शान्ति विद्यागृहको हीरक वार्षिकोत्सव

Image
काठमाडौं– देशकै पुरानो मध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले तीन दिनसम्म ७५औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले यही भदौ १६, १७ र १८ गते विभिन्न कार्यक्रम आयोजना गरी ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारी पूरा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षाराम भण्डारीले जानकारी दिए । शान्ति विद्यागृह २००४ वैशाख १९ गते स्थापना भएको शिक्षण संस्था हो । विद्यालयको हीरक महोत्सव गत वैशाख १९ गते मनाउने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित गर्नुपरेको भण्डारीले बताए । हीरक महोत्सव अन्तर्गत भदौ १६ गते प्रभातफेरी र हाल अध्ययनरत विद्यार्थीलाई शैक्षिक पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम छ । १७ गते पूर्वविद्यार्थी, शिक्षक, सल्लाहकार, अक्षय कोषदाता र अन्य सहयोगीलाई सम्मान मायाको चिनो र सम्मान गर्ने कार्यक्रम तय भएको छ । १८ गते शनिबर स्मारिका र शान्ति कविता विमोचन, संस्थापकहरु, पूर्व प्रधानअध्यापकहरु, संस्थापक शिक्षकहरु, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, कवि, एवं अन्य व्यक्तित्वलाई अभिनन्दन र सम्मान गर्ने कार्यक्रम छ । १६ गतेको कार्यक्रममा शिक्षा विकास तथा समनवय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेल, १७ गते त्रिभुवन विश्वविद्यालयका पूर्व उपलकुलपति शंकरराज पाठक र १९ गते पूर्वरक्षामन्त्री भिमसेनदास प्रधान प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागी हुने विद्यालय व्यवस्थापनले जनाएको छ ।
Tags: