निर्वाचनमा होमियो कांग्रेस ‘जनताको साथमा कांग्रेस’ अभियान

Image
काठमाडौं– सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउने भएको छ । कांग्रेसले पहिलो चरण भाद्र १० देखि वीपी जन्मजयन्ती भाद्र २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि अभियान चलाउने भएको हो । पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने अभियान चलाउने बताए । उनले जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने बताए । कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने उनले बताए । निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने उनको भनाई छ । उनले अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने, ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिहरुले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरुप प्रतिनिधि खटाउने बताए ।
Tags: