रीय भेला पनि बैंककमा सम्पन्न भएको छ । यस्ता कार्यक्रमले पनि नेपालकाबारेमा थाइल्याण्डका पर्यटकदेखि लगानीकर्तालाई नेपालबारे बुझ्न सहयोग पुगेको छ । थाइ जनता र नेपाली जनताबीच बढ्दै गएको सकारात्मक सम्बन्धलाई सम्मान गर्न र उक्त सम्बन्धलाई अझ प्रगाढ र दिगो बनाउनु नै हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो । थाइल्याण्डमा नेपालको प्रवद्र्धन गर्न त्यहाँस्थित सञ्चारमाध्यम र नेपालमा थाइल्याण्डको प्रवद्र्धन गर्न नेपालका सञ्चार माध्यमहरुबीच सहकार्य गर्न दुवैतर्फबाट पहल आवश्यक छ । थाई ट्राभल एजेन्टस् तथा आगन्तुकलाई सहज भिसा सेवा, नेपाल भ्रमणका सम्बन्धमा जानकारी गराउने तथा अन्य आवश्यक सहयोग प्रदान गर्न नेपाली दूतावासले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । दुवै देशका कूटनीतिक व्यक्तिहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यास आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको छ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनी वरपर विकास भइरहेका पर्यटन पूर्वाधार र पर्यटकीय गतिविधिको सम्भावनालाई प्रकाश पार्दै थाइल्याण्ड–नेपाललाई बौद्ध पर्यटनका माध्यमबाट जोड्ने अवसरको खोजी गर्न ढिलाइ गर्नु हुँदैन । -थाइल्याण्डका लागि नेपालका राजदूत गणेशप्रसाद ढकालसँग बैंककमा राष्ट्रिय समाचार समिति ९रासस० का आलेख समाचार प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश
Tags: