'वी लभ यु फाउन्डेशन'को क्लीन अभियान सुरु

Image
काठमाडौं – वी लभ यु फाउन्डेशनले आज (बुधबार) देखि सरसफाई अभियान सुरु गरेको छ । फाउण्डेशनले बुढानिलकण्ठ नगरपालिकासँगको सहकार्यमा धोविखोला किनार स्थित चुनिखेलबाट सरसफाई अभियान सुरु गरेको छ। ‘सन् २०२२ विश्वव्यापी क्लीन अभियान’ नाम दिइएको अभियानको उद्घाटन परराष्ट्रविद् डा.राजन भट्टराईले गरेका थिए । कार्यक्रममा बोल्दै भट्टराईले समाज रुपान्तरण म नभएर हामी भन्ने मान्यताका साथ अगाडि बढ्दा सम्भव हुने बताउँदै वी लभ यु फाउन्डेशनले हामी भन्ने मान्यतालाई आत्मसाथ गरेको भन्दै प्रशंसा गरे । उनले औद्योगिकरण पछि वातावरणीय प्रभाव समेत बढ्दै गएको र यसले पृथ्वीको दीगोपनालाई कमजोर बनाएको बताए । उनले सुरुवाती चरणका कम्तीमा ६ महिना धोवीखोला सरसफाई अभियान संचालन गरेर नमुना कार्य गर्न सकिने बताए । फाउण्डेशनका अध्यक्ष शोभाकर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको मेयर मिठाराम अधिकारीसहित उपमेयर तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध युवाको उपस्थिति थियो ।
Tags: