पद्म शमशेरको पालाको शान्ति विद्यागृह ७५ वर्षमा

Image
काठमाडौं– देशकै पुरानो मध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले तीन दिनसम्म ७५ औं वार्षिकोत्सव मनाउँदैछ । विद्यालयले यही भदौ १६, १७ र १८ गते विभिन्न कार्यक्रम आयोजना गरी ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारी पूरा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षाराम भण्डारीले जानकारी दिए । शान्ति विद्यागृह २००४ वैशाख १९ गते स्थापना भएको शिक्षण संस्था हो । शान्ति विद्यागृह गल्कोपाखाका प्रसिद्ध कविराज लम्बोदर भण्डारीको घरबाट सुरु भएको थियो । एक वर्षपछि ठमेलस्थित भगवान बहालमा भाडाको घरमा सारियो । त्यहाँ करीब ३ वर्ष पठनपाठन चल्यो । त्यसपछि अहिले भवन भएको ठाउँमा आफ्नै जग्गामा पढाउन थालिएको शान्ति विद्यागृहका संस्थापक शिक्षक ९५ वर्षीय शंकरलाल मानन्धर बताउँछन् । शान्ति विद्यागृहमा स्थापनाको दिन बिहान साढे ६ बजे जनकविकेशरी धर्मराज थापाबाट सरस्वती वन्दना वाचन गर्दै प्रथम कक्षा सुरु गरिएको थियो । सुरुमा लैनचौर, ठमेल, गल्कोपाखा, पकनाजोल क्षेत्रका करिब ३ सय छात्रछात्रामध्ये छात्रहरूलाई शान्ति विद्यागृह प्राथमिक स्कुलपट्टि र छात्रालाई शान्ति विद्यागृह कन्या प्राथमिक स्कुलपट्टि राखेर पढाइयो । बि.स २०५२ सालदेखि यो विद्यालय सहशिक्षालयमा परिणत भयो । अहिले विद्यालयमा पूर्वप्राथमिक ‘ईसीडी’ देखि १२ कक्षासम्म पढाइ हुन्छ । यस विद्यालयमा अहिले ६ सय २ छात्र र ५ सय १८ छात्रा अध्ययन गरिहेका छन् । उनीहरूलाई पढाउन ७ जना शिक्षक र ३२ जना शिक्षिका छन् । पद्मशमशेरका पालामा २००४ सालमा स्थापित यो विद्यालय राणाकालमा खुलेका विद्यालयमध्येको एक पनि हो । विद्यालयले २००९ सालदेखि प्रवेशिका परीक्षामा विद्यार्थीहरू सहभागी गराउँदै आएको छ । यो विद्यालयबाट निस्केका विद्यार्थी देश÷विदेशका साथै विभिन्न क्षेत्रमा स्थापित भएका छन् । स्थापनादेखि २०३० सालसम्म सामुदायिक रूपमा चलेको यो विद्यालय त्यसपछिको १६ वर्ष सामुदायिक तथा सरकारी अवधारणामा सञ्चालन गरियो । २०४६ सालयता भने विद्यालय पूरै सरकारी अवधारणाअनुसार चल्दै आएको छ ।
Tags: