एमालेसँग एकता संभव छैन, तत्काल माओवादीसँग चुनावी एकतामात्र : अध्यक्ष नेपाल (भिडियो सहित)

Image
एमालेले हामीलाई अपराधी, देशद्रोही भनिसकेपछि एकताको संभावना कसरी रहन्छ ? उसको व्याख्या र विश्लेषण जहिलेसम्म परिवर्तन हुँदैन, त्यसका बारेमा सोंच्न सक्ने कुरा आउँदैन ।
आगामी मंसिर ४ मा संघ तथा प्रदेशको निर्वाचनको मिति घोषणा भएको छ । चुनावको परिणामलाई आफ्नो वशमा पार्नको लागि अहिले सरकारका सहयात्री दल (पाँच दलीय गठबन्धन) र अर्को महत्वपूर्ण शक्ति एमाले प्रमुखताका साथ अगाडि जाने निश्चित जस्तै देखिन्छ । जसरी गठबन्धनलाई बलियो शक्ति मानिन्छ, उक्त शक्ति निर्वाचनसम्म प्रभावकारी भूमिकाकासाथ एक भएर जाने कुरामा भने अझै पनि शंका कायमै छन् । अवको निर्वाचनमा नेकपा एकिकृत समाजवादी कसरी अगाडि बढ्दै छ ? गठबन्धन भित्रका दलले सिटको वाँडफाँड कसरी गर्लान् ? समाजवादी शक्तिको एकताको अभियान कहाँ पुग्यो ? यी र यस्तै विषयमा हामीले पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग कुराकानी गरेका छौं । कुराकानीको सारांश : तपाईहरुसँगै सरकारमा गठबन्धन गरेको सहयात्री दल नेपाली कांग्रेसले चुनावी अभियान सुरु गरिसक्यो, एकिकृत समाजवादीको तयारी कस्तो छ ? हाम्रो पार्टी नेकपा (एकिकृत समाजवादी) ले पनि आगामी मंसिर ४ मा हुने संघीय तथा प्रदेशसभाको निर्वाचनका लागि अभियान चलाइरहेका छौं । यसकै तयारी स्वरुप हामी तीन वटा कार्यक्रम अगाडि सारेका छौं । पहिलो, देशभर संगठन र संजाल विस्तार गर्ने, दोस्रो पार्टी संगगठन विस्तार भइसकेका ठाउँमा भइसकेका ठाउँमा संगठनका गतिविधिलाई तिव्र गति अगाडि बढाउने र तेस्रो, चुनाव केन्द्रित भएर सबै तिर पार्टीको नीतिको प्रचार गर्ने, पार्टीको निर्वाचन कलम चिन्हको प्रचारमा जनताको घरदैलोमा पुग्ने अभियान चलाउँदै छौं । देशका ७७ वटै जिल्ला तथा ७५३ वटै पालिकाहरु, ६ हजार ७ सय ४३ वडाहरुमा ठोस जिम्मेवारी दिएर संघीय सरकार १६५ वटै निर्वाचन क्षेत्र र प्रदेशसभाका ३३० क्षेत्रमा खटाउने योजना बनाएका छौं । सरकारमा रहेका दल आगामी चुनावमा पनि गठबन्धन कायमै राखेर अगाडि जाने भन्दै आउनुभएको छ । सिट बाँडफाँडमा त जटिलता होला ? हामीले भन्दै आएका छौं, गठबन्धका दलबीचको चुनावी एकता अझै पनि आवश्यक छ । गबन्धनका पाँचवटै दलबीच यस विषयमा साझा प्रतिवद्धता जाहेर भएको छ । चुनावमा सँगसँगै जाने र न्यायोचित आधारमा चुनावको सिटको वाँडफाँड गर्ने र वाँडफाँड गर्दा विन विन अवस्थाबाट गरिनेछ । सिट वाँडफाँड गर्दा एउटाल दवाउने र अर्को दबिने अवस्था आउन दिइने छैन । हामी भित्र दृढतका साथ उभिने र विद्रोहको समयमा साथ दिनेहरुलाई ध्यान दिन्छौं । यतिमात्र होइन हामीले राष्ट्रिय व्यत्तित्वलाई ध्यान दिनेछौ । जहाँ राम्रो व्यक्तित्व छ, जहाँ आधार छ त्यसलाई पनि ध्यान दिन्छौं यी सबै गरेर सबैलाई मान्यहुने फर्मुलाको विकास हुन्छ । गत स्थानीय तहको निर्वाचनको परिणामा यहाँहरुको असन्तुष्टि थियो । अहिले गठबन्धनमा उम्मेदवारी चयन गर्दा कुन मापदण्ड प्रभावकारी हुन्छ भन्ने कुराको साझा बुझाइ छ यहाँहरुसँग ? स्थानीय तहको चुनावका केही मुख्य ठाउँमा गठबन्धनले प्रभावकारी रुपमा काम गर्यो, जुन सहयोगकै कारण केही महत्वपूर्ण ठाउँमा हाम्रो उपस्थिति राम्रो छ । मतदाता शिक्षा, मतपत्र लगायतका कारण केही ठाउँमा हामीले झिनो मतले पराजय व्योहोरेका पनि छौं । कतिपय ठाउँमा हामी एक्लै चुनावमा जाँदा पनि जितेका छौं । तर पनि गठबन्धन भित्र सहमतिको कार्यान्वयन राम्रोसँग भएको भए अवस्था यो भन्दा पनि राम्रो हुने थियो । यसले सबै दललाई फाइदा पुग्ने थियो भन्ने कुरालाई सबैले बुझ्न जरुरी छ । यसलाई सिकाइको रुपमा लिएर अब अगाडि बढ्नुपर्छ । एक्लै पनि बलियो शक्ति हौं भन्ने यहाँहरुको दावी रहँदै आएको छ । यो भनेको गबन्धनको विकल्प पनि छ भन्न खोजिएको हो ? अहिले हाम्रो त्यस्तो मनसाय होइन तर पनि आफ्नो शक्तिमा भरोसा गर्नुपर्छ । शक्ति संचयमा ध्यान दिनुपर्छ र अरुको भरोसामा अगाडि बढ्ने भन्ने सोंच त्याग्नुपर्छ । शक्ति भएमात्र अरुले पनि विस्वास गर्छन, शक्तिको महत्व बुझे मात्र त्यसको अर्थ रहन्छ । चुनावमा थोरै मतले पनि हारजित हुन्छ । शक्तिको दम्भ देखाइयो भने यसले राम्रो परिणाम नल्याउन पनि सक्छ । यो सबैलाई ध्यानमा राखेर जिल्ला जिल्ला सहमतिको आधार तयार गर्नुपर्छ । यहाँहरुको पार्टी गठन गर्दा समाजवादी शक्ति एक हुने भन्ने अभियान पनि थियो, अहिले त्यो अभियान कहाँ पुग्यो ? अहिले माओवादी केन्द्रसँग एकिकरणको चर्चा चलेको छ, यो त्यसकै निरन्तरता को हि यहाँहरु माओवादीमा समाहित हुन थाल्नु भएको हो ? हामी २०७८ मंसिर २ मा एमालेबाट विद्रोह गरेर निर्वाचन आयोगमा गएर नेकपा एकिकृत समाजवादी दर्ता गर्यौं र मंसिर ९ मा आयोगबाट मान्यता प्राप्त गर्यौं । हामीले पार्टी बनाउने रहर मात्र गरेका होइनौं, कम्युनिष्ट पार्टीलाई पुर्नगठन गर्ने, कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउने र कम्युनिष्ट आन्दोलनलाई रुपान्तरण गरेर लैजाने हाम्रो उद्धेश्य हो । हामी आफैमात्र अगाडि जाने होइन, नेपालका इमान्दार बामपन्थी शक्ति, देशभक्त र परिवतर्नकारी शक्ति, समाजवादको उद्धेश्यका सरिक हुने शक्तिलाई समेट्न चाहान्छौं । हाम्रो पार्टीमा अहिलेसम्म धेरै समूह आवद्ध भइसक्नुभएको छ । अरुपार्टी पार्टी परित्याग गरेर हाम्रो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । तर यो भन्दामा कुनै पार्टीमा विलिन हुने या चुनाव भन्दा अगाडि पार्टी एकता भइहाल्ने स्थिति छैन । चुनावमा सहकार्य गर्ने र बाम एकतालाईसँसँगै अगाडि लैजाने योजनामा छौं । यहाँले बाम एकताको कुरा धेरै गर्नुभयो । एकता भित्र एमाले अटाउन सक्ने अवस्था छ कि छैन ? एमालेले हामीलाई अपराधी, देशद्रोही भनिसकेपछि त्यो संभावना कसरी रहन्छ ? उसको व्याख्या र विश्लेषण जहिलेसम्म परिवर्तन हुँदैन, त्यसका बारेमा सोंच्न सक्ने कुरा आउँदैन । एमाले आफू देशद्रोही, विदेशीको दलाली गर्ने, एमसीसीको आँखा चिम्लेर समर्थन गर्ने, विदेशीका सामु आत्मसमपर्ण गर्ने, चरम भ्रष्टाचार गर्ने, जनताका समस्यामा ध्यान नदिएर हावादारी गफ दिने अनि अरुलाई निच व्यवहार गर्न मिल्छ ? यी कुरामा सुधार नभएसम्म एमाले पार्टी काम लाग्ने पार्टी बन्न सक्दैन । एकिकृत समाजवादीको अस्तित्व स्वीकार गरेको अवस्थामा एक भएर जाने संभावना देखियो हैन ? चाहना भएकालाई एक ठाउँ ल्याउने हो । चाहानै नभएकालाई कसरी एकठाउँ ल्याउने । जबरजस्ती एकता हुने अवस्था रहन्न । भिडियो यहाँ छ ............................... https://www.youtube.com/watch?v=18CHtxXFfJY
Tags: